समाचार

लाग्यो शिवरात्री, पशुपतिमा नागा बाबाको ओइरो, सुरक्षाको ग्यारेन्टी, दर्शन गर्ने यस्तो छ व्यवस्था (भिडियोसहित)


काठमाडौँ— महाशिवरात्रीको मिति नजिकिँदै गर्दा पाशुपत क्षेत्र झकिझकाउ बनेको छ । मन्दिर परिसरमा साधु सन्तहरूको आगमनसँगै उपस्थिति बाक्लिएको छ भने सरसफाइ, रंगरोगन र गेट निर्माणले पनि तीव्रता पाएको छ । पशुपति क्षेत्र विकास कोष महाशिवरात्री पर्वलाई सफल बनाउन अन्तिम तयारीमा जुटेको छ ।

महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा हुने चहलपहल बढेको छ । महाशिवरात्रिका लागि भारतलगायत विभिन्न स्थानबाट संघीय राजधानी काठमाडौं आइपुगेका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरिसकेका छन् । नेपालको विभिन्न क्षेत्रका साथै भारत, श्रीलंकाबाट पनि साधु, सन्त, महन्त, जोगीहरूको आउने क्रम सुरु हुँदा यस वर्ष तीन हजार बढी साधु सन्त आउने अनुमान गरिएको छ । भक्तजन र साधुसन्तको भिड र मन्दिर परिसरको गुञ्जायमान भजन कृतनले पशुपति क्षेत्रमा महाशिवरात्रिको रौनक ह्वात्तै बढेको छ । यतिखेर पाशुपत क्षेत्र ‘शिव नाम’ ध्वनीले गुञ्जयमान बनेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा पाशुपत क्षेत्र सन्तमहन्तका साथै फूलमालाले पनि थप झकिझकाउ बनेको छ । अहिले पशुपति क्षेत्रमा महाशिवरात्रिका लागि रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माण कार्यहरू धमाधम भइरहेको छ । यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशिुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइँदै छ । यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिङ्गलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगङ्गा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको छ ।

महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी स्वरुप पशुपति क्षेत्र विकास कोषले ४१ जनाको मूल समारोह आयोजक समितिसँगै विभित्र विषयगत गरि आठवटा उपसमिति गठन गरी काम गरिरहेको छ । पशुपति दर्शन गर्न आउने भक्तजनहरुका लागि सेवा सुविधामा कुनै कमी हुन नदिने कोषको दाबी छ । आगामी २५ गते शुक्रबार हुने महाशिवरात्रि मेलामा विगतको भन्दा भक्तजनको संख्यामा वृद्धि हुने अनुमान कोषको छ । महाशिवरात्रिका लागि कोषले आन्तरिक बजेटबाट एक करोड ५० लाख छुट्याएको जनाएको छ । त्यस्तै अहिले दैनिक जसो ४ सय क्युसेक पानी बागमती ड्यामबाट छाडिएकोमा २२ गते बेलुकादेखि २७ बिहानसम्म जम्मा १८ करोड ५० लाख क्युसेक पानी नदीमा प्रवाह हुने भएको छ ।

हशं मण्डप, वनकाली र तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकी करिब एक सय दश वटा संघसस्थाले निःशुल्क भोजनको व्यवस्था गर्ने छन् । मन्दिर परिसरमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन हुने छ भने कोर क्षेत्रबाहिर ६ हजार संख्यामा नेपाल स्काउटका स्वयंसेवक परिचालन हुनेछन् । राष्ट्र प्रमुखले सुरक्षाको ग्यारेण्टी भए आफू हिँडेर नै राष्ट्रदेव पशुपतिनाथको दर्शन गर्ने प्रतिबद्धता जनाएका छन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुख्य स्वास्थ्य शिविर, सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ७० वटा स्वास्थ्य शिविर रहने छन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र अग्नि नियन्त्रक दमकलको व्यवस्था गरिएको छ । जुत्ता, चप्पल व्यवस्थापन र दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन् मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बत्तिसपुतली–गौशाला हुँदै दक्षिण ढोकाबाट र राममन्दिर नजिक बागमती पारी १ गरी चार ठाउँमा व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रि पर्वलाई नै लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को प्रयोगसमेत गरेको छ । सो बमोजिम पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन गर्न पूर्णरुपमा रोक लगाइएको छ । बुधबारदेखि पशुपति मन्दिर आसपासका क्षेत्रका गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्यश्वरीदेखि दक्षिणभित्रका सबै भागमा पाँच दिन मासु, मदिरा र अरु नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो । यसपटक भीआईपीका लागि पासको व्यवस्था भने गरिएको छैन ।