Breaking

ओलीकै कारण प्रचण्डको जग कमजोर, ठेगान लाउने कांग्रेसको चेतावनी, रणनीति बुन्दै कांग्रेस


काठमाडौँ – धोकाधडी र विश्वासघातको आरोप लगाएर माओवादी टाढिएपछि मुखैमा आएको प्रधानमन्त्री गुमाएको कांग्रेस प्रतिपक्षी कित्तामा उभिएको छ । तर नयाँ समीकरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेकै सहयोग धेरै समयसम्म नटिक्ने संकेतहरु देखिसकेका छन् । यसबीचमा कांग्रेसको रणनीतिक कस्तो रहला ?

सत्ताको सुखसयलमा रमाइरहेको नेपाली कांग्रेस अप्रत्याशित रुपमा प्रतिपक्षी बेञ्चमा बजारिएपछि उसको आगामी रणनीतिबारे सबैको चासो बढेको छ । माओवादीसँगको सहमतिप्रति आफूहरु उदार बन्दा पनि प्रचण्डको अस्थीर प्रवृत्तिलाई कांग्रेसले राजनैतिक बेइमानीको संज्ञा दिएको छ । जेहोस सत्ता गुमाएपछि कांग्रेस एक ढिक्का भएको सन्देश भने दिएको छ । यसअघि प्रचण्डको नेतृत्वमा रहेको सरकारको कटु आलोचक इतर पक्षले पनि एक भएको सन्देश मात्रै दिएको छैन कि, प्रचण्डले गठबन्धन फेर्दा लुकेको खुसी मिलेको टिप्प्णी गरिरहेको छ । तर, सत्ता गुमेकोमा एक तहको छटपटी कांग्रेसमा कति छ भन्ने कुरा बिहीबारको संसदमा रमेश लेखकले सरल भाषामा दिएको तिखो प्रहारलाई हेर्दा प्रस्ट हुन्छ । खैर, धोकेबाज प्रचण्ड सुधार्ने औषधी नभएको निष्कर्ष निकालेको कांग्रेस हातमा दही जमाएर बस्ने परिस्थिति भने देखिँदैन । पूरक समीकरण बनाउन क्षेत्रीय दलहरुसँग छलफल गर्न कम्मर कसेको कांग्रेसले धोका पाएका साना दलहरु एक ठाउँमा आए प्रचण्डलाई भित्तामा पु¥याइदिने चेतावनीकै भाषा बोल्यो ।

प्रतिनिधि सभाको बैठकमै बिहीबार शीर्ष नेताहरुले सम्बोधन गर्ने तय थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेललाई सम्बोधनको जिम्मा दिँदै आफू भने नबोली निस्किए । यसले पनि प्रचण्डसँगको समीकरणमा एमाले खासै उत्साही छैन भन्ने संकेत दिएको छ । ओलीले अफ्ठ्यारो पार्न सक्ने भान प्रचण्डलाई पनि भइसकेको छ । यसको संकेत यो दृष्यले पनि पुष्टि हुन्छ । पज…
अहिलेको समीकरण फेरि कम्युनिस्टहरुको धु्रवीकरणका लागि बनेको दाबीका बिच एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले पहिलेका कमजोरीको समीक्षा नगरी वाम एकतामा हतार नगर्ने स्पष्ट पारेका छन् । यसको अर्थ माधव नेपालसँग ओली प्रफुल्लित नभई समीकरण मिलाउन पाउ ढोगेको स्पष्ट छ । पुष १० मा धोका पाइसकेको एमालेलाई प्रचण्डको छेपारे लीला अहिले आएर सुध्रिनेमा पत्यार छैन । त्यसमाथि महत्वपूर्ण मन्त्रालय लिन हठ नगर्नु र शीर्ष नेतालाई मन्त्रीको रुपमा नपठाउनु तथा पटक–पटक कांग्रेससँग एमालेको छलफलले पनि ओलीको टेको फुस्किनासाथ प्रचण्डको जग हल्लिने स्पष्ट छ । वैकल्पिक समीकरणको हिसाब किताबमा रहेको कांग्रेसले त्यसको पनि फाइदा लिन सक्छ । सहमतिमा इमान्दार देउवालाई प्रचण्डले सत्ता नसुुम्पिएको तीतो यथार्थ बुझेका ओली प्रचण्डकै साथमा आफू प्रधानमन्त्री बन्न नपाउनेमा ढुक्क छन् । त्यसमाथि कांग्रेसले नै ओलीलाई प्रधानमन्त्रीको अफर गर्नुेले पनि ओलीको मन बरालिएको हुन सक्छ । यीनै चाल बुझेका प्रचण्डले समेत नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको महसुस गरिसकेका छन् । यसको अर्थ प्रचण्डले अर्को अस्थिरताको ताण्डप नृत्य देखाउन सक्ने छन् ।

यत्तिका संकेत पाउँदा कांग्रेस प्रतिपक्षमै अडिएर बस्ने अवस्था नहुन सक्छ । प्रचण्डलाई एमालेको कित्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका विष्णु पौडेल अहिले कांग्रेस फकाउन लागेको चर्चा छ । संसदमा ३० मिनेट समय पाएर ४१ मिनेट बोलेका लेखकले अधिकांश समय माओवादीको खेदो खन्नमै बिताउँदा एमालेविरुद्ध एक शब्द पनि उच्चारण गरेनन् । यसले पनि एमालेप्रतिको कांग्रेसी सदासयता दर्साउँछ । कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । ठूलो शक्ति नै प्रतिपक्षमा रहनु र कानुन प्रमाणित गराउने वा रोक्ने भन्ने निर्णय गर्ने स्थान राष्ट्रपतिमा कांग्रेसकै इन्ट्रेस्टका व्यक्ति हुनुुले पनि प्रचण्डका लागि चुनौती छ । त्यसको संकेत बिहीबारकै संसदमा पनि देखिसकेको छ । कांग्रेसले प्रश्न उठेका मन्त्री पदमा बसिरहे संसद के हुन्छ ? भन्ने देखाइदिने चेतावनी दिएको छ । तत्कालका लागि प्रचण्ड गलाउन संसद र टीआरसी विधेयकमा कांग्रेसले अड्को थाप्न सक्छ ।

निकटमै भारतमा भइरहेको निर्वाचनले पनि भूराजनीतिक प्रभाव नेपालमा पर्नेछ । र, त्यसले पनि प्रत्यक्ष रुपमा कांग्रेसलाई नै प्रभावित पार्नेछ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले नै धर्म सापेक्षता तथा संविधान संशोधनको आकांक्षा देखाउनु र त्यसमा एमाले राप्रपाको पनि साथ रहन सक्ने विश्लेषणका बिच संविधान संसोधनकै मुद्दा बनाएर नयाँ समीकरण बनाउन प्रयास गर्न सक्छन् । संसदमै प्रचण्डलाई असहयोग गरी यो सरकार असफल पार्ने र संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा एमाले सहितका दलहरुसँग मिलेर सरकार बनाउनु कांग्रेसका लागि अन्तिम हतियार हो । त्यो पनि सफल नभए मिसन–८४ चलाएको रास्वपा सरकारमा मस्त रहँदा त्यही मिसन चलाउँदै पार्टी एक भएको फाइदा उठाएर आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने र पहिलो दल बन्ने कष्ट कांग्रेसले उठाउँदा फलदायी हुनेछ ।