Breaking

प्रचण्डले ओली रोज्दा कांग्रेसमा रोइलो, गठबन्धन फुटाउन–फुटेको कांग्रेस एकजुट, सत्ता गुम्दा चिन्तामा नेता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्ष कित्तामा पुगेको छ । फेरिएको सत्ता समीकरणले केन्द्रमा मात्र होइन कांग्रेस प्रेदशमासमेत प्रतिपक्षमा पुग्ने निश्चित छ । आलोपालो सहमति अनुसार मुखैमा आएको प्रधानमन्त्री पद गुमेपछि कांग्रेस नेतृत्वको छटपटी स्वभाविक भए पनि कम्युनिस्टलाई बोकेर हिँड्नु हुँदैन भन्दै आफ्नै पार्टीले माओवादीसँग गरेको गठबन्धनको विरोध गरेर कहिल्यै नथाक्ने संस्थापन इतरको अहिले बढ्दो छटपटीले भने अस्वभाविक महसुस गराएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर नयाँ समीकरण बनाएपछि संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्ष कित्तामा पुगेको छ । सत्ताको सुविधा त छँदैछ त्यो भन्दा पनि मुखैमा आइपुगेको प्रधानमन्त्री पद गुमाउँदाको छटपटी कति छ ? कांग्रेस सभापति शेरबहादुर देउवालाई हेरे पुग्छ । देउवाको छटपटी उनी आफैँले देखाएको राजनीतिक सक्रियतालाई लिन सकिन्छ । प्रचण्डबाट एकपटक धोका पाइसकेका देउवा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको अफर टुक्राउँदै दोस्रो पटक प्रचण्डलाई काँध दिएका थिए । तर उनै प्रचण्डले धोकाधडी र विश्वासघातको आरोप लगाएर देउवालाई लात हानेर काँध फेरेपछि देउवाको यो छटपटी स्वभाविक छ । प्रचण्डलाई धोकेबाज, बेइमानीको संज्ञा दिएर नैतिक प्रश्न उठाउनेदेखि गालीगलौजकै स्थितिमा देउवा उत्रिएका छन् । तर रोचक के भने माओवादीलाई बोकेर हिँडेमा कांग्रेस नेतृत्वकै तीव्र आलोचना गर्ने संस्थापन इतर समूह पनि देउवाकै लाइनमा उभिएर प्रधानमन्त्री प्रचण्डमाथि हिलो छ्याप्न सक्रिय छ । माओवादीसँग गठबन्धन गर्न नहुने, चुनाव एक्लै लड्नु पर्ने, गठबन्धन सरकारमा कांग्रेस बस्न नहुने तर्क दिँदै हिँडेको इतर समूहमा देखिएको छटपटी बडो ताजुब लाग्दो बनेको छ । महामन्त्री गगन थापाले पार्टीको महासमिति बैठकमै पनि माओवादीसँगको गठबन्धनको आलोचना गरेका थिए । कांग्रेस सरकारमा बस्न नहुने भन्दै सार्वजनिक मञ्चहरुमा पनि कुर्लिने उनै गगन थापा अहिले समीकरण फेरिएपछि संस्थापन पक्षकै लाइनमा उभिएर प्रचण्डमाथि प्रश्नहरु तेर्साइरहेका छन् ।

तर, गगन थापाको यही भनाइ पनि प्रश्न छ । यदि उनले भने जस्तो यो गठबन्धन कुहिएर झ¥यो भने पनि शतिदेवीको अंग झरेको ठाउँ झै कांग्रेसका लागि शक्ति पीठ बन्ने छ । यो विषयलाई कांग्रेसजनले बुझ्न नसक्नु र कांग्रेस सत्तामा हुँदा विरोध गर्दै हिँड्ने शेखर गगन खेमाले आत्मानुभूति गर्न नसक्नु विडम्बना मान्नु पर्छ । मिलेर सरकार चलाए पनि माओवादीको जनयुद्धलाई स्वीकार नगरेको कांग्रेसले चाहेझै प्रचण्डबाट छुटकारा पाउँदा देउवा–प्रचण्डको सम्बन्ध विच्छेद हुँदा पीडा ओकल्नु भन्दा वास्तविकतालाई स्वीकार्नु पर्ने हो । संगठन चुस्त दुरुस्त बनाउन लाग्ने अवसर कांग्रेसलाई मिलेकोछ । यस्तो बेला इतर समूहले संस्थापन समूहसँग छलफल गरी पार्टीलाई नयाँ रणनीतिका साथ अगाडि बढाउनु पर्ने हो । तर सबै गुट एउटै लाइनमा देखिँदा कांग्रेसमा एकै स्वर मिलेको छ । सबैको एकै स्वर हुँदा कांग्रेस एक ढिक्का भएको सन्देश त गएको छ तर सत्ता गुमेको बिलौना गर्नमै व्यस्त छन् ।

सत्ता सुविधाको उपभोग पनि गर्ने र सधंै सरकारकै कटु आलोचक बन्ने कांग्रेस संस्थापन इतरले देउवाको सत्ता यात्रा रोक्नु नै आफ्नो उद्देश्य ठानेका थिए । प्रचण्ड–देउवाको समीकरण अप्राकृतिक ठान्ने तर आफँै सत्ता गुमेको पीडामा पिरोलिने द्वध चरित्र प्रदर्शन भइरहेको छ । कांग्रेस माओवादी गठबन्धन टुट्दै गर्दा बालकोट र बालुवाटारको रणनीतिको सुईकोसमेत कांग्रेसजनले पाउन सकेनन् ।

सबैलाई चक्मा दिँदै बनेको नयाँ सत्ता समीकरणपछि कांग्रेस नेताहरु झस्किएका छन् । प्रचण्डले धोका दिएपछि कांग्रेस संस्थापन पक्ष र इतर पक्ष एउटै लाइनमा उभिएका छन् । पार्टी भित्र झांगिएको गुटगत राजनीतिलाई पन्छाएर कांग्रेसले एउटै स्वर गरिरहेको छ । यतिमात्रै नभइ वैकल्पिक समीकरण निर्माणमा समेत प्रयासरत छ । चलखेल थालिसकेका छन् । कसैगरी प्रचण्ड सरकार ढाल्न कांग्रेस जुटेको छ । तर सत्ताकै लागि मरिहत्ते गर्ने हो भने भइरहेको गठबन्धनलाई धरापमा पार्ने कार्यको बिजारोपण गर्ने कांग्रेस इतर समूहले गरिरहेको रोइलो भने अस्वभाविक देखिन्छ । माओवादीसँगको गठबन्धनको सही मानेमा उनीहरुले विरोध गरेका थिए भने गठबन्धन टुटेपछि सत्ता गुमेकोमा रोइलो गर्नुभन्दा त्यसको प्रतिरक्षामा बोल्न सक्नु पर्ने थियो । होइन भने चुनावमा एक्लै लड्ने, भारी बहुमत ल्याउने र आफ्नै नेतृत्वको बहुमतको सरकार निर्माण गर्ने अवसर र बाटो दुवै कांग्रेसका लागि खुला भएको छ । त्यो बाटोमा हिँड्न कांग्रेसलाई आगामी चुनावका लागि तयारी र रणनीति बुन्न पर्याप्त समय र अवसर छ ।