Breaking

भाइलाई पार लाएपछि लयमा प्रचण्ड, ओली–प्रचण्डको गठबन्धन जोगियो, ‘दाहालवाद’मा माओवादी, कांग्रेस फिनिस्ट


काठमाडौँ – भाइलाई केपी शर्मा ओलीको काँध चढाएर राष्ट्रिय सभा अध्यक्षमा निश्चित गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक कदम सफल भएका छन् । अहिले विश्वासको मत पाउने आधार बनाउन लागि परेका उनी कांग्रेसको फितलो रणनीतिले अझ उत्साहित देखिन्छन् । तर कसैलाई वाम र कसैलाई नयाँ भन्दै फकाएर समेटेका उनी अब कसरी अघि बढ्लान त ? के छ उनका बाधाहरु ?

तत्कालीन गठबन्धन फुटाउनेमध्येको एक आधार बनेको राष्ट्रिय सभा अध्यक्षमा भाइलाई ल्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रफ्तार बढाएका छन् । विगतमा आगो ओकल्ने केपी शर्मा ओलीकै काँध चढाएर उनलाई अध्यक्ष बनाउनुलाई प्रचण्डकोे पहिलो रणनीति सफलताकै रुपमा बुझ्न सकिन्छ । योबीचमा कांग्रेसको रणनीतिविरुद्ध गठबन्धनको जग बलियो बनाउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने कामसमेत उनले गरी सकेका छन् । जसले कांग्रेससँग गठबन्धनका बेला गुटका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको सकस बिर्साउँदा अहिले रात रहे अग्राख पलाँउछ भन्दै विश्वासको मत लिने हतारोमा प्रचण्ड छन् । यही कारण उनले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् । अर्थात अबको प्राथमिकता विश्वासको मतलाई बनाएका उनलाई २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् । तर अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी जम्मा १५१ मत छ । जुन उनका लागि पर्याप्त हुदाँ एकीकृत समाजवादीले आफ्ना माग पूरा भएमात्रै विश्वासको मत दिने बताएको छ । यद्यपि, एकीकृत समाजवादीबाट उनले मत पाएनन् भने पनि बहुमत पुग्ने अंकगणितमा रहेका उनी आफूले विश्वासको मत पाउनेमा ढुक्क छन् । त्यही उत्साहमा एमाले अध्यक्ष ओलीसँग भेट गरेर धार थपेपछि उनले अहिले जताततै राता मान्छे मात्रै देख्न थालेको बुझ्न गाह्रो छैन । कांग्रेसको भुङग्रोबाट उम्किएर जताततै हरियाली भएको एमालेको फाटमा चर्न पुगेका उनी खुसी नै खुसीमा छन् ।

तर अवस्था त्यति सहज पनि छैन । तेस्रो पटक विश्वासको मत लिन लागेका प्रचण्डले गत पुस २६ र चैत ६ को भन्दा यो पटक कम विश्वासको मत संसदबाट प्राप्त गर्ने देखिएको छ । पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित गरी २६८ मत पाएका उनको पक्षमा सिङ्गो हाउस नै उभिएको थियो । त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए । दोस्रो पटक ०७९ चैत ६ गते पक्ष १७२ र विपक्षमा ८९ मत पाएका उनी अब १५१ मा खुम्चिदै छन् ।

अर्काेतर्फ पार्टीभित्र असन्तुष्टि बढ्दो छ भने रेशम चौधरीको घर झगडा मिलाइदिनुपर्नेसम्मको बाध्यतामा उनी छन् । त्यस्तै आफ्नै भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाएको भन्दै विगतबाटैको दाहालवाद चर्चामा आउँदा ओलीले के भनेर मुख देखाउछन् ? प्रश्न पेचिलो छ । सुन काण्डमा आफ्ना नेताका छोरा संलग्न रहेको भिडियो नै सार्वजनिक भएपछि अर्को टाउको दुखाईमा प्रचण्ड छन् । प्रमाणहरुले पुन भनेकै सुन भनेजस्तो बनाउँदा कृष्णबहादुर महराका छोरालाई नचाहँदा नहचाँदै जेल हुल्नु परेको रन्हा कम छैन । अब अर्का नेता तथा पूर्व उपराष्ट्रपतिका नन्दबहादुर पुनका छोराहरु जोडिएको सुन काण्ड बहालवाल मन्त्री वर्षमान पुनसम्मै जोडिएको चर्चा छ । त्यसैले चुप बसेर लाज पचाँउन नैतिकताले नदिने दबाबमा गृहमन्त्री रवि लामिछाने छन् । आफ्नै भविष्य दाउमा लाउँछन् कि चम्काउँछन् त्यो उनका लागि परीक्षाको घडी छ ।

मुख्य कुरा त चार दलका नेताहरूले हस्ताक्षर गरेको सहमतिमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रियाका विषयहरू छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता गरिएको छ । जसमा मुख्य पाटो मानिएको कांग्रेस अहिले भड्किएको छ । जसले स्थिरताको अर्को प्रश्न छ भने यो वृहत वाम एकताको प्रयास हो कि हैन भन्नेमा दलका नेताहरुको आ–आफ्नै तर्क छ । यी सबैको उत्तर दिँदै अघि बढ्नुपर्ने बाध्यतामा रहेका प्रचण्डको निरन्तरको क्षयीकरणको बाटो माटोमै मिल्ने अवस्थाको सुरुवात नहोला भन्न सकिन्न ।