Breaking

धोकेबाज प्रचण्ड, ओली–देउवाकै खोसाखोस, ओलीको ढोक्सामा सत्ता हाल्दै देउवा, रवि–माधव साक्षी


काठमाडौँ – नेपाली राजनीतिमा अहिले कसले कसलाई धोका दिने भन्ने प्रतिस्पर्धा जारी छ । जसको मुख्य खेलाडी प्रचण्ड बन्दा गोलपोष्ट भने एमाले र कांग्रेस बनिरहेका छन् । जहाँ दुबै पक्ष आफू अनुकूल भए प्रसंशा र प्रतिकुल भए राजनीतिक बेईमानीको संज्ञा दिन उद्यत छन् । जसले आमनागरिक भने कसले कसलाई धोका दिएको भन्नेमै अलमलमा देखिन्छन् । यो अवस्था आउनुमा भने बारम्बार धोका खाएका कांग्रेस र एमाले नै मुख्य जिम्मेवार रहँदै आएका छन् ।

विगतबाटै लभ–हेटको सम्बन्ध भएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि धोका दिए । कहिले सत्तामा हुँदै गर्दा एमालेसँग मिलेर चुनाव लड्ने त कहिले कांग्रेससँग मिलेर चुनाव जिते पनि एमाले रोज्ने प्रचण्डको पुरानै बानी हो । जसलाई स्वभाविक राजनीतिक गतिविधि र गठबन्धनको बाध्यताका रुपमा बुझेका देउवालाई यो पल्ट भने मर्म स्थलमा प्रहार भएको छ । अर्थात एमालेबाटै जोगाएर ल्याएका प्रचण्डले पुनः एमाले नै रोजेपछि कांग्रेस भित्तामा पुगेको छ । जसबाट विरक्तिएको कांग्रेसले यसलाई राजनीतिक बेइमानीको संज्ञा दिएको छ ।

यद्यपि, प्रचण्डले भने यसलाई आफूसँग मिले उचित नत्र अनुचितको संज्ञा दिने पुरानो राजनीतिक संस्कार भन्दामाथि मान्दैनन् । अर्थात कुन दलको हैसियत के र उनीहरुको धनु कति बलियो छ भनेर नापिसकेका प्रचण्डले यो संज्ञाबाट चित्त दुखाईजस्तो गरे पनि कांग्रेसको छटपटाहटको मजा लिइरहेका छन् । यद्यपि तत्काल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिरक्षा नगर्दा भने थोरै झस्किएका छन् । साथै उनले नयाँ समीकरणमा केही जोखिम देख्न थालिसकेका छन् । जसमा बोली नफुट्ने देउवाले समेत धोका दियो भनेर दिएको संज्ञा र धोका खाएकाहरु मिले के होला भन्ने प्रश्नमा केही गम्भिर देखिएका प्रचण्ड आफूले बाटो फेर्नु बाध्यता भएको पुष्टि गर्न लागी परेका छन् ।

हुन त सँगै चुनाव लडेको कांग्रेसलाई छोडेर एमालेको साथमा प्रधानमन्त्री बन्नु धोका थियो ? या त्यसैमा ढोक्सा थापेर कांग्रेससँग गठबन्धन फुटाउनु धोका थियो ? प्रश्न पेचिलो छ । अहिले एमालेका केही नेतालाई ढोक्सा थापेर नैतिकताच्यूत हुन हौसला दिएका प्रचण्डले एमाले रोज्नुमा बेइमानी देख्न नहुने नै तर्क गरिरहेका छन् । अर्थात हिजो आफैंले धोकेबाज भनेको प्रचण्ड आफूसँग पाउँदा एमाले रमाइरहेको छ । यो बढो रोचक राजनीतिक दृश्यमा प्रचण्ड १७ हजार प्लस तीन भन्नेसँग गठबन्धन गरेर कांग्रेसले जनयुद्धको अवमूल्यन गर्नु गठबन्धन फेर्नुको आधार भएको बताइरहेका छन् । यता हिजो एमालेले सत्ता सहकार्यका लागि अफर गर्दा बाल नदिने कांग्रेस सत्ताविहीन हुनु परेपछि प्रचण्ड तह लगाउनुपर्ने बहसमा छ । तर राजनीतिक विश्लेषक शुदर्शन आचार्य अहिले पनि प्रचण्डले एमाले छोडेर आए कांग्रेसले बोक्नेमा कुनै शंका नरहेको तर्क गर्छन् ।

यसको अर्थ प्रचण्ड गलत हैनन् आफूसँग नहुनु मात्रै गलत हो भन्ने भाष्य निर्माण कांग्रेस र एमालेले गरेका छन् । जसले प्रचण्डको मनोबल बढ्दा त्यसको मारमा देशको राजनीति परिरहेको छ । यहि कारण कसले धोका पायो र कसले धोका दियो भन्नेमै अलमल सिर्जना हुँदा प्रचण्डमाथि परिस्थिति अनुसारको उनीहरुको व्याख्याले अझ अलमल थपिरहेको छ । निर्वाचन प्रणालीमा भएको समस्याले यो दृश्य देखिएको भन्नेसमेत बुझेका उनीहरु समस्याको दीर्घकालीन समाधान खोज्न लागि नपर्नु अर्को गज्जबको दृश्य मान्नु पर्छ । फलत ः यो कसले धोका खायो भन्दा पनि कसले के पायो भन्ने बाहेक र त्यसैमा जोडिएको रुवाई र हँसाइमात्रै भएको बुझ्न कठिन छैन ।