Breaking

प्रचण्डको दुवै हातमा लड्डु, ओली–देउवा खेलाउँदै, गठबन्धनको संकट टरेकै हो ?


काठमाडौँ – सत्ता समीकरण परिवर्तन हुन लागेको चर्चाका बिच सबैभन्दा बढी नेपाली कांग्रेस झस्किएको छ । फाइदामा भने माओवादी छ । अहिले आफ्नो सत्ता टिकाउन कांग्रेस र सत्ताको पुनरागमनका लागि एमालेको तानातानमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् ।

सत्ता समीकरण फेरबदलको चर्चाका बिच शुक्रबार प्रधानमन्त्री र पाँच पूर्वप्रधानमन्त्रीहरु एकै मञ्चमा उभिए । जबजब कांग्रेससँग प्रचण्डको सम्बन्ध बिग्रिन्छ । तबतब प्रचण्डले एमाले कार्ड फाल्ने गरेका छैनन् । यसपटक त्यो कार्ड प्रयोगले दिने नतिजा नजिक माओवादी पुगेको विश्लेषण छ । त्यसको पुष्ट्याईं ओली–प्रचण्ड बाक्लिदो हिमचिमले पनि देखाउँछ । अरु समय कांग्रेसप्रति सदासयता राख्ने एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डसँगको हिमचिमपछि कांग्रेसप्रति गरम बन्न थालेका छन् । चितवनमा शुक्रबार ‘भरतपुर भ्रमण वर्ष’को उद्घाटन समारोहमा पनि त्यसको छनक देखिन्थ्यो । ओली–प्रचण्ड थप नजिकिन नदिन शेरबहादुर देउवाले माधव नेपाललाई हिजै भरतपुर पठाएका थिए । उनी त्यहाँ पुगेपछि ओली नजानेसमेत भनिएको थियो । तर, अन्ततः आफ्नो मन्तव्य सुरुमै राखेर ओली निस्किए । मञ्चमा सँगै बसेका माधव र देउवासँग हात नमिलाएका ओलीले प्रचण्ड र झलनाथ खनालसँग भने सुमधुर सम्बन्ध रहेको स्पष्ट सन्देश दिए । यी सबै गतिविधि हेर्दासमेत एमाले–माओवादी निकै घनिष्ट भइसकेको पुष्टि हुन्छ । तर कांग्रेस भने गठबन्धन यथावत् रहनेमा ढुक्क छ । चितवनमा प्रचण्ड र माधवलाई साक्षी राखेरै देउवाले गठबन्धन यताउता नहुने ठोकुवा गरे ।

आखिर कम्युनिस्ट एकताको बलियो आधार बनिरहँदा पनि गठबन्धन टिक्नेमा कांग्रेस किन ढुक्क छ त ?
अहिले राष्ट्रिय सभा अध्यक्ष र मन्त्री हेरफेरमा देउवा र प्रचण्डको असहमति छ । कांग्रेसले राष्ट्रिय सभामा पूर्वसहमति अनुसार नै अध्यक्ष पाउनुपर्ने बताइरहँदा कोशीमा पाएको धोकाको बदला माओवादीले लिन खोजिरहेको छ । त्यसबाहेक कांग्रेस महासमितिमा प्रस्तुत प्रतिवेदनहरुमा पनि माओवादीले असन्तुष्टि जनाएको छ । तर मुखैमा आएको प्रधानमन्त्री छाड्न तयार नरहेका देउवा माओवादीले असहमति जनाएका सबै विषयमा सम्झौता गर्न तयार रहेको संकेत गरेका छन् । यत्तिका समयसम्म मन्त्री फेरबदलबारे चुप देउवाले बिहीबार साँझ बुढानीलकण्ठमै उपसभापति र महामन्त्रीहरुको बैठक डाँके । बाहिर आएजस्तो प्रधानमन्त्री र आफूबीच दूरी नरहेको ब्रिफिङ गरेका देउवा प्रचण्डको चित्त बुझाउनकै लागि भए पनि केन्द्रीय कार्यसमितिबाट प्रतिवेदन परिमार्जन गर्ने मूडमा देखिएका छन् । यस्तै राष्ट्रिय सभा अध्यक्षबारे पूर्वसहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको देउवाले बताए पनि गठबन्धन फुटकै नजिक पुगिहाले अध्यक्ष पद छाड्न तयार रहेको संकेत गरेका छन् । बिहीबारै प्रचण्डले कार्यसम्पादन ठिक नभएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई झपारेका थिए । पदाधिकारीहरुसँगको छलफलमा पनि देउवा मन्त्रिमण्डल पुनर्गठन गर्न सहमत भएको बुझिएको छ । स्रोतका अनुसार अब मन्त्रीको टिम परिवर्तन गर्दा माओवादीले अर्थ र कांग्रेसले गृह लिने गरी साटफेर गर्ने लगभग सहमति भइसकेको छ । प्रचण्ड भने राष्ट्रिय सभामा आफ्नो पार्टीको दाबी रहनुुलाई कांग्रेसले दिएको धोकाको रुपमा अथ्र्याउँछन् ।

उता माधव नेपाललाई देखि नसहने ओली भने चितवन नजाने मूडमा रहेकै कारण नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको महाधिवेशन उद्घाटनमा गएको विश्लेषण भएको थियो । तर मन्तव्य दिन एकछिनकै लागि भए पनि ओली चितवन पुगेका थिए । चितवनमा गठबन्धनबारे मुख नखोलेका ओलीले माधव नेपाल प्रधानमन्त्री हुने सहमतिबारे कटाक्ष गरेका थिए । त्यतिमात्र नभई जुनसुकै बेला जो कोहीको सरकार बन्न सक्ने ओलीले बताएका थिए ।

राष्ट्रिय सभाको अध्यक्षलगायत गठबन्धनमा देखिएको विवाद समाधानमा प्रचण्ड–देउवा एक अर्काले मिलाउनेमा ढुक्क रहँदा त्यसमा खेल्ने मौका एमालेले पाइरहेको छ । तर कांग्रेस माओवादीप्रति उदार देखिँदै गए एमाले फेरि खाली हात हुने पक्का छ ।