Breaking

माओवादी बैठकमै बाझाबाझ, माधव र नारायणकाजीबीच चर्काचर्की, प्रचण्ड मुसुमुसु, छैन जवाफ


काठमाडौँ – एकै व्यक्ति पटक–पटक मन्त्रीमा दोहोरिएपछि माओवादीमा असन्तुष्टि बढ्न थालेको छ । काम गर्न नसक्नेहरुले समेत मन्त्रीमा निरन्तरता पाएपछि पार्टीमा औपचारिक रुपमै प्रश्न उठ्यो । नेताहरुले प्रचण्डसँग मन्त्री बन्ने मापदण्ड खोजेका छन् ।

नेपाली राजनीतिमा धोका दिन कसैलाई पनि बाँकी नराखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीमै धोकाधडीको आरोप खेप्न थालेका छन् । वचन दिएर पनि मन्त्री नबनाएको भन्दै संसदीय दलको बैठकमै प्रचण्डले सांसदहरुको प्रहार खेपे । यतिमात्र नभई मन्त्री बनाउने मापदण्ड र योग्यता सोधिएपछि चौतर्फी प्रश्नको भूमरीमा परेका प्रचण्डसँग चुपचाप हाँस्नुबाहेक विकल्प थिएन । विषय थियो एकै व्यक्ति पटक–पटक मन्त्रीमा दोहोरिरहनु । पहिलो पटक मन्त्री बन्ने चर्चामा रहेका माधव सापकोटाले शपथ खानका लागि दौरा सुरुवाल तयार पारिसकेका थिए । सामाजिक सञ्जालमा सञ्चारमन्त्री बनेको भन्दै बधाई पनि खाए । तर रेखा शर्मा दोहोरिँदा उनले मन्त्री पाएनन् । त्यसको भडास उनले बैठकमा पोखे । मन्त्री हुन नपाएको आक्रोश उनमा देखिन्थ्यो । नारायणकाजी श्रेष्ठको नामै किटेर उनले दबाब, प्रभाव र घुर्की देखाएर सधैँ मन्त्री बनेको आरोप लगाएका थिए । अर्थमन्त्री नपाएपछि चुप लागेको भन्दै एमाले नेता विष्णु पौडेलले जति पनि नैतिकता नारायणकाजीले नदेखाएको र वरीयतामा झरेर पनि मन्त्री खाएको भन्दै आक्रोश पोखे । प्रत्यक्ष चुनाव लड्नसमेत सापकोटाले नारायणकाजीलाई चुनौती दिए । यो असन्तुष्टी उनका मात्र नभई पूर्वमन्त्री सुदन किरातीले समेत प्रचण्डको निकटकै मान्छे भएर पनि मन्त्री नपाएको झोँक पोखे । पार्टी भने पुरानालाई दोहो¥याउँदा नै अहिलेको सुशासन र समृद्धिको अभियानमा प्रचण्डलाई सहज हुने बताउँछ ।

यतिमात्र नभई मायाप्रसाद शर्मा, अमनलाल मोदी, सूर्यमान दोङ लगायतलले समेत मन्त्री छनोटको मापदण्ड प्रचण्डसँग मागेका थिए । तर यीनै मन्त्रीहरुलाई असन्तुष्ट हुन नदिई आफू प्रधानमन्त्रीमा टिकिरहेका प्रचण्डसँग भने जवाफ दिने कुनै पनि शब्द थिएनन् । सांसद शर्मा शक्ति बस्नेतविरुद्ध खनिए । कुनै समय बस्नेतभन्दा सिनियर नेता आफू भएको स्मरण गराउँदै मन्त्रीमा दोहोरिरहने उनको क्षमता के रहेछ ? जो हामीसँग छैन भन्दै जवाफ मागे । यतिमात्र नभई यसपटक कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही पनि मन्त्री बन्ने लाइनमा थिए । तर बस्नेतकै कारण नपाएको उनको पनि दुःखेसो छ ।
यस्तै राष्ट्रिय सभा अध्यक्षबारेसमेत पार्टीमा विवाद बढ्दो छ । अहिले आकांक्षी रहेका तीन जनामध्ये जसलाई अध्यक्ष बनाए पनि प्रचण्ड विवादरहित भने रहने छैनन् । अन्ततः नारायणप्रसाद दाहाललाई माओवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । उनी राष्ट्रिय सभामा नारायणकाजी पछिका सिनियर सांस्द ह’न् । तर प्रचण्डका भाई भएका कारण पनि उनी विवादरहित रहने छैनन् ।

माओवादीमा यतिमात्र नभई हरेक बिषयमा विवाद बढ्न थालेको छ । प्रदेशमा जिम्मेवारी दिने विषयमा धाँधली भएको भन्दै जनार्दन शर्माले पार्टी बैठकमै पूरक प्रस्ताव राखे । त्यसैकारण वर्षमान पुन मन्त्री बन्दा जनार्दन राजनीतिमा केही दिनदेखि गुमनाम छन् । यतिमात्र नभई सुदूरपश्चिममा आफ्नी बुहारीको व्यवस्थापनका लागि खगराज भट्टको इन्चार्जसहित संसदीय दलको नेता खोसिएपछि भएको विवाद लगायतको भूमरीमा माओवादी फसेको छ । प्रचण्डपथको मिसन सत्तादेखि सत्तासम्म केन्द्रित हुँदा पार्टीमा किचलो बढ्दो छ । पार्टी भित्रको आन्तरिक विवादलाई समाधान गर्दै सत्तामा टिकिरहन प्रचण्डका लागि चुनौतीहरु थपिँदै गएका छन् । पार्टीमा बढ्दो विवाद र सत्तामा आफूविरुद्ध भइरहेको घेराबन्दीलाई उनले कसरी छिचोल्दै अगाडि बढ्छन् हेर्न बाँकी छ । त्यसो त राजनीतिका चतुर खेलाडी प्रचण्डले तीन दशकदेखि पार्टीको नेतृत्व गरिहनुलाई चानचुने मान्न सकिँदैन ।