Breaking

प्रभु बैंक गम्भीर संकटमा, सेन्चुरीले डुबायो, अर्बौंको घोटालामा CIB को प्रमाण, ११ जना फन्दामा


काठमाडौँ – ऋण प्रवाहमा अनियमितता गरी बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सीआईबीले प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी निर्देशक मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुले धितोले धान्न नसक्ने कर्जा दिएर बद्मासी गरेका थिए ।

बैंकहरु डुब्दैछन् भन्ने हल्ला चलिरहेकै बेला बैंककै चल्तापूर्जा सीईओहरुलाई सीआईबीले पक्राउ गरेपछि हल्ला होइन, हुण्डरी, आँधी आउने संकेत देखापरेको छ । बैंकहरुभित्र निक्षेपकर्ताको बचत रकममाथि कुन हदसम्मको बदमासी भइरहेको छ भन्ने एकपछि अर्काे नमुना देखा पर्दैछन् । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी निर्देशक मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक तुलसीराम गौतमसहितका ११ जनालाई यस्तै कसुरमा पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरि सीआईबीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

हामी सरकारी वकिलको कार्यालयमा पुग्दा सीआईबीले म्याद थपका लागि आरोपीहरुलाई एकसाथ हाजिर गराएको थियो । सीआईबीले अदालतबाट अनुमति लिएर हिरासतमा राखी अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकको रकम अस्वभाविक ढंगबाट हिनामिना गरेको तथ्य फेला परेपछि पूर्व बैंकर र बहालावाला बैंकर नै पक्राउ परेका हुन् ।

के हो विषय ?

अहिले पक्राउ परेका मनोज न्यौपाने र तुलसीराम गौतम दुवैजना सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । जुन बैंक मर्जर भएर अहिले प्रभु बैंकमा गाभिएको छ । त्यसपछि मनोज प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ भएर एक चल्तीका बैंकरको रुपमा छन् । तुलसीराम भने अवकाश पछिको जीवन बाचिरहेका छन् । तुलसीरामको अवकाश पछि नै मनोज सीईओ बनेका थिए । तर यिनीहरुले सेन्चुरी बैंकमै हुँदा मच्चाएको काण्डले अहिले कठघरा उभिन बाध्य पारेको छ ।

यी दुवैजनाले सेन्चुरी बैंकको सीईओ हुँदा कमसल धितोमा क्षमताभन्दा बाहिर गएर कर्जा प्रवाह गर्ने काम गरेका थिए । अर्थात् त्यसबाट आएको हिस्साले आफ्नो गोजी भर्थे । जुन कुरा देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईँ पक्राउ परेपछि द्रुतगतिमा खुल्दै गएको हो । किन कि यिनीहरुले क्षमताभन्दा बढी ऋण दिएका पात्र नै रविन्द्र चौलागाईँ हुन् । उनी बचतकर्ता र बैंकको गरी ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा असोज १८ गते नै पक्राउ परेका थिए । चौलागाईँ र उनकी श्रीमती पूजा खत्रीसहितका आफन्तीको नाममा खडा भएका कम्पनीहरुलाई यी दुवैजनाले सेटिङ मिलाएर धमाधम ऋण प्रवाह गरेका थिए । मानौं बैंकको रकम यिनीहरुको पैत्रिक सम्पत्ति हो । जो आफूले चाहेको खण्डमा जसलाई जति दिए पनि हुन्छ ।

मनोज र तुलसीरामको मिलेमतोमा देउराली सहकारीका रविन्द्र चौलागाईंले ५० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोडभन्दा बढी ऋण लिएका थिए । जुन कुनैपनि हालतमा धितोले थाम्न सक्ने ऋण होइन । यसै पनि धितोका ४० प्रतिशतमात्रै बैंकहरुले ऋण दिने व्यवस्था छ । सामान्यतः एक करोडको धितो राख्दा पनि ४० लाखमात्रै ऋण पाइन्छ । तर यहाँ त सीईओको सेटिङमा मात्र ५० करोड धितो राखेर २ अर्ब २५ करोड ऋण प्रवाह भएको प्रारम्भिक निष्कर्ष सीआईबीले निकालेको छ । यसबापत उनीहरुले कति पैसा बुझे, त्यसको पनि पक्कै अनुसन्धान होला । र सेन्चुरी बैंक प्रभुमा गाभिएपछि कर्मचारी पनि यतै आएका थिए, उनीहरुको यो धन्दा प्रभुमा पनि चलेको आशंका छ । जुन विषयमा पनि अनुसन्धान हुनुपर्छ । किन कि अहिले पक्राउ परेका ११ जनामध्ये ५ जना बहालवाला कर्मचारी हुन् ।

मनोज र तुलसीरामसँगै पक्राउ पर्नेको सूचीमा सविन श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सुभाष श्रेष्ठ, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ छन् । जो मनोजसँगै प्रभु बैंकमा आएका थिए । यसमध्ये मनोज, दिलिप, दिपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन् भने बाँकीले अवकाश लिइसकेका थिए । अहिले पनि प्रभु बैंकभित्र यो गिरोहले कुन हदसम्मको बद्मासी गरेको छ होला ? अबको खोजी यसमा हुनेछ ।