Breaking

कम छैन नेपाली सेनाको सान, जमिनदेखि आकाशसम्मै शक्ति प्रदर्शन, सेनाको ठेक्का लोभ, जनताको असन्तुष्टिकक


नेपाली सेनाले आज सेना दिवस मनाएको छ । दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरियो ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतिसबाजी प्रदर्शन गरिएको छ । सेनाले आफ्नो २६१ औं स्थापना दिवसको अवसरमा मुलुकभरमा नै विविध कार्यक्रम गरि दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनीसमेत गरेको थियो ।

राष्ट्रपति पौडेलले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । त्यसैले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ । यस क्रममा ७२ नेपाली शान्ति सैनिकले सहादत प्राप्त गरेका छन् भने ६८ सैनिक घाइते भएका छन् ।


शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ । तर, गौरवपूर्ण इतिहास बोकेको सेना पछिल्लो समय भने विवादित बत्रे गरेको छ । अहिलेसम्म दलीय राजनीतिबाट मुक्त रहन सफल भएको एकमात्र संस्था सेनाको काम विशिष्ठ व्यक्तिलाई सुरक्षा दिनु, विकास निर्माण कार्यमा संलग्नु हुनु र विपद्मा परेको बेला उद्दार गर्ने मात्रै भएको छ । देशको सुरक्षालाई नै केन्द्रमा राख्नु पर्ने नेपाली सेना ठेकेदार बनेको छ । नेपाल जस्तो पहाडी क्षेत्र बढी भएको इलाकामा लडाई लड्ने भनेको छापामार तालिम प्राप्त गुरिल्ला सेनाले हो, तर नेपाली सेनालाई नियमित दिइरहनुपर्ने छापामार तालिमदेखि आधुनिक हातहतियारको बन्दोबस्तीसमेत उचित रुपमा सहन सकेको छैन । नेपाली सेना अहिले सलामी र मलामीमा मात्रै प्रयोग भइरहेको छ । सेनालाई अब्बल र देशको सुरक्षाका लागि बलियो शक्ति बनाउने तर्फ अझै थप पहल हुन आवश्यक देखिन्छ ।