राजनीति

चौतर्फी घेराबन्दीमा प्रचण्ड, दागी मन्त्री नै हाबी, देउवाको ‘इग्नोर’मा ओलीको ढाडस (भिडियोसहित)


काठमाडौँ— गठबन्धनको भरथेगमा सत्ता सम्हालेको १४ महिना बित्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी घेराबन्दीमा छन् । सडकदेखि सदनसम्मै विरोध नै विरोधको सामना गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई अहिले पार्टीकै नेताहरुले पेल्न थालेका छन । कसैगरी सत्ता टिकाउने ध्याउन्नमा रहेका प्रचण्डले सडक र सदनको सकसलाई सुल्झाउन सक्लान् ?

प्रतिपक्ष दलको धम्की, संसदको ठूलो दल भएकै कारण सत्ता साझेदार कांग्रेसको हेपाई त छँदैछ सत्ता साझेदार साना दलकोसमेत घुर्की खेप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्रीत्व कालको १४ महिना बिताए । १४ महिना बित्दै गर्दा संसदमा प्रतिपक्ष, सडकमा व्यवस्था विरोधी र न्याय माग्न संघीय राजधानी काठमाडौं आएका मिटर ब्याज तथा लघुवित्त पीडितको निसानामा प्रधानमन्त्री प्रचण्ड छन् । चौतर्फी विरोध र घेराबन्दीमा परेका प्रधानमन्त्री प्रचण्डले संसद र सिंहदरबार लाइलनको डोरीले जोगाए पनि बालुवाटारमा कतिन्जेल जोगिने हुन् ? अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
लघुवित्त, मिटरब्याजपीडितहरू निरन्तर प्रदशर्नमै छन् । सरकारले गत वर्ष नै मिटरब्याजपीडितका लागि कानुन मात्र बनाएन, उच्चस्तरीय आयोग गठन गरेर न्यायिक निरुपणको प्रयास नै थाले पनि उक्त समस्या समधान हुन सकेको छैन । मिटरब्याज र लघुवित्त पीडितकै भरमा दुर्गा प्रसाईं जस्ता पात्रहरुको आन्दोलन जारी नै छ । सहकारी पीडितहरुको समस्या अझै सुल्झिएको छैन । राजावादीहरु व्यवस्था नै बदल्ने भन्दै सडक आन्दोलनमा छन् । यी बाहेक पनि अनेक मागसहित सडकमा आउनेको जमात बढ्दो छ ।

राजेन्द्र लिङदेन नेतृृत्वको राप्रपाले ४० बुँदे मागसहित सडक आन्दोलन गरिरहेको छ । ठूला भ्रष्टाचार प्रकरण, सुशासन, राजनीतिक अराजकताविरुद्ध प्रतिपक्ष एमाले पनि सडक आन्दोलनको तयारीमा छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित प्रतिपक्ष कित्ता सदनमा सरकारको विरोधमा छ । मुलत राजनीतिक वेथितिविरुद्ध आफूहरुले उठाएको प्रश्नको जवाफ र विवादित मन्त्रीहरुको राजीनामा माग्दै प्रतिपक्षले सदनमा दिनहुँ जसो नाराबाजी गर्दै आएको छ । प्रधानमन्त्रीको तेस्रो इनिङ सुरु गर्दैगर्दा सदनमा सर्वाधिक बहुमत पाएका प्रचण्ड अहिले सदनमा एक्लो वर बनेका छन् । उनले न त सदनमा जवाफ दिन सकेका छन्, न त मन्त्री फेर्न नै । सांसदहरुको विरोध र अल्टिमेटम, सभामुखको रुलिङका कारण सदनमा सरकार संकटमा छ । ठूला भ्रष्टाचार प्रकरण र काण्डहरुमा मुछिएका मन्त्रीहरुको राजीनामालाई प्रतिपक्षले अल्टिमेटमसहित दबाब दिएपछि सदन निरन्तर अवरोध हुँदै आएको छ ।

प्रतिपक्ष कित्ता मात्र होइन सत्तारुढ दलकै सांसदहरुले समेत सरकारको तीव्र आलोचना गरिरहेका छन् । फलतः निरीह प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षको स्वार्थले सदनको कार्यतालिका नै लथालिङ बनेको छ । सदन एक प्रकारले बन्धक बनेको छ । सत्ता साझेदार कांग्रेसले नमान्दा प्रधानमन्त्री प्रचण्ड मन्त्री फेरबदल गर्न असफल भएका छन् । मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा नै बाधक बनेका छन् । गठबन्धनभित्र सहमति नजुट्दा प्रचण्डमाथिको पेलान निरन्तर बढ्दो रुपमा छ ।

गठबन्धनकै नेताहरुले प्रचण्डलाई पत्याउन छाडेका छन् । गठबन्धनमा सन्तुलन कायम गर्न थप सकसको अवस्था छ । अर्कोतर्फ माओवादीभित्रै प्रचण्ड घेर्ने दस्ता बढ्दै गएको छ । चुनावी गठबन्धन गरेको कांग्रेसलाई धोका दिएर ओलीको साथले सत्तारोहण गरेका प्रचण्ड अहिले पुनः ओली कार्ड प्रयोग गर्दै देउवा गलाउने रणनीतिमा लागेका छन् । तथापि, तत्काल संकट सुल्झाउन प्रधानमन्त्री प्रचण्डका लागि सहज भने छैन ।