Breaking

अस्ताए नेपाली संगीतका नक्षत्र, सत्य–स्वरुपले नचाहेको सत्य, प्रचण्ड र ओलीको श्रद्धाञ्जलि


काठमाडौँ – नेपालले नेपाली संगीतका एक जीवित इतिहास भक्तराज आचार्यलाई गुमाएको छ । भजन शिरोमणिको सम्मान पाएका ८१ वर्षीय गायक, संगीतकार तथा गीत रचनाकार भक्तराज आचार्यको निधनले नेपाली संगीत र कला क्षेत्रमाथि अपुरणीय क्षति पुगेको छ भने एक अभिभावकको अन्त्य भएको छ ।

मृत्यु सत्य हो । तर, त्यही सत्य स्वीकार्न भक्तराज आचार्यका दुई छोराहरु सत्य र स्वरुपलाई मात्रै होइन, सिंगो संगीत जगत्लाई नै कठिन परेको छ । संगीत र साधनाबाटै स्थापित भएका स्वर्गीय भक्तराज आचार्यले कालजयी गीतहरुमा स्वर भर्नु भएको थियो । तर, यही कर्णप्रिय स्वरको धनी अब नेपालीको सम्झनामा मात्रै रहने छन् । वरिष्ठ गायक तथा संगीतकार आचार्यले ८१ वर्षको उमेरमा आफ्नो देहत्याग गर्नु भएको छ । कालजयी गीत गाउनुभएका आचार्यले सोमबार अपरान्ह ४ बजे अस्पताल लैजाने क्रममा आफ्नो इहलीला समाप्त गर्नुभएको हो । उहाँको निधनपछि मंगलबार पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । आम सर्वसाधारणदेखि पूर्वप्रधानमन्त्रीहरू, विभिन्न कलाकर्मी र राजनीतिज्ञहरूले पार्थिव शरीरमा फूलमालासहित पुष्पगुच्छा अर्पण गर्दा आचार्यको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढ्याएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । आफ्नो संगीत र गायनमार्फत नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएर ब्रह्मलिन हुनुभएका आचार्यलाई नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पणसहित बिदा गरेको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटसम्म पुगेका संगीतकर्मीका साथै उहाँका शुभचिन्तकहरूले आचार्यकै स्वरमा सुसज्जित गीत गाएर बिदाई गरेका थिए

आचार्यको निधनले कुनै एक व्यक्ति, परिवार वा समुदायलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै अपुरणीयण क्षति पुगेको छ । आफ्नो जीवनकालमा नेपाली गीत संगीतमा मात्रै नभई आध्यात्मिकतामा पनि समर्पित भएर थ्रुपै भजन सुम्पिनु भएका उहाँले भजन शिरोमणिको उपाधिसमेत प्राप्त गर्नु भएको थियो । नेपाली गीत गायन र संगीतका जीवित इतिहासको निधनले नयाँ पुस्तालाई बितेका दशकौंसँग साक्षात्कार हुने पुल टुटेको छ । जसका कारण आचार्यको अनुपस्थिति नेपाली कला र सांगीतिक क्षेत्रमा सधैँ खड्किने छ । आचार्यको समिप रहेर काम गरेकाहरू उहाँको अन्तिम श्रद्धाञ्जलीमा भावुक देखिए । साथै उनीहरुले आचार्यलाई यसरी सम्झिए ।

आचार्यको अभिरुची गायन हुँदा संगीतलाई कहिल्यै पेशा बनाउनु भएन । १६ वर्ष साङ्गीतिक क्षेत्रमा बिताउनु भएका आचार्यले साढे चार सयको हाराहारीमा गीत रेकर्ड गराउनु भएको थियो । संगीत र गायनलाई पेशा नबनाई साधनाका रूपमा अङ्गाल्नु भएका उहाँले आध्यात्मिक र सांसारिक मोहबाट मुक्त हुनु पर्ने जस्ता रचनालाई प्राथमिकतामा राख्नु भयो । फलतः त्यो नै अहिले उहाँको पहिचान बनेर भजन शिरोमणिको रूपमा स्मरणीय रहनु भएको छ ।

२०४६ सालमा सांघातीक आक्रमणमा परी टाउकोमा ठूलो चोट बोक्न पुग्नु भएका आचार्यले त्यसपछि क्यान्सर रोगका कारण जिब्रो नै काट्न परेको थिययो । जिब्रो काटेपछि भने उहाँले गायन यात्रालाई निरन्तरता दिन सक्नुभएन । यद्यपि, ‘हजार सपनाहरूको माया लागेर आउँछ’, जति चोट दिन्छौँ देऊ मायालु’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘मुटु जलिरहेछ’, ‘जीवन भनूँ त’ लगायत दर्जनौँ कालजयी गीतहरू छन् । नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र भजन शिरोमणि, आचार्य हामीबाट सदाका लागि बिदा हुँदा सङ्गीत क्षेत्र स्तब्ध बनेको छ । तर, उहाँ नेपाली साङ्गीतिक क्षेत्रको आकाशमा सधैँ जाज्वल्यमान तारा जस्तै चम्किरहनु हुनेछ । नाट्य प्रज्ञा प्रतिष्ठानदेखि शव यात्रा गर्दै पशुपति आर्यघाटसम्म हजारौंको संख्यामा पुगेका शुभचिन्तकको आवाजले पनि यसलाई पुष्टि गर्छ ।