राजनीति

जनतालाई झुट बोलेर रवि र सुमना सत्तामा, नतिजा नआए सकिने, प्रचण्ड पथले रास्वपामा असन्तुष्टि (भिडियोसहित)


काठमाडौँ— वैकल्पिक शक्तिको ढोल पिटेर राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ दोस्रो पटक सत्ता यात्रामा छ । गृह मन्त्रालयसहित रोजेकै मन्त्रालयहरु पोल्टामा परेपछि रास्वपा नयाँ समीकरणको सत्ता सहयात्री बनेको हो । पार्टीभित्रै सत्ता वा प्रतिपक्ष भन्ने विवादकाबीच सभापति रवि लामिछानेको सत्ता मोहले सरकारमा होमिएको रास्वपाको राजनीतिक भविष्यबारे विभिन्न पाटोबाट विश्लेषण र टिप्पणी हुन थालेको छ ।

बालकोटको बलमा बालुवाटारमा लम्पसार परेका रास्वपा सभापति रवि लामिछाने आफैँले रोजेको÷खोजेको मालदार गृहमन्त्रालय हात परेपछि गदगद छन् । नयाँ गठबन्धन निर्माण हुनुअघि नै कहिले दुध किसानको विषय त कहिले चितवनकी बालिका शालीनको मृत्यु प्रकरण बोकेर दुई दुई पटक प्रचण्ड निवास बालुवाटार छिरेका रवि प्रधानमन्त्री प्रचण्डको सहयात्री बन्न सफल भएका छन् । गृहसहित अन्य तीन मन्त्रालय पनि लगभग आफैँले रोजेकै रास्वपाले पाएको छ । गृहमा दोहोरिएका रविले अन्य तीन मन्त्रालयमा नयाँ अनुहारलाई अवसर दिएका छन् । नयाँ गठबन्धन दलहरुको भागबन्डामा रास्वपाको भागमा परेको शिक्षा, श्रम र खेलकुद मन्त्रालयमा क्रमश सुमना श्रेष्ठ, डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ मन्त्री बनेका छन् । अब सत्तामा जाँदैनौ, गठबन्धन गर्दैनौँ भन्दै मिसन ८४ मा होमिएको रास्वपा ओली–प्रचण्डको गठबन्धन सरकारमा सत्ता साझेदार बन्न पुगेको छ । सरकारमा जानु हुँदैन, सशक्त प्रतिपक्षी बन्नुपर्छ भन्ने ठूलो जमात पार्टी भित्रै हुँदाहुँदै रास्वपा चार मन्त्रालयको भाग लिँदै सरकारमा सहभागी भएको छ ।

नयाँ राजनीतिक परिस्थिति निर्माण भए राजनीतिक निर्णय गर्ने अख्तियारी सभापति रवि लामिछानेले पाएको भए पनि एकाएक सरकारमा जाने निर्णय गरेपछि रास्वपामा खैलाबैला मच्चिएको थियो । पत्र लेख्नेदेखि सामाजिक सञ्जालमा रास्वपाका नेताहरुको असन्तुष्टि छरपष्ट हुँदा विकल्प भनिएको दलको सत्ता हटले पार्टीभित्र विवाद चुलिएको थियो । सांसद सोविता गौतम, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ लगायका नेताहरुले जनतामाथिको ठूलो धोका भएको भन्दै गुनासो गरेका थिए । तर सरकारमा नजाने, गठबन्धन त गर्नै नहुने भन्दै सार्वजनिक मञ्चमा फलाक्ने सुमना, विराजभक्तहरु गठबन्धनकै मन्त्री बनेका छन् । बडो चलाखीका साथ सभापति लामिछानेले पार्टीभित्र विरोध गर्नेहरुलाई नै मन्त्री बनाएपछि पार्टीभित्रको विवादमा बुचो लागेको छ ।

मिसन ८४ अघि सरकारमा नजाने उद्घोष गरेको रास्वपा आफ्नो राजनीतिक एजेन्डालाई लत्याएर सत्ताका लागि प्रदेशमासमेत ल्याप्चे ठोकेर सरकारमा सहभागी भएको छ । पहिलो सत्ता यात्रामै गृहको स्वाद चाखेका रवि फेरि गृहमै फर्किएका छन् । दोस्रो पटक गृहमा पुगेका रविलाई अहिले सहकारी मुद्दा प्रभावित पार्न र आफू चोखिनसमेत यसबाट मौका मिलेको छ । साथै पूर्व सहयात्री जीबी राई जोगाउन पनि रविले गृह नै रोजेको आरोप पनि छ । यसअघि नागरिकता विवादले तीन महिनामै सत्ताबाट हात धुनु परेका रविलाई अहिले सहकारी ठगी र जीबी राई प्रकरण गलपासो नबन्ला भन्न सकिन्न । परिणामुखी काम गर्नै पर्ने दबाबमा रहेका रविको अग्नि परीक्षासमेत सुरु भएको विश्लेषकको टिप्पणी छ ।

बाहिर जति नै आकर्षक भाषण र आदर्शका कुरा छाँटे पनि गठबन्धन सरकारमा रहेर केही गरिहाल्छन् भनेर विश्वास गर्ने वातावरण भने छैन । अर्कोतर्फ आन्तरिक विवादकैबीच सत्ता यात्रा गरेको रास्वपा पनि उही ड्याङको मुला बन्न पुगेको छ । पुराना र परम्परागत राजनीतिक दलबाट देशले चाहेको परिवर्तन सम्भव नभएकाले नयाँ शक्तिको रुपमा उदाएको भन्दै ध्वाँस दिएको रास्वपा पनि ‘नयाँ बोतलमा पुरानै रक्सी’ बन्न पुगेको छ । रास्वपाले सरकारमा रहेर कस्तो काम गर्छ ? त्यो भने हेर्न बाँकी छ । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली लोक उक्तिलाई चरिथार्त गर्छ वा हामी फरक हौँ भन्ने भाष्यलाई स्थापित गर्छ, नेपाली जनताले अब नजिकबाट नियाल्ने छन् ।।