Breaking

लिखुपिकेमा तितेपातीसहितका कच्चा पदार्थबाट साबुन उत्पादन हुँदै (फोटोसहित)


काठमाडौँ – सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका-१ मा तितेपाती, मह, दूध, स्याउ, सुन्तला, लालीगुराँस प्रयोग गरेर अर्गानिक नुहाउने तथा मुख धुने साबुन उत्पादन थालिएको छ ।

परम्परादेखि स्थानीयले तितेपातीलाई जडिबुटीको रूपमा प्रयोग गर्ने गरे पनि अहिले भने तितेपातीलाई प्रशोधन गरेर साबुन उत्पादन सुरू गरिएको हो ।

उद्यम विकास शाखा लिखुपिकेको आयोजनमा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मेड्पाको आर्थिक लगानीमा स्थानीय स्तरको कच्चा पदार्थबाट साबुन उत्पादन सम्बन्धि तालिम दिएको हो । तालिमसँगै गाउँमै साबुन उत्पादन गर्न थालिएको स्थानीय आङ देण्डी शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

परम्परादेखि स्थानीयले तितोपातीलाई जडिबुटीका रूपमा प्रयोग गर्दै आए पनि साबुन बनाउन सकिन्छ भन्ने कुरा तालिमपछि मात्रै थाहा भएको शेर्पाले बताउनुभयो ।

गाउँमै पाइने तितेपाती र अन्य कच्चापदार्थबाट साबुन उत्पादन गर्न सकेमा रोजगारी सिर्जना हुने र आयआर्जन पनि सहज रूपमा गर्न सकिने भएकाले साबुन उद्योगका लागि सम्बन्धित निकायले ध्यान दिन जरूरी रहेको शेर्पाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गाउँपालिका क्षेत्र पाइने कच्चापदार्थ प्रयोग गरेर साबुन उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको र त्यसको लागि अहिले उत्पादन भएका साबुनको गुणस्तर जाँच भइरहेको बताउनुभयो ।

गुणस्तर जाँचपछि गाउँपालिकाले साबुन उत्पादनलाई व्यवसायिक रूपमै अगाडि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गाउँमै व्यवसायिक रूपमा साबुन उत्पादन गरेर जिल्लामा साबुन आयातलाई निरूत्साहित गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको वडाअध्यक्ष मिङमार गेल्जे शेर्पा बताउनु भयो ।

गाउँमै व्यवसायिक रूपमा साबुन उत्पादन गरेर जिल्लामा साबुन आयातलाई निरूत्साहित गर्ने लक्ष्य रहेको शेर्पा बताउनु भयो ।