समाचार

खुम्बु पासाङल्हामु कार्य सम्पादनमा उत्कृष्ट, लिखुपिके र सोताङ गाउँपालिका अन्तिम


काठमाडौँ कार्य सम्पादन तथा मूल्याङ्कनको आधारमा खुम्बु पासाङल्हामु गाउँपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय स्रोत तथा वित्त आयोगको नतिजा अनुसार जिल्लामा ८ स्थानीय तहमध्ये कार्य सम्पादन तथा मूल्याङ्कनको आधारमा खुम्बु पासाङल्हामु गाउँपालिका उत्कृष्ट भएको हो ।खुम्बु पासाङल्हामु गाउँपालिकाले ३६.१० प्रतिशत अङ्क प्राप्त गरेको छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाले ३३.६५ प्रतिशत, थुलुङ दुधकोशी गाउँपालिकाले ३२.४४ प्रतिशत, नेचासल्यान गाउँपालिकाले ३२.३८ प्रतिशत, माप्य दुधकोशी २५.८८, महाकुलुङ गाउँपालिकाले २३.५६ प्रतिशत, लिखुपिके गाउँपालिकाले २७.८७ प्रतिशत र सोताङ गाउँपालिका १७.७४ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको नतिजामा उल्लेख छ ।

राष्ट्रिय स्रोत तथा वित्त आयोगको नतिजा अनुसार सोलुदुधकुण्ड नगरपालिका दोस्रो भएको छ भने सोताङ र लिखुपिके गाउँपालिका अन्तिम भएका छन् ।आगामी आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौँले फागुन ८ गते मङ्गलवार कार्यसम्पादन मूल्याङ्कन बापत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशन गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचनाको मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको सूचनामा उल्लेख छ ।

प्राप्त अङ्क चित्त नबुझेमा कार्यविधीको दफा ९ अनुसार सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि अनुसूची ५ ढाँचामा आयोगको इमेल ठेगानामा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।