Breaking

कांग्रेसले ज्वाला बोक्दा प्रचण्ड निरीह, ज्वालाकै कारण २ युवाको ज्यान गयो ? हतकडी लाउन माग


बिहीबार – बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका प्रकाश ज्वाला प्रतिपक्षी सांसदको निसानामा परे । छानबिन आयोगले दोषी ठहर गर्दा पनि नैतिकता नै गुमाएर मन्त्रीमा बसिरहेको भन्दै सांसदहरूले ज्वालाको राजीनामा माग गरेका हुन् ।

दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा जाँचबुझ आयोगको प्रतिवेदनले मन्त्री नै दोषी भएको निष्कर्ष निकालेको सात दिन बितिसक्दा पनि त्यस उपर सरकारले कुनै एक्सन लिएको छैन । जसको प्रभाव यतिखेर सडकदेखि सदनमासमेत देखिन थालेको छ । आयोगले दोषी ठहर गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बिहीबार संसद् र सडकको माहोल तातिन पुग्यो । सदनमा प्रतिपक्षी दल एक ठाउँमा उभिएर एक स्वर गरिरहँदा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि मन्त्री ज्वालाको राजीनामा माग गर्दै राजधानीको सडक ततायो ।

दोषी किटान हुँदा पनि मन्त्रीको कुर्सी नछाडेर नैतिकता देखाउन नसकेकोमा ज्वालाको आलोचना त भएको छ नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि ज्वालालाई किन बर्खास्त नगरेको भन्दै प्रश्न तेर्सिएको छ । ६ गतेको बैठकमा पनि सांसदहरुले कारवाही गर्नु पर्ने माग उठाउँदा प्रतिवेदन बुझेर अध्ययन गरेपछि कारबाही गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्डले बिहीबार चार दिन बितिसक्दा पनि एक्सन लिन सकेका छैनन् । सारा सांसदका अघि रोष्ट्रममा नै उभिएर आफैँले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न प्रधानमन्त्री चुकेका छन् । नैतिक संकटको सामना गरिरहेका मन्त्री ज्वाला गति छाडा भएर सत्ता नछोडेपछि उनीविरुद्ध प्रतिपक्षी सबै दल एकै कित्ता भएर खनिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले बालकुमारी घटना सामान्य नभएको भन्दै दोषी देखिएका मन्त्रीलाई कारबाही गर्न माग गरे । राप्रपाका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि सोही विषय उठाएका थिए । एमालेका रघुजी पन्तले त पुराना नजिरको व्याख्या गर्दै मन्त्रीले अबिलम्ब नैतिकता देखाउनु पर्नेमा जोड दिए ।

सांसदहरूले बालकुमारी घटना प्रकरणलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद् अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाबारेमा जवाफ दिन रुलिङ गरेका छन् । मन्त्री ज्वालालाई लिएर सरकारमाथि निरन्तर प्रहार भइरहँदा सत्ता सहयात्रीहरू भने प्रतिपक्षीले सदनमा हो–हाल्ला गर्दैमा मन्त्रीले राजीनामा दिइ हाल्नु नपर्ने तर्क गर्छन् । यता सत्ताको नेतृत्व गरेको माओवादी भने प्रधानमन्त्रीले मन्त्री बर्खास्त गर्दा गलत सन्देश जाने भएकाले मन्त्री आफैँले नैतिकता देखाएर मार्ग प्रशस्त गर्नु पर्ने टिप्पणी गरेको छ ।

ेमन्त्रीको कारण सरकार बद्नाम भइरहँदा प्रधानमन्त्री प्रचण्ड हैरानीमा छन् । झन् मन्त्री ज्वालासँग त प्रचण्डको सम्बन्ध ३६ कै अवस्थामा छ । राष्ट्रिय गौरवको योजनामा प्रचण्डले सन्तोषजनक उपलब्धि नभएको भन्दै एक्सन रुममा नै असन्तुष्ट पोखेका थिए । त्यस्तै बालकुमारी घटनामा आफ्नो रक्षामा नउत्रेको भन्दै ज्वाला प्रधानमन्त्रीसँग रुष्ट बनेका थिए । मन्त्री ज्वालाको समर्थनमा कांग्रेस देखिँदा पनि प्रधानमन्त्रीलाई दबाव छ । प्रतिवेदन बुझ्ने बेलामा पनि मन्त्री ज्वालाको कारबाहीलाई लिएर दुई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काबीच जुहारी नै चलेको थियो । आफ्ना मन्त्रीहरू कामै नलाग्ने अवस्थामा पुगेपछि मन्त्री हेरफेर गर्ने प्रचण्डको चाहना भए पनि गठबन्धनको बाध्यताले उनी लगाम लगाएका घोडाकै अवस्थामा पुगेका छन् । मन्त्रीलाई हटाउन सक्ने अधिकार प्रधानमन्त्रीसँग भए पनि गठबन्धनका कारण त्यो हैसियत भने उनीसँग छैन । अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेका प्रधानमन्त्री प्रचण्डले अब पनि कानमा तेल हालेरै बस्छन् वा मन्त्री ज्वालामाथि एक्सन लिन्छन् ? त्यो भने आगामी दिनले तय गर्ने छ ।