राजनीति

राजा फर्काउने आन्दोलन, प्रचण्डलाई ४० बुँदा, विद्रोहको चेतावनी, ‘लोभीपापीले राजा बोके’– कांग्रेस (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले व्यवस्था बदल्ने भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएर राप्रपाले आन्दोलन थालेको हो ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले व्यवस्था बदल्ने उद्घोषसहित बुधबारदेखि देशव्यापी आन्दोलन थालेको छ । कुनैबेला सरकारमै रहेर संघीयताको विरोध गर्दा प्रधानमन्त्री प्रचण्डको खप्की खेपेको राप्रपाले व्यवस्था परिवर्तन अर्थात गणतन्त्र ढालेर राजतन्त्र फर्काउने आन्दोलन गणतन्त्रका हिमायती प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएर सुरु गरेको हो । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई र उपत्यकाबाहिर ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला अध्यक्षहरूले एउटै मागपत्र बुझाएर व्यवस्थाविरुद्ध आन्दोलनमा होमिएका हुन् । व्यवस्था र व्यवस्था चलाउने पात्रहरुको परिवर्तन गर्ने राजावादीहरुको वृहत आन्दोलन शान्तिपूर्ण र भद्र ढंगले गरिने राप्रपाले जनाएको छ । अहिलेका प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५२ माघमा ४० बुँदे मागपत्र बुझाएर जंगल पसेको थियो । जंगल पसेर व्यवस्था फाल्दै अहिले गणतन्त्रको नेतृत्व गरिरहेका प्रचण्डलाई नै ४० बुँदे पत्र बुझाएर राप्रपाले आन्दोलन थालेको हो ।

यसो भनेको बाइट राख्ने (प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि आजदेखि देशलाई नयाँ बाटोमा लौजाने यात्रा सुरु भयो ।)
यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै हिन्दु राज्यको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी राप्रपाले बटमलाइन लाइन बनाएको छ । सडक आन्दोलनको उद्घोष गरेको राप्रपा सडक संघर्ष गर्ने वा नगर्ने ढुलमुलकाबीच आन्दोलनमा होमिएको छ । लक्ष्य प्राप्त नभएसम्म आन्दोलन नरोकिने राप्रपाद नेताहरुको दाबी छ । गत महाधिवेशनमा कमल थापाको विरासत भत्काउँदै पार्टीको अध्यक्ष चुनिएपछि राप्रपालाई रि–ब्रान्डिङ गर्न सफल अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु जारी आन्दोलनबाट व्यवस्था बदल्ने हठमा हौसिएका छन् ।

राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको एजेन्डा बोकेर सडक आन्दोलनमा होमिएको राप्रपाको शक्तिले देशको वर्तमान व्यवस्थालाई कति धक्का दिन सक्छ ? त्यसको अहिले नै विश्लेषण गर्नु हतार हुने भए पनि केही विश्लेषकले आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । राजसंस्था पुनः स्थापनाको मागसहित आन्दोलनको हाँक दिँदै गर्दा स्वयम् राजावादीहरु नै आ–आफ्नो स्वार्थमा चारतिर फर्किएका छन् । राप्रपाले जारी आन्दोलनमा विचार मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर अघि बढ्ने बताए पनि राजावादी र हिन्दु राज्यको वकालत गर्नेहरुले नै बेवास्ता गरेका छन् ।

व्यवस्थाको विरोध गर्ने तर सत्ता र स्वार्थमा पटक पटक सति जाने राप्रपाजनलाई पछिल्लो समय कोशीमा सभामुख पड्काएपछि व्यवस्था विरुद्धको धज्जी उडेको आरोप छ । राजावादीहरू अवसर र पद नपाएसम्म व्यवस्थाको विरोध गर्ने र अवसर मिल्ने बित्तिकै विरोधको पोका थन्काएर यही व्यवस्था मातहत रहेर शपथ लिन दौरा सुरूवालमा ठाटिएर पुग्ने गरेका छन् । राप्रपाले उठाइरहेको व्यवस्था विरोधी आन्दोलन पनि परिवर्तनको लागि नभएर सत्ता र शक्तिको लागि भएको टिप्पणी भइरहेको छ । यता कुनै बेला राजालाई मियो मानेको कांग्रेसले महासमिति बैठकबाट नै राजा फाल्ने निर्णय गरेको थियो । संयोग जारी महासमितिको बैठकमा पार्टीभित्रै बुलन्द आवाज बनेको हिन्दु राज्यलाई एजेन्डा बनाएन । त्यसमा पनि राजा र राजसंस्था कांग्रेसको एजेन्डा बन्ने कुरै भएन ।

राप्रपाको यो आन्दोलन सत्ता प्राप्ति र स्टन्टको रुपमा धेरैले व्याख्या गरेका छन् । राजसंस्था पुनःस्थापनका लागि विद्रोह नै गर्ने उद्घोष राप्रपाले गरे पनि अहिलेकै अवस्थामा त्यसले पार पाउन सक्ने परिस्थिति भने बनेको छैन । राजसंस्थाको एजेन्डा बोकेर लघुवित्त र सहकारी पीडितको भिडले धानेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै हविगत राप्रपाको पनि नहोला भन्न सकिन्न ।