Breaking

प्रचण्ड सरकारको बिन्ती पुटिन सरकारले सुनेन, आश्वासन बाँड्दै मन्त्री, आफन्तले आशै मारे


काठमाडौँ – नेताहरूले समृद्धिको नारा लगाइरहँदा देशमा भविश्य नदेखेर विदेशिने युवाको संख्या बढ्दो छ । गैरकानुनी बाटोबाट पनि नेपाली युवा विदेशी भूमिका पुगेका छन् । रुस–युक्रेन युद्धमा नेपाल सामेल नभए पनि रुसी सेनामा नेपाली गैरकानुनी रुपमा भर्ती भएका छन् । युद्धमा बढ्दो मानवीय क्षति चिन्ताको विषय बनेको छ । कतिपय नेपालीको मृत्यु भएको छ भने केही युद्धबन्दी छन् । उद्दार र राहतका लागि सरकारमाथि चौतर्फी दबाब परे पनि सरकारी पहल निरर्थक बनिरहेको छ ।
व्यथिति र भ्रष्टाचारका कारण देशभित्र बेरोजगारको समस्या व्यापक छ । सामाजिक न्याय, सुशासन र समृद्धि नेताहरूको भाषणको विषय मात्रै बनेका छन् । देशभित्र रोजगारी छैन, स्वरोजगार बन्ने वातावरण पनि छैन । त्यसैले नेपाली नौजवान युवाहरू विदेशिने क्रम बढ्दो छ । गैरकानुनी रुपमा समेत नेपालीहरू विदेशी भूमिका पुगिरहेका छन् ।

जोखिमपूर्ण रुस–युक्रेन युद्धमा समेत नेपालीहरू सामेल भएका छन् । रुस र युक्रेनसँग नेपालको कूटनीतिक सम्बन्ध छ, यो युद्धमा नेपाल सामेल छैन । तर, नेपालीहरू भने युद्धको पहिलो पंक्तिमा छन् । युद्धमा सामेल कतिपय नेपालीको मृत्यु भइसकेको छ भने केही युद्धबन्दी छन् । जसले गर्दा नेपालमा रहेका उनीहरूका परिवारलाई बेचैन बनाएको छ । पीडितका सदस्य मन्त्री, प्रधानमन्त्रीदेखि दूतावाससम्म धाइरहेका छन् । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको उजुरी परेको छ । भर्ती भएकामध्ये केहीको मृत्यु भएको रुस सरकारले नै जानकारी गराइसकेको छ । तर, नागरिकको जीवन रक्षाका लागि सरकारले ठोस पहल गर्न सकेको छैन ।

अध्ययनका लागि इजराइल गएका दश जना नेपाली विद्यार्थीले युद्धको चपेटामा परी अनाहकमा ज्यान गुमाउनु प¥यो । युद्धसँग कुनै साइनो नै नभएका अर्का एक विद्यार्थी अझै बेपत्ता छन् । युद्धग्रस्त भूमिमा रहेका नेपाली युवाहरूलाई उद्धार गर्नुको साटो आफूले प्रक्रिया मिलाइरहेको भन्दै सरकारले लामो समयदेखि लाचारीपन देखाउदै आएको छ ।

युद्धग्रस्त विदेशी भूमि बचाउन आफ्नो ज्यानको बाजी थाप्न तयार नेपाली युवाको तथ्यले देशको अवस्था उदाङ्गो पार्छ । परिवर्तनको सुनौलो सपना देखाएर दशक लामो युद्ध लडेका प्रचण्ड हाल देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको कुर्सीमा छन् । प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगेको यो तेस्रो पटक हो । त्यसकारण सिक्दैछु भन्ने छुट उनलाई छैन । त्यसमाथि प्रचण्ड आफैँले तेस्रो कार्यकालमा जनताले सम्झनलायक काम गर्ने प्रतिवद्धता जनाएका थिए । तर, देशमा बेरोजगारी, बेथिति र भ्रष्टाचार कायमै छ । हिजो कुनै पनि शक्ति राष्ट्रको उपनिवेशमा नपरेको नेपाली माटोमा जन्मिएका सन्तानहरू आज आफ्ना सन्ततिको सुन्दर भविष्यको लागि मरूभूमि र युद्धभूमिमा जान विवस छन् । नागरिक युद्धग्रस्त भूमिमा जाँदा पनि टुलु—टुलु हेरेर बस्नु नेपालको कूटनीतिक कमजोरी भएको कुटनीतिज्ञहरूले औल्याएका छन् ।

देशमा पढे लेखेकाहरू पढाइकै नाममा सम्पन्न राष्ट्रमा जान लाइन लागिरहेका छन् । जीवन धान्नकै लागि संघर्ष गरिरहेकाहरू मरूभूमि र युद्धभूमिमा सपना देखिरहेका छन् । देशभित्रै रोजगारीको वातावरण बनाउने हो भने ज्यानको बाजी थापेर कोही पनि मरुभूमि र युद्धभूमिका जान चाहदैन । तर, सरकारको ध्यान सत्ता जोगाउनमै केन्द्रित छ । सुन्दर भविश्यको सपना बोक्दै विदेशी भूमिका पुगेका नेपाली युवाले अकालमा ज्यान गुमाउन बाध्य हुँदासमेत सरकार रमिता हेरेर बसिरहेको छ ।