Breaking

लथालिङ्ग त्रिविको जिम्मा बराललाई, चुनौतीको चाङ, प्रचण्डको रोजाइमा सत्ता पक्षकै विरोध


काठमाडौँ – लामो राजनीतिक रस्साकस्सीपछि मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले उपकुलपति पाएको छ । खुला प्रतिस्पर्धा छिचोल्दै प्राध्यापक केशरजंग बराल त्रिविको २० औँ उपकुलपतिमा नियुक्त भएका छन् । त्रिवि हाँक्ने नवनियुक्त उपकुलपति को हुन् ?
लामो रस्साकस्सीपछि पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्राध्यापक डाक्टर केशरजंग बराल मुलुकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् । खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनाको नाम सर्ट लिस्टमा परेको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल प्रचण्डले विहीवार उपकुलपतिमा नियुक्त गरेका हुन् । पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । २०४० सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उपप्राध्यापकका रुपमा अध्यापन सुरु गरेका बराल ०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिए पछि उनले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक भएर काम गरेका थिए । २०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । अहिले उनले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन् । बराल विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । वित्तीय संस्था र बजारका विज्ञ उनले महेन्द्र विद्या भूषण पदक ‘क’ , राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् । एसियाली विकास बैंकको परामर्शदाता, पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीतिक योजना तर्जुमा उपसमितिको सदस्यसमेत भएर काम गरेको उनीसँग अनुभव छ । त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति बन्दै त्रिवि हाक्ने जिम्मा उनले पाएका छन् । तर उनका लागि उपकुलपतिको यात्रा त्यति सहज भने छैन ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्ने वाचा गरेका थिए । यसअघि अंक नराखी तीन उम्मेदवारको मात्र नाम सिफारिस गरेपछि तीमध्ये एक जनालाई उपकुलपति नियुक्ति गर्ने चलन थियो । तर यो पटक समितिले अंकसहितको नाम सिफारिस गरेको थियो । जसमा प्रधानमन्त्रीले दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरेका हुन् । उपकुलपति नियुक्तीलाई लिएर राजनीतिक दलबीचको आरोप–प्रत्यारोप पनि छेडिएको छ । उपकुलपति नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले भने शंका व्यक्त गरेको छ ।

राजनीतिक हस्तक्षेपले ग्रस्त त्रिविको सुधार गर्दै लयमा ल्याउन उनका लागि कति सहज होला तत्काल अनुमान गर्न कठिन छ । नियुक्तिपूर्व नै राजनीतिक दाउपेचको सिकार बनेका बरालले त्रिवि सुधार गर्छन् वा औपचारिकतामै आफ्नो कार्यकाल सक्काउँछन त्यो भने भविष्यले निर्धारण गर्ने छ ।