अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : राष्ट्रको उक्साहटमै दुई बर्ष बित्यो, अमेरिकी हस्तक्षेपले पुटिनलाई अझै तनाव (भिडियोसहित)


काठमाडौँ— रुस–युक्रेन युद्ध सुरु भएको आज दुई वर्ष पूरा भएर तेस्रो बर्षमा प्रवेश गरेको छ । तर अझै पनि दुई देशबीचको लडाईं रोकिने सम्भावना देखिएको छैन । दुई वर्षसम्मको लडाईमा न रुसले युक्रेनमाथि जित हात पार्न सकेको छ न नै युक्रेनले आफ्नो हार मानेको छ ।
सन् २०२२ फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आफ्नो विशेष सैन्य कारबाही गरेपश्चत् सुरु भएको रुस–युक्रेनको युद्ध दुई वर्ष पुगेको छ । तर, कहालि लाग्दो यो युद्ध तत्काल अन्त्य हुने छाँटकाँट भने अझै देखिँदैन । बरु दुवै देश आफ्नो शक्ति जुटाउन तर्फ लागि रहेकाछन् । अहिले रुसले तोपहरूको उत्पादन बढाउनुका साथै, इरानबाट ड्रोन र उत्तर कोरियाबाट क्षेप्यास्त्रहरू पनि खरिद गरिरहेको छ । त्यस्तै युक्रेनले पनि कतिपय रुसी शहरहरूमा ड्रोन आक्रमण गरिरहेको छ । पुरापुर देश युद्धभूमी बन्दापनि हार नमानेको युक्रेनले हातहतियारका लागि अन्य देशसँग सहयोगको अपीलसमेत गरिरहेको छ । उसलाई अमेरिका र ईयूले आर्थिक सहयोग गरिरहेका छन् । मस्को आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा रहँदा किएभले पनि आफ्नो अन्तरराष्ट्रिय सीमा पुनस्र्थापित गर्न लडाईं निरन्तर रहने जनाएको छ ।


संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपेली आयोग र युक्रेनी सरकारले गरेको अध्ययनअनुसार करिब ५९ लाख युक्रेनीले देश छाडेका छन् भने ३७ लाख आन्तरिक रूपमा विस्थापित भएका छन् । त्यस्तै ३० हजारभन्दा बढी युक्रेनी अझै बेपत्ता छन् । अमेरिकी गुप्तचर अधिकारीले युद्धमा कम्तीमा १ लाख २० हजार रुसी सैनिकको ज्यान गएको र १ लाख ७० हजार घाइते भएको जनाएको छ । त्यस्तै, बेलायतको रक्षा मन्त्रालयले युक्रेनतर्फ भने ७० हजारको मृत्यु भएको र एक लाख घाइते भएको उल्लेख गरेको छ । ठूलो संख्यामा सैनिक हताहती हुँदा रुस र युक्रेन दुवैले सेना संकटको सामना गर्न परेको छ । युक्रेन सरकारले त सेनामा भर्ना हुने उमेर घटाउने प्रस्ताव नै गरेको छ । दुवै देशको सेनामा हजारौं विदेशी भर्ती भएका छन् ।

तीमध्ये सयौंको ज्यान गएको छ ।
हास्य कलाकार हुँदै युक्रेनीलाई हसाएर राष्ट्रपति बनेका भ्लोदिमिर जेलेन्स्कीले पछिल्ला दुई वर्षदेखि भने अभूत्पूर्व पीडा बोहोर्नु परेको छ । जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने मुद्दालाई जबर्जस्त रुपमा यसरी उठान गरे कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि त्यो सह्य भएन । युक्रेनीहरू रुन नपरोस् भनेर शपथ खाएको आगामी मे २० मा पाँच वर्ष पुग्दै छ । तर चार करोड ३० लाख जनसंख्या भएको युक्रेनमा एक करोड ७६ लाख मानिस राहत सामग्रीमा गुजारा गरिरहेका छन् । यद्ध सुरु भएदेखि युक्रेनको १८ प्रतिशत भूभाग गुमाईसकेको छ । युक्रेनको चार वटा महत्वपूर्ण क्षेत्र लुहान्स्क, दोनेत्स्क, जापोरिजा र खेर्सनलाई रुसले आफ्नो नियन्त्रणमा लिएर जनमतसंग्रह नै गरि आफूमा गाभिसकेको छ ।

रुस–युक्रेन युद्धले विश्वभर आर्थिक प्रभाव पार्दा नेपालले भने मानवीय क्षति समेत व्यहोर्नु परेको छ। रुसी सेनामा भर्ना भएर ज्यान गुमाउनेमा नेपालीहरु पनि छन् । सरकारले औपचारिक रुपमा दुई सय नेपाली रुसी सेनामा भर्ना भएको बताए पनि युद्धक्षेत्रमा रहेका नेपालीहरूका अनुसार त्यो संख्या निकै ठूलो छ । तीमध्ये १३ नेपालीको मृत्यु भइसकेको छ भने थुप्रै घाइते भएका छन् । त्यस्तै रुसी सेनामा भर्ना भएर युद्ध क्षेत्रमा खटिएका ४ नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन् । एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि निवेदन दिएका छन् । कसैले नजित्ने युद्धमा यसअघि नै कयौं संरचनाहरू ध्वस्त भईसकेका छन् भने दुवै तर्फ ठूलो सङ्ख्यामा मानवीय क्षति भईसकेको छ । तर, पनि दुबै देशले आफ्नो हार नमान्दा यसले अझै भयानक परिस्थिति सिर्जना गर्दैछ ।