Breaking

प्रचण्डको नजर कांग्रेस र राप्रपा उस्तै, हिन्दु धर्म बोक्ने जनयुद्धलाई ठोक्ने ? दोबाटोमा माधव–झलनाथ


काठमाडौँ – प्रतिक्रियावादीले उपयोग गर्न खोजेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई लात्तले हानेर निस्किएका छन् । फलतः एमाले–माओवादी नयाँ गठबन्धन बन्दा कांग्रेस फेरि प्रतिपक्षीमा पुगेको छ । जहाँ प्रष्ट देखिने प्रतिपक्ष राप्रपा बन्दा कांग्रेससँगको कित्ताकाट भने त्यति सहज देखिँदैन । आखिर नयाँ सिराबाट अघि बढेको राष्ट्रिय राजनीति र प्रतिपक्ष बनेको कांग्रेससँग नछुट्टिने गरेर रहेको नाता कस्तो छ त ?

आफू जीवित रहुँन्जेल उथलपुथल कायम राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उद्घोषले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । एमालेसंग काम गर्न नसकेको भन्दै कांग्रेस रोजेका उनले एक वर्षपछि ‘कम्फरटेबल फिल’ नगरेपछि कांग्रेसलाई धोका दिएका छन् । जसले नयाँ सत्ता समीकरण बन्दा यो सरकारमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेटिएका छन् । जनमतले केही सर्त राख्दा जनता समाजवादी पार्टीले आन्तरिक छलफल गर्ने बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफू आन्दोलनमा रहेको भन्दै प्रतिपक्षी बन्ने बताएको छ । तर, काठमाडौंमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि पर्ने निश्चित छ । केन्द्रमा पनि कहिलेसम्म एमालेले बोक्छ भन्ने प्रश्न व्याप्त रहँदा कस्तो प्रमुख प्रतिपक्ष बन्ने भनिएको कांग्रेस कहिकतै भने सत्तासँग जोडिरहने छ । प्रदेशतर्फ हेर्दा कोशीमा कांग्रेसलाई चलाए मध्यावधिको विकल्प छैन । यही बाध्यताले विभिन्न बहानामा कोशीमा पुराना दलहरु एक ठाँउमा उभिएका थिए ।

जसले कांग्रेसभित्रको गठबन्धन विरोधी आवाजको दृश्यलाई खास आकृति दिँदा तत्कालीन गठबन्धनको भविष्यमाथि प्रश्न सुरु भएको थियो । उता गण्डकीमा पनि नयाँ सत्ता समीकरण बनाउन एमाले र माओवादी केन्द्रलाई सहज छैन । ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद छन् । एमाले र माओवादीको संख्या बहुमतका लागि आवश्यक ३१ पुग्दैन । यता माओवादीलाई हटाउन सक्ने हैसियतमा कांग्रेस त रहने नै भएन । यी बाध्यताले प्रदेशमा कांग्रेस सत्तारुढ नै बन्ने सम्भावना बलियो छ । यस्तै श्रीमतीको मन्त्री पद गएपछि केन्द्रमा होइन सुदूरपश्चिमा मुख्यमन्त्री मागिरहेका रेशम चौधरीको हठले नागरिक उन्मुक्ति पार्टी के बन्छ त्यो पनि अहिले नै निश्चित छैन ।

नयाँ गठबन्धनको रुपरेखा तयार गर्दा नै राजावादीलाई नबोकौँ भन्नेमा प्रचण्ड ओली छन् । फलतः राप्रपालाई नसमेट्नेमा उनीहरु पुग्दा ओलीको झापाको चुनावसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको सम्बन्ध जोडिएको छ । त्यस्तै केन्द्रमा पनि प्रचण्डलाई ओलीले कहिलेसम्म बोक्छन् भन्ने प्रश्न छ । ओलीले प्रचण्डको काँध छोडेकै दिन संसदको ठूलो दलको हैसियतमा सरकारमा जाने पालो कांग्रेसकै हुनेछ । यद्यपि उसले पनि एमाले र माओवादीमध्ये एक बोक्नुको विकल्प छैन । नत्र देश यसअघिबाटै ओलीले भन्दै आएको मध्यावधितर्फ उन्मुख हुने पक्का हुँदा प्रचण्डले चाहेको राष्ट्रिय सरकार नबन्ला भन्न सकिँदैन । यता संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने कुरामा भाजो हाल्न थालेको कांग्रेसले सत्ता र प्रतिपक्ष मिलेर जानुपर्ने धेरै विषयहरुमा सहज हुन दिने छैन । मुख्य कुरा त के कारणले ओली प्रचण्ड मिल्छन् ? र भन्ने पक्का नभएको अहिलेको अवस्थामा माधवकुमार नेपाललाई कसरी समेट्ने प्रश्न छ ।

यद्यपि अबको गठबन्धनबाट इलाम २ मा झलनाथ खनाललाई उम्मेद्वार बनाएर प्रचण्डले अर्को कदम चाल्न सक्ने अवस्था छ । त्यस्तै समाजवादी मोर्चामार्फत दवाव बढाउने र वृहत्तर वाम एकताका लागि नेत्रविक्रम चन्द विप्लवलाई प्रयोग गर्ने प्रचण्डको तयारी हुनसक्छ । यता नेपाली राजनीतिको मियोका रुपमा स्थापित हुँदै जाने प्रचण्डको व्यक्तित्व पचाँउन ओलीलाई कम समस्या नहुने पक्का हुँदा प्रचण्डले भनेकै अवस्था अर्थात एकले अर्कालाई वेवास्ता नगर्ने अवस्थामा राष्ट्रिय राजनीतितर्फ उन्मुख त भएको हैन भन्ने पनि चर्चा छ ।

अहिलेसम्म हेर्दा राप्रपा र कांग्रेसलाई बाहेक सबैलाई सत्तामा समेट्ने बाटोमा ओली प्रचण्ड छन् । जनमत र जसपाको भिडन्तले यीमध्ये एक दल प्रतिपक्षमा पुग्ने सम्भावना धेरै छ । यसको अर्थ अस्थिर अंक गणितको मारबाट यो समीकरण पनि माथि उठ्न नसक्ने पक्का हुँदा यसले मध्यावधिको बाटो तय नगर्ला भन्न सकिँदैन । अर्कातर्फ एमाले र माओवादी एक ठाँउमा उभिनु दोश्रो तहको नेताको सफलताका रुपमा हेरिँदा प्रचण्ड ओलीको ईगो भन्दा माथि उठेर नयाँ राजनीतिक दृश्य देखिन सक्ने सम्भावना पनि छ । यदि त्यसो भए दुई धारको प्रष्ट धुव्रीकरण हुने देखिँदा कांग्रेस सधैँको प्रतिपक्ष नबन्ला भन्न सकिँदैन ।