Breaking

रविबारे बालेनको विश्लेषण यथार्थ सावित, प्रचण्ड–ओलीकै घोडा, विकल्पको ध्वाँस गृहका लागि मरिहत्ते


काठमाडौँ – ठूला भनिएका राजनीतिक दल र तिनका प्रभावशाली नेतालाई पाखा लगाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नागरिकले पहिलो प्रयासमा नै संसद्मा चौथो ठूलो शक्ति बत्रे टिकट दिए । जसका कारण सदनले रास्वपाबाट २१ जना नयाँ अनुहार पायो । तर, वैकल्पिक शक्ति भनेर आशा छरेको रास्वपामा पनि सत्ता मोह भने उही परम्परागत दलकोभन्दा कम देखिएन ।

जनताले ठूलो अपेक्षा राखेर सदनको चौथो ठूलो शक्ति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता लिप्त बनेको छ । रास्वपाले चालेको कदम जता शक्ति, उतै पार्टीको उपस्थिति जस्तो देखिन्छ । गत वर्षको पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको रास्वपा सभापति रवि लामिछानेकै कारण सत्ताबाट बाहिरियो । नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि सभापति लामिछानेले गृहमन्त्री पदबाट हात धुनु परेको झोकमा ४२ दिनमा नै सरकारबाट बाहिरिएको रास्वपा अब फेरि रातारात सडकबाट सत्तामा पुगेको छ । प्रतिपक्षी हुँदा सरकारमाथि सत्तो सराप गरेको रास्वपा प्रचण्ड नेतृत्व कै सरकारसँग ‘ज्यूहजुरी’ गर्दै चार मन्त्रालयको फर्माइस गरिरहेको छ । चारमध्ये गृह, शिक्षा र स्वास्थ्य निश्चित भइसक्दा अहिले पार्टी उपसभापति डोलप्रसाद उर्फ डीपी अर्यालले बिना विभागीय मन्त्रीको शपथ लिइसकेका छन् ।

विगतमा पनि गृहमन्त्रालयकै पछि लागेका रवि अहिले पनि सरकारमा सामेल हुँदा आफूले गृह पाउनै पर्ने सर्त राखिरहेका छन् । जसमा प्रचण्डले गृह छोड्न नमान्दा ओलीले प्रतिबद्धता जनाएका थिए । पहिले पनि ओलीकै बुई चढेर गृहमन्त्रीको स्वाद चाखेका रविले यसपटक पनि ओलीकै भरमा सत्तामा सामेल भएका हुन् । चार वर्ष एमाले, कांग्रेस, माओवादीलगायत सबै दललाई मिलेर बेथितिलाई सुल्झ्याउने अन्तिम अवसरको रूपमा प्रयोग गर्न सुझाव दिएका रविले आफू एक्लै प्रतिपक्षीको मोर्चा सम्हाल्ने बताएका थिए । २०८४ अघि कोही कसैसँग नमिल्ने र ठूला दललाई आफूविरुद्ध गठबन्धन गर्न भनेका रवि नै अहिले त्यही कार्यशैली, चरित्र र गन्तव्यको एउटै सटरमा थुप्रिएको गठबन्धनमा मिसिएका छन् । आइतबार ओली प्रचण्डसँग अबेर रातसम्म बन्द कोठामा बसेका उनले माओवादीसँगको सबै तिक्तता भुलेका छन् । बाचुञ्जेल नै नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री खान अपिल गरेका रविले आफू गठबन्धन र गृहमन्त्रीको रेसमा नभएको बताउने गरेका थिए ।

गत पुस ९ गते दबाव यात्रामा निस्कनु अघि रास्वपा सभापति लामिछानेले दिएको यो अभिव्यक्तिले त्यसको ठ्याक्कै ७० दिन पछि अर्थात् सोमबार रास्वपाले चालेको कदमले रविलाई नै गिज्याइरहेको छ । नागरिकता विवाद सल्टिए पनि सहकारी विवादमा मुछिएका उनले फेरि पनि स्वार्थ बाझिने गृह नै रोज्नुले नियतमा प्रश्न उठाउने ठाउँ दिएको छ । निर्वाचनबाट आशाको केन्द्र बनेर आइसकेपछि रास्वपा सत्ता पक्ष भन्दा प्रतिपक्षीमा बस्नु पर्ने जनआवाज ठूलो थियो । त्यसलाई लत्याएर सत्तामा आकर्षित भएको पार्टीलाई अझै पनि सत्ताको नशा उत्रिएको छैन । राजनीतिक विश्लेषक र अधिकांश रास्वपाका शुभचिन्तकहरु फेरि पनि उही प्रचण्ड, ओलीसँग हात मिलाएर सरकारमा जानुभन्दा बाँकी ४ वर्ष प्रतिपक्षमा बसेर जनताको आवाज बत्रु पर्ने तर्क गर्छन् ।

त्यसो त रविलाई सत्ता बाहिर नै बस्न चौतर्फी दबाव छ । स्थापित र परम्परागत दलको विकल्प भनेर जनतामाझ गएको रास्वपा लड्नु पर्ने तिनै पार्टीसँग टासिँदा जनतामा रविको छवि पनि धुमिलिने पक्का छ । नयाँ दलहरू पनि सत्ता कै लागि मात्रै मरिहत्ते गरेर लागिपर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नयाँ र पुराना सबै चोर नै भएको दाबी गरिरहँदा रविको यस्तो कदमले यसलाई पुष्टि गर्न थप जोडबल पुगेको छ । रविमा पनि पुराना दलका नेताकोभन्दा सत्ता मोह कम देखिएन । आशाको केन्द्र बनेका उनीहरु पनि सत्ताको पछि लाग्दा जनता फेरि निराश बन्ने निश्चित छ । सत्ताकै लागि जनताबाट प्रचण्डको कित्तामा हाम फालेका हुन् भने विकल्प भनिएकाहरुको पनि विल्कप खोज्नु पर्ने अवस्थालाई झनै बल मिलेको छ । यद्यपि, फेरि सत्तामा हाम फालिसकेका रवि पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानकै अवस्थामा नपुग्लान् ?