काठमाडौँ – कोरोना कहरले थिलथिलो भएको अर्थतन्त्रले विस्तारै लय लिन थालेको छ । सूचकहरूमा सकारात्मक देखिए पनि व्यवहारमा अर्थतन्त्रले आवश्यक गति लिन सकेको छैन । सरकारी अधिकारीले अर्थतन्त्र ठीक ठाउँमा रहेको र निजी क्षेत्रले व्यवसायिक वातावरण नभएको दाबी गर्दै आएका छन् । आखिर समस्या कहाँ छ ?
नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार मुलुकको आयात र निर्यात घटेको छ । आयात ३.४ प्रतिशत र निर्यात ६.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । चालू आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३५९ प्रतिशतले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १४.८ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा सेवाक्षेत्रले कृषि र औद्योगिक क्षेत्रलाई द्रुत गतिमा विस्थापन गरिरहेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत देखिए पनि आन्तरिक क्षेत्र भने अझै शिथिल देखिन्छ । मौद्रिक नीति र वित्तीय नीतिमा सुधार गरिँदा पनि अर्थतन्त्र अपेक्षाकृत चलायमान हुन सकेको छैन । बैंकमा तरलता छ, तर ब्याजदर घट्दा पनि कर्जा विस्तार हुन सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिना नाघिसक्दा राजस्व वार्षिक बजेटरी लक्ष्यको ३५ प्रतिशत मात्र संकलन भएको छ । यस अवधिमा वार्षिक लक्ष्यको तुलनामा चालू खर्च ३८ प्रतिशत र पुँजीगत खर्च १६ प्रतिशत मात्र हुन सकेको छ । तर, राष्ट्र बैंकले भने बैंकको ब्याजदर मात्र नभएर अर्थतन्त्रको सबै सूचकहरू सकारात्मक रहेको दाबी गरेको छ ।
देशमा अस्थिर राजनीति मात्र नभएर हरेक क्षेत्रमा भ्रष्टाचार र व्यथिति मौलाएका कारण अर्थतन्त्रको सूचकहरू सकारात्मक रहे पनि सोचेजस्तो व्यवसायिक माहोल बन्न सकेको छैन । सरकारको वित्तीय सुशासन निकै कमजोर छ । सरकारको आफ्नै सञ्चालन लागतका कारण कम पुँजीगत खर्च र चालु खर्चमा वृद्धि भएको छ । कम पुँजीगत खर्च हुनुका कारण राजनीतिक अस्थिरता, भष्ट्राचार र कर्मचारीतन्त्रको ढिलासुस्ती नै हो । प्रमुख पूर्वाधार निर्माणमा भएको न्यून पुँजीगत खर्चले रोजगारी सिर्जना गर्न नसक्दा सरकारी पूँजी निर्माणमा बाधा पु¥याइरहेको छ । विज्ञहरूले भने देशको अर्थतन्त्र केही मुठ्ठीभरका व्यवसायीहरूको वरिपरि घुमेका कारण व्यवसायिक माहोल बन्न नसकेको जिकिर गर्छन् । मुठ्ठीभरका व्यवसायीहरूले चाहेअनुसार देशको अर्थतन्त्र चल्ने भएकाले अर्थतन्त्रले सोचेजस्तो छलाङ मार्न नसकेको विज्ञहरूको दाबी छ ।
विज्ञहरूले धनाड्य र सत्ताका वरिपरि घुम्न सक्ने व्यक्तिहरूको कारण अर्थतन्त्र चलायमान हुन नसकेको दाबी गरिरहँदा अर्थ समितिका सभापतिले समेत अर्थतन्त्रको वर्तमान अवस्था सोचे जस्तो नरहेको बताएका छन् ।
देशको हरेक क्षेत्रमा राजनीतिक भागबण्ड मात्र नभएर हस्तक्षेपका कारण सबै क्षेत्र तहसनहसको अवस्थामा पुग्नुमा सरकारी अधिकारीहरूकै जुहारीले पनि भूमिका खेलेको छ । देशको अर्थतन्त्रको चाबी लिएर बसेका अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरको टसलका कारण अर्थतन्त्र सोचेजस्तो हुन नसकेको प्रष्ट देखिन्छ । केही समय प्राकृतिक विपत्ति र कोराना जस्ता महामारीलाई दोष देखाएर बसेका सत्तासिनहरूसँग अब देखाउने अन्य कारण बाँकी छैन ।
प्रतिक्रिया