Breaking

प्रचण्डको सत्ता मोह, सिटौलादेखि दर्जनौँ मन्त्रीलाई धोका, समृद्धिको बाधक, सुशासनको नाटके


काठमाडौँ – सामाजिक न्याय, सुशासन र समृद्धिको भाषणा दिँदै हिड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण देश अस्थिरताको भूमरीमा फस्दै गएको छ । ३२ सिट मात्रै भएपनि माओवादी अध्यक्ष प्रचण्डले ठूला दल कांग्रेस र एमालेलाई उपयोग गरिरहेका छन् । पटक पटक गठबन्धन परिवर्तन गरेर उनले विकृत राजनीतिलाई प्रोत्साहन गरिरहेका छन् । स्थिरताको नारा दिने प्रचण्ड सबैभन्दा बढी अस्थिर छन् ।

पटक पटक गठबन्धन फेरेर सत्तामा टिकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत बिहारका मुख्यमन्त्री नीतीश कुमारको झल्को दिएका छन् । आधा दर्जन पटक गठबन्धन परिवर्तन गरेर ‘पल्टुराम’ को ख्याति पाएका नीतीश कुमारको नेपाली संस्करणको रुपमा प्रचण्ड देखिएका छन् । गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन स्थिरता, सुशासन, विकास र समृद्धिको नारा लिएर जनतामाझ गएको थियो । उक्त गठबन्धनले मुस्किलले सरकार बनाउनसक्ने जनमत पायो पनि । तर, राजनीतिका चतुर खेलाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले–रास्वपालगायतका दलसँग मिलेर प्रधानमन्त्री बन्न पुगे । २०७९ पुस १० मा आफुलाई प्रधानमन्त्री बनाउने सत्तागठबन्धनलाई ४२ दिनमै धोका दिएर प्रचण्ड कांग्रेससहितको गठबन्धनमै फर्किए । यो गठबन्धन पनि धेरै दिन टिकेन । राष्ट्रिय सभाको निर्वाचनको तयारी सुरु हुँदै गर्दा प्रचण्डले प्रधानमन्त्रीका लागि दिनगन्ती गरेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई ठूलो झट्का दिँदै ४ सय ३४ दिनमा एमाले–रास्वपा गठबन्धनमै फर्किए । जबकि, प्रचण्डले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने बचन दिइसकेका थिए । तर, उक्त पद माओवादीले नै लिनेगरी प्रचण्ड एमाले–रास्वपासँग मिल्न पुगे । जनतामाथि गरेका प्रतिवद्धता सबै हावामा उठ्यो । प्रचण्ड स्वयं आफू नमरुन्जेल देशमा उथलपुथल भइरहने दाबी गर्छन ।

अस्थिर चरित्रलाई जनता झुक्याउन प्रचण्ड निरन्तरतामा क्रमभंगताको संज्ञा दिन्छन । संविधान जारी भएपछिको मात्रै घटनाक्रम हेर्ने हो भने उनको अस्थिर चरित्र उदाङ्गो हुन्छ । २०७२ सालमा संविधान जारी भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर कांग्रेससँगको सहकार्यमा दोस्रो पटक प्रधानमन्त्री बने । त्यसको दुई वर्षपछि आमनिर्वाचन लड्दासम्म उनको मनस्थिति फेरिइसकेको थियो । गठबन्धन दल कांग्रेसलाई धोका दिएर एमालेसँग चुनावी तालमेल गर्न पुगे । प्रत्यक्षतर्फ गठबन्धनले दुईतिहाइ सीट जितेपछि एमाले र माओवादी एक भए । तर, त्यो पनि लामो समय टिक्न सकेन । कांग्रेससँग मिलेर ओली सरकार ढाले । कांग्रेससँगैको गठबन्धनमा चुनावमा गए । त्यसमा प्रचण्ड अडिन सकेनन् । फेरि गठबन्धन परिवर्तन गरे । अघिल्लो वर्षको धोका बिर्सिएर एमाले अध्यक्ष ओली प्रचण्डसँग हात मिलाउन पुगेका छन् । तर, ओली मिसन ८४ मै केन्द्रित छन् । देशमा जस्तोसुकै परिवर्तन भए पनि मिसन ८४ नछाड्ने ओलीको दाबीले यो गठबन्धनको भविश्यमाथि सुरुमै प्रश्न उब्जिएको छ ।

प्रचण्डले गठबन्धन बदलिरहँदा प्रदेश सरकार निरन्तर बद्नाम, अस्थीर र संकटमा परेको छ । केनद्रमा गठबन्धन बदलिएसँगै प्रदेश सरकारहरूमा तरंग आएको छ । सत्ता र शक्तिमा दलहरू केन्द्रित हुँदा व्यवस्था नै विकृत बन्दै गएको छ । छिटो छिटो गठबन्धन बन्नु र भत्किनुमा नेताहरूको पदलोलुपता नै पहिलो कारण बन्न पुगेको छ ।

त्रिशंकु संसदको फाइदा तेस्रो दल माओवादीले उठाइरहेको छ । पहिलो दल कांग्रेस र दोस्रो दल एमाले माओवादीको पछि लाग्न बाध्य छन् । यस्तो अवस्थामा जनआकांक्षा सम्बोधन गदै सुशासन र समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउन कठिन छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीकै कारण देश अस्थिरताको भूमरीमा फस्दै गएको छ । प्रचण्डको अस्थिर स्वभावका कारण नयाँ गठबन्धनको भविश्यबारे समेत प्रश्न उठ्न थालिसकेको छ ।