Breaking

प्रचण्ड र ओलीको भर परेका झलनाथलाई रविले सुहाङ बोकेपछि छटपटी, गठबन्धनभित्रै भिडन्त (भिडियोसहित)


काठमाडौँ— इलाम २ को उपनिर्वाचनमानयाँ सत्ता समीकरणमा आबद्ध दल र संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका आ–आफ्नै रणनीति छन् । काँग्रेसले सम्भावित उम्मेदवार लगभग टुंग्याएका बेला सत्ता गठबन्धनमा भने उम्मेदवार छनोटको विषय नै पेचिलो बन्ने देखिन्छ । यता एक्लै चुनाव लड्न चाहेको रास्वपाले भने एमालेबाट चर्चामा रहेका सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने संकेत देखाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सूर्य चिन्हमाथि रवि लामिछानेको रास्वपाले घण्टी बजाउनेसंकेत देखापरेको छ । अर्थात स्वर्गीय सुवास नेम्वाङको रिक्त चुनाव क्षेत्रमा हुने उपनिर्वाचनका लागि एमालेकै सम्भावित उम्मेदवारलाईउठाएर रास्वपाले घण्टी बजाउने संकेत गरेको हो । हिजोसम्म एमालेबाट सुवासचन्द्र नेम्वाङकै पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने विषयमा गृहकार्य चलेको थियो । तर,काँग्रेससहितको गठबन्धन भत्काएर प्रचण्ड एमालेको कित्तामा आएपछि चुनावी समीकरणसमेत फेरिएको छ । जहाँ रास्वपासहित नेकपा एकीकृत समाजवादी पनि सामेल छ ।

रास्वपाले सरकारका लागि गठबन्धन गरेपनि चुनावमा आफ्नै उम्मेदवार उठाउने स्पष्ट पारेको छ । यस्तो अवस्थामा कम्युनिष्ट एकताको सुत्रधार बन्दै समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले, माओवादीसहितको साझा उम्मेदवार बन्ने दाउमा छन् । झलनाथको प्रवेशपछि इलाम–२ मा सुहाङ एमालेको उम्मेदवार बन्ने सम्भावना लगभग अन्त्य भएको छ । फलतः सुहाङले रवि लामिछानेसहितका नेताहरुसँग भेटवार्ता गरि रास्वपाकै उम्मेदवार बन्ने तयारी चलाएका छन् । यसबारे रास्वपाका नेताहरुपनि सुहाङलाई उम्मेदवार बनाएर जाने विषय लगभग सम्भावनाभित्रै भएको बताउँछन् ।

चुनावी सर्भेका लागि रास्वपाले इलाम २ मा ६ जना सांसदलाई मैदानमै उतारेको छ ।सुवास नेम्वाङको बलियो विरासतकै कारण सुहाङको माग गर्ने जनताहरुको वर्चश्व पनि छ । यसैकारणसुहाङका विषयमा रास्वपा सकारात्मक छ । सार्वजनिक रुपमै नेताहरुले इलाम २ मा जनजातिलाई उम्मेदवार बनाउने उद्घोष गरेपछि सुहाङको सम्भावना झनै बढेको हो ।गत निर्वाचनमा रास्वपाले यहाँ १३ सय ६३ मत प्राप्त गरेको थियो । एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर जित्दा काँग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । यसकारण विगतको मतपरिणामलाई हेर्दा रास्वपाका लागि चुनाव जित्नु फलामको चिउरा चपाएजस्तो हुनेछ । तर सुहाङलाई उम्मेदवार बनाएर जाँदा एमालेको पनि मत काट्न सकिने विश्वास भएरै रास्वपाले यो नीति लिएको देखिन्छ ।यद्यपी रास्वपा अग्नी परिक्षामा होमिएका बेला जसरी पनि संसद छिर्न चाहेका झलनाथ र बदलिएको सत्ता समीकरणले सुहाङमाथि नै संकट ल्याएको छ । किनकि कम्युनिष्टहरुलाई एक बनाएर चुनाव लड्न चाहेका झलनाथले बृहत रुपमा गृहकार्य थालेका छन् । पछिल्लो समय ओली–प्रचण्डको मिलनपछि सबैभन्दा खुशी हुनेमध्येका पात्र झलनाथ नै होलान् ।

झलनाथलाई नभएर दाङबाट चुनाव हारेका एमाले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउने विषय पनि चर्चामा छ । यता रास्वपामा सुहाङलाई तान्ने हल्ला भइरहेका बेला रमेश प्रसाईं र अनिलकेशरी शाहसमेत आफुले टिकट पाउनेमा लगभग आशातित छन् । तर गठबन्धनमा कसैगरि कुरा मिले यता काँग्रेस गलपासो बन्नेछ । किनकि एक्लै चुनाव लड्ने महासमितिको प्रस्तावलाई कार्यान्वयन गर्ने अवसर सत्ता गुमेपछि काँग्रेसले पाउँदैछ । इलाम २ मा सुवासको निधनसँगै विगत जस्तो बलियो विरासतसमेत एमालेको छैन । फलतः सुवासचन्द्र नेम्वाङसँग मात्र ११४ मतले चुनाव हारेका डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएर जाने लगभग पक्का भएको छ । देउवाको निर्देशन पाएपछि खड्काले इलाममा तयारी अघि बढाएका छन् । संसदीय अंकगणितलाई एक निर्वाचन क्षेत्रले खासै फरक नपार्ने भएपनि चिरिएको राजनीति र बद्लाको भावनामा होमिएको काँग्रेसले सत्ताधारीसँगै कडा प्रतिपस्र्धा गर्ने नीति लिएको छ ।

इलाम दुईको उपनिर्वाचनमा पहिचानवादी, एक ढिक्का भएका कम्युनिष्ट र काँग्रेससहित रास्वपाको प्रतिस्पर्धा हुने निश्चित छ । कम्युनिष्ट एकताको सुत्र बनेका झलनाथ त्यसको ब्याज खाएर पूर्वनिर्वाचन क्षेत्रबाटै सदन छिर्न चाहन्छन् भने प्रचण्ड र ओलीले उनलाई वचन दिइसकेकोसम्म भन्न भ्याएका छन् । तर विश्लेषकहरु भने जनताबाट तिरस्कृत भएका व्यक्तिलाई फेरि पनि अघि सार्नुले गलत सन्देश जाने बताउँछन् ।

निर्वाचन आयोगले आगामी बैशाख १५ का लागि उपनिर्वाचनको मिति तय गरेको छ । तर चैत २४ मा मात्रै उम्मेदवारी दर्ताको समय भएकाले दलहरुलाई गृहकार्य गर्ने पर्याप्त समय छ । यो बीचमा फागुन २९ गते राष्ट्रिय सभाको निर्वाचन पनि हुँदैछ । यसर्थ त्यसमा हुने सहमति र आउने मतपरिणामले समेत अर्थ राख्नेछ । तथापि उपनिर्वाचनकै विषयलाई लिएर गठबन्धनमा दरार आउने आकलनसमेत भइरहेका छन् ।