Breaking

प्रचण्डका भाइ जिताउने जिम्मा ओलीको, सिटौला पछि हटेपछि लाज छोप्न कांग्रेसका उम्मेदवार


काठमाडौँ – संसदको उपल्लो थलो राष्ट्रिय सभा अध्यक्षको निर्वाचन पूर्व निर्धारित समयमा नै हुने भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको असन्तुष्टिकाबीच आगामी फागुन २९ गते अध्यक्षको निर्वाचन हुने निश्चित भएको हो । सोमबार उम्मेदवारी दर्ता गर्नु पर्ने भएपछि दलहरु आन्तरिक तयारीमा कस्सिएका छन् ।
राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन पूर्वनिर्धारित समय अर्थात फागुन २९ गते हुने निर्णयसहित कार्यसूची तय भएको छ । राष्ट्रपति निर्वाचनमा बनेको कांग्रेस–माओवादीको गठबन्धन राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनसम्म पुग्दा भत्किएपछि रणभुल्ल कांग्रेसले चुनाव सार्न प्रस्ताव गरेको थियो । तर एमाले–माओवादीसहितको नयाँ गठबन्धन र सर्वदलीय बैकठले कांग्रेसको प्रस्ताव अस्वीकार गरेपछि रिक्त अध्यक्ष पदको चुनाव फागुन २९ गते नै हुने भएको छ । राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिले कांग्रेसको प्रस्ताव अस्वीकार गरेको हो ।

राष्ट्रिय सभाको अध्यक्ष बन्ने अभिलाषासहित निर्वाचनमार्फत संसद छिरे पनि संसदीय दलको नेतामा थचारिएपछि रनथनिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनाव सार्ने प्रस्ताव असफल भएपछि प्रधानमन्त्री प्रचण्डमाथी खनिएका छन् । आमनिर्वाचनमा कोशीमा हारेका सिटौलालाई राष्ट्रिय सभा निर्वाचनमा कोशीको पुल तारेर किनारामै अलपत्र पारेपछि माओवादीविरुद्ध सिटौलाको आक्रोश स्वभाविक छ ।
यसअघि सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको दावेदारको रुपमा प्रस्तुत गरेको कांग्रेसले अहिले उनलाई संसदीय दलको नेता बनाएपछि राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्मालाई अघि सार्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गठबन्धनमा आएको फेरबदलसँगै सिटौला हार्न सक्ने अवस्था आएपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभामा कांग्रेसको १६ जना सदस्य छन् । नयाँ समीकरणका कारण एक्लिएको यही कमजोर अंकगणितले कांग्रेसले सिटौलालाई ब्याक सार्दै शर्मालाई अघि सारेको हो । हार्ने निश्चित भइसके पनि लोकतान्त्रिक अभ्यास मात्रै गर्ने रणनीतिमा कांग्रेस देखिन्छ ।

नयाँ गठबन्धनको एमाले र माओवादीबीच राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष लिने विषयमा यसअघि नै सहमति जुटिसकेको छ । जसअनुसार माओवादीले अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रिय सभा सदस्य रहेका दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् । उनको कार्यकाल चार वर्ष रहेको छ । अध्यक्षमा जित्ने निश्चित भएसँगै माओवादीले प्रधानमन्त्रीका भाइ नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने भएको हो । राष्ट्रिय सभामा १७ सिटसहित सबै भन्दा ठूलो दल माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भइसकेको छ । हाल राष्ट्रिय सभामा उपाध्यक्ष रहेकी उर्मिला अर्याल पदबाट राजीनामा दिएर अध्यक्षमा लड्ने चर्चाका बीच माओवादीले दाहाललाई उम्मेदवार बनाएको हो ।

राष्ट्रपति बनाउँदा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक ठाउँमा उभिएका माओवादी–कांग्रेस गठबन्धन राष्ट्रिय सभा अध्यक्षको चुनावसम्म आइपुग्दा भत्किएको छ । एमालेलाई धोका दिएर कांग्रेससँग कुम जोड्दै कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको माओवादी अहिले एमालेको बलमा राष्ट्रिय सभा अध्यक्षको नेतृत्व आफ्नै पोल्टामा आउनेमा ढुक्क छ । नयाँ सत्ता समीकरणका कारण केही समय अगाडिसम्मको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन परिदृश्य अहिले बदलिएको छ । तर नेताहरुको व्यवस्थापन र भागबन्डाले खस्किएको राष्ट्रिय सभाको साख जोगाउनु राजनीतिक दलहरुका लागि ठूलो चुनौती बनेको छ ।