Breaking

ओलीको ढोक्सामा अन्ततः सत्ता, देउवाले चालै पाएनन्, यसरी सम्भव भयो प्रचण्डको यूटर्न


काठमाडौँ – एमाले र काँग्रेसलाई गोटी बनाएर चाल्न सिपालु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि पनि सत्ताको खेलमा नायक करार भएका छन् । तर त्यसका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकै पापट बेल्नु प¥यो । जसले गठबन्धन भत्काउने ओली सफल भए ।

गतबर्षको पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्काएर प्रचण्ड काँग्रेसको ढोक्सामा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पर्नु पीर परेको थियो । गठबन्धन भत्किएकै भोलिपल्ट भक्कानिएर भाको छाड्दै ओलीले भनेका थिए, प्रचण्डले हातमा चक्कु लिएर फुल हो भनिरहे । मैले पनि पत्याईरहे । तर जनयुद्धका शहीद, बेपत्ता र योद्धाहरुलाई धोका दिइरहेका व्यक्तिले मलाई धोका दिनु के ठूलो कुरा भयो र । लगत्तै त्यसको जवाफ दिँदै बोलेका प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ओलीसँग सहयात्रा गरेको दुई महिनाभित्रै निकै तीतो अनुभव गर्नुप¥यो । अन्ततः म ठिक ठाउँमा फर्किए ।

काँग्रेसले प्रधानमन्त्री नदिएपछि पुस १० मा बालकोटको बार्दलीबाट हात हल्लाउँदै सपना पुरा भएको उद्घोष गरेका प्रचण्डले २ महिना नबित्दै फागुन १२ मा गठबन्धन फेरेका थिए । राष्ट्रपतिमा एमालेका होइन, काँग्रेसका रामचन्द्र पौडेललाई समर्थन दिने औपचारिक निर्णय भएपछि एमाले, गठबन्धन र सरकारबाट बाहिरिएको थियो । तर अहिले फागुनमा भत्किएको गठबन्धन फागुनमै जोड्न ओली सफल भएका छन् । विगतका तीता–मिठा भुलेर फेरि सहकार्यमा होमिने सहमति ओली–प्रचण्डले गरेका छन् ।

सत्ताको स्वाद यति चाँडै तितो र यति चाँडै मिठो हुने राजनीति गर्न सम्भवतः ओली–प्रचण्डलाई कसैले भेट्दैन । त्यसैले एकसाता अघिसम्म नालायक प्रधानमन्त्री भन्दै हिडेका ओली अहिले प्रचण्डलाई नायक बनाएर गठबन्धनको कमाण्ड सम्हाल्ने कोरियोग्राफरको भूमिका छन् । तर यो सफलता हात पार्न ओलीले गठबन्धन भत्किएको भोलिपल्टैदेखि पापट बेल्न सुरु गरेका थिए । गत बर्षको फागुनमा गठबन्धन भत्कियो । अब प्रचण्डबाट सम्भव छैन भन्ने बुझेपछि ओली काँग्रेस फकाउन केन्द्रीत बने । देउवालाई प्रधानमन्त्री नै बन्न आग्रह गरे । तैपनि देउवा ओलीको बाटो हिड्न तयार भएनन् । देउवालाई मात्रै फकाएर हुँदैन भन्ने बुझेपछि काँग्रेसकै अर्काे शेखर समूहलाई डो¥याएर हिड्न खोजे । कोशीमा शेखर पक्षले खडाका गरेका केदार कार्कीलाई ओलीले मुख्यमन्त्री बनाईदिए । तरपनि प्रचण्डको सत्ता ढाल्न शेखरलाई हातमा लिएर पनि सम्भव भएन । किनकि गठबन्धनप्रति देउवा बफादारमात्रै बनेपछि ओली असफलमात्रै बनिरहेका थिए । तर अहिले जसलाई सत्ताबाट घोक्रेठ्याक लगाएर निकाल्न गठबन्धन भत्काउन चाहन्थ्ये, उसैलाई हातमा लिएर समीकरण बनाउन ओली सफल भएका छन् । अर्थात् काँग्रेस र एमाले कुनै पनि हालतमा मिल्न सक्दैनन भन्ने अर्काे भाष्य स्थापित भएको छ भने, ओली–प्रचण्ड जुनसुकै बेला मिल्न सक्छन् भन्ने पुनः प्रमाणित भएको छ ।

तर यतिले मात्रै ओली–प्रचण्ड मिलन सम्भव भएको होइन । स्वदेशी शक्तिहरुलाई एक ठाउँमा थन्क्याएर हेर्ने हो भने विदेश शक्तिको चलखेलबिना सत्ता फेरबदल सम्भव छैन । यो शिलशिला फागुन आठदेखि सुरु भएको थियो । जुन दिन ओली–प्रचण्डबीच गोप्य रुपमा छलफल भएर समझदारी गर्दै सहमति गर्ने बाटो बन्यो । लगत्तै ओली–प्रचण्डकै सल्लाहमा एमालेका राजन भट्टराईसहितका नेताहरु भारत पसेको चर्चा छ । किनकि भारत ओलीसँग सहज छैन । विगतमा रअका प्रमुखसँग गरेको चार बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार नभएपछि भारतले प्रचण्ड बोक्न थालेको थियो । अहिले प्रचण्डकै सल्लाहमा ओली लचक भएपछि सहमति बन्यो । यता चीन बामगठबन्धन हितको सरकार बनाउने चाहनामा अडिग छ । त्यसका लागि माओवादीका देव गुरुङ, बर्षमान पुन र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु चीनसँग निरन्तर गृहकार्यमा थिए । जो अहिले सफल पनि भएका छन् ।
अब ओल हिजोसम्म चिन्दिन्न भएको समाजवादी मोर्चामा अपनत्व लिएर अघि आउनेछन् । प्रचण्ड पाँचै बर्ष प्रधानमन्त्री बन्नसक्छन् । ओलीकै सहमतिमा टीआरसी विधेयक पारित हुनेछ । राष्ट्रिय सभाको अध्यक्षसमेत माओवादीलाई दिएर जान ओली तयार रहेको नेताहरु बताउँछन् । अर्थात् ओली त्यागका लागिसमेत तयार भएका छन् । पुस १० को गठबन्धन आफ्नै कमजोरीका कारण भत्किएको हो भन्ने स्वीकार समेत ओलीले गरेको माओवादीहरु बताउँछन् । तथापी यो खेललाई धेरैंले अघाएकालाई हटाएर भोकाएकालाई सत्ताको स्वाद चखाउने प्रचण्डको घटिया राजनीतिक खेलका रुपमा विश्लेषण गरिरहेका छन् । जुन आफु नमरेसम्म उथलपुथल भइरहने प्रचण्डको भनाइ छ ।