राजनीति

मोर्चा कस्दै देउवा, के छ दाउ ?,माधवको पनि धोका, भारतको दौडाहा, प्रधानमन्त्री बन्लान् ?(भिडियोसहित)


काठमाडौँ— अन्ततः पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको निष्कर्षमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सत्ता समीकरणविरुद्ध सक्रिय बनेका छन् । आफूमाथि विश्वासघातभएपछि वैकल्पिक गठबन्धनको तयारीमा लागेकादेउवा भेटघाटमा व्यस्त बनेका छन् । फलतः गत वर्षको पुस १० मा जस्तो सन्नाटाको वातावरण कांग्रेसमा नदेखिँदा देउवाले गर्न सक्ने प्रयास के–के हुन सक्छन् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएपछि रन्थनिएका कांग्रेस यतिबेला निद्राबाट ब्युँझिएको छ । फलतः कसका कारण तत्कालीन गठबन्धन फुट्यो भन्नेमा भन्दा एक हुनेमा कांग्रेस नेताहरु देखिँदा नयाँ रणनीतिको खोजीमा कांग्रेस सभापति शेरबहादुर देउवा लागेका हुन् । योपल्ट साच्चै नै प्रचण्डले धोका दिएको महसुस गरेका कांग्रेस सभापति देउवा नै सक्रिय बन्दा गत वर्ष धोका दिए झै कांग्रेसमा सन्नाटा भने छाएको छैन । यसैक्रममा देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गरिरहेको प्रष्ट छ । उक्त भेटमा देउवाले नेपाललाई आफूसँग मिलेर जान प्रस्ताव गरेका थिए ।

केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक भूमिकामा रहेको छ । यही कारण एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेट गरेकै भोलिपल्ट बिहान देउवाले गरेको भेटलाई अर्थपूर्ण मानिएको छ । त्यस्तै जनता समाजवादी पार्टीसमेत फकाउन देउवा लागि परेका छन् । जसमा भूराजनीतिक कारणलाई समेत आधार मानिदा जसपामा सरकारमा जाने÷नजानेमा दुई धार छ । बैठक नै नबसी बालुवाटारमा भएको चार दलको आठ बुँदे सहमतिमा अध्यक्ष उपेन्द्र यादवले ल्याप्चे लगाएपछि पार्टी फुटसम्म कै डरमा जसपा छ । यता, लोकतान्त्रिक समाजवादी पार्टीदेखि मधेशवादी दलसँगसमेत कुराकानी गरेका यादवलेगठबन्धनमा असर गर्छ भनेरै एमालेको अफर नमानेको बताएको भन्दै पोखेको रिसलेसमेत उनी चुप नबस्ने पक्का छ । जहाँविकसित राजनीतिक घटनाक्रमबारे सबै दलहरूसँग छलफल भइरहेको कांग्रेसले बताएको छ भने वार्ताहरु सकारात्मक रहेको उनीहरुको तर्क छ ।

हुन त भारतले नचाहेको गठबन्धन नै कसरी बन्यो भन्नेमा धेरै विश्लेषक अच्चमित छन् । फलतः देउवाको सक्रियताको उर्जा सत्ता गएको भन्दा पछाडि खेलिरहेको भूराजनीतिक प्रभावसँग जोडिएको उनीहरुको विश्लेषण छ । हुन त कम्युनिस्ट एक नहोस् भन्ने चाहेका देउवालाई माधवसहित फकाएर कम्युनिष्ट एक बनाउने प्रचण्डको तयारी नै टाउको दुखाई बनेको छ । अर्कातर्फ प्रचण्ड ओलीको सहकार्यविगतबाट राम्रो नहुँदा यो गठबन्धन लामो नजाने निष्कर्ष पनि कांग्रेसले निकालेको छ । त्यस्तै प्रचण्डले संसदमा विश्वासको मत नपाउने अवस्था आउनसाथ देउवा स्वतः प्रधानमन्त्री हुनेछन् । साना दल समेटेर नयाँ वैकल्पिक गठबन्धन बनाउने विकल्प पनि बाँकी नै छ भने एमालेसंगै मिलेर भुरेटाकुरे दलले खेल्न सक्ने राजनीतिक अवस्था सिर्जना गर्ने बहस पनि छ । यद्यपि दोस्रो विकल्प एमालेले अहिले नै स्वीकार गर्न नसक्ने अवस्था छ । त्यस्तैयसलाई राजनीतिक आरोह अवरोह मान्दै एउटै दलको बहुमत नआउने निर्वाचन प्रणालीको संवैधानिक निकास खोज्नुपर्ने बहस पनि कांग्रेसमा छ ।तर सरकारमा जाने उपेन्द्र यादवको जोड र मुख्य केन्द्र मानिएको एकीकृत समाजवादीका झलनाथ खनालसहितका नेताको सत्तामोहले कांग्रेसका विकल्पहरु तत्काललाई साँघुरिदै गएको स्पष्ट छ ।

हुन त प्रचण्ड पनि सजिलै रिस्क लिने नेता होइनन् । साथै अहिलेको नवगठबन्धनलाई भत्काएर फेरि भित्तामै पुग्ने बाटोमा ओली पनि देखिदैनन् । त्यसो तकम्युनिस्टको गठबन्धन स्वभाविक देखिँदा भारत चुप बस्ने अवस्था भने देखिँदैन । तर गठबन्धनमा ठूलो दल भएर पनि अरुले छोडेको भाग मात्रै पाउने अवस्थामा एमाले पुग्दा चिनियाँ गमले नेपाली राजनीतिक समीकरणमा धेरै लामो समय काम गरेको इतिहास छैन । यद्यपि, अस्थिर संसदीय अंकगणितमा चतुर खेलाडीका रुपमा रहेका देउवाले धोका महसुस गर्नुले भने ढिलो चाडो नयाँ परिवर्तनको सम्भावना देखाउँछ । जुन अहिलेको संसदमा स्वभाविक मान्नै पर्ने हुन्छ ।