राजनीति

के प्रचण्ड–ओली सत्ता यात्रा गर्दैछन् ?किन तर्सिए कांग्रेस ? देउवाले खेले गगनविरुद्ध यस्तो खेल ! (भिडियोसहित)


काठमाडौँ— कम्युनिस्ट बोक्ने कांग्रेसभित्र लडार्इंकाबीच प्रचण्ड–ओली भेटले नयाँ तरंग ल्याइदिएको छ । जसले कांग्रेसको महासमितिमै नयाँ परिस्थिति विकास हुँदा कम्युनिस्ट मिल्छन्कि भन्ने प्रश्न उब्जिएको छ । बारम्बार प्रतिपक्षीलाई पनि समेट्नुपर्ने भन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली र वृहत्तर वाम एकताको प्रयास थाल्नुपर्ने माओवादी नेताहरुको दबाबले समेत कांग्रेस सशंकित देखिन्छ ।


नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनलाई लिएर टिकाटिप्पणी भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । हिन्दु धर्म र गठबन्धन मुख्य मुद्दा बनेको कांग्रेस बैठकमै पनि ओली–प्रचण्डको भेटको प्रभाव देखिएको छ । फलतः गठबन्धनबारे अहिले निर्णय लिँदा माओवादी बिच्किन सक्ने बुझेका अधिकांश नेताहरु यसको विरुद्धमा देखिएका छन् । अर्कातर्फ राष्ट्रियसभा सदस्य निर्वाचनबाटै प्रचण्ड प्रमुख प्रतिपक्षीलाई समेट्नु पर्ने बताइरहेका छन् । जुन कम्युनिस्टलाई एक हुन दिन नहुने कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीतिविरुद्ध देखिँदा माओवादीमाथि कांग्रेसको पेलान बढिरहेको छ ।

जसलाई आफ्नै पार्टीभित्र प्रधानमन्त्रीका लागि सबैथोक गुमाएको रुपमा भाष्य निर्माण गर्न खोजेपछि प्रचण्ड पनि कांग्रेसको भूमिकाप्रति असन्तुष्ट देखिँदै आएका छन् । फलतः गठबन्धनबारे सार्वजकि रुपमै आलोचनात्मक अभिव्यक्ति दिएका प्रचण्डमाथि वृहत्तर वाम एकताको बाटो तय गर्न दवावसमेत छ । जुन माओवादीको विधान अधिवेशनमै देखिँदाकर्मकाण्डी प्रधानमन्त्रीको हैसियतले पार्टीलाई केहि फाइदा नपुग्ने बुझाईमा माओवादी नेताहरु देखिएका थिए । यता संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । ऊ न त गठबन्धन फुटाउने रणनीतिमा सफल भएको छ नत सांगठनिक रुपमै बलियो । यसले ओलीमाथिसमेत दवाब बढ्दा गठबन्धनमा देखिएको कचपचमा एमालेले सम्भावना देख्नु नौलो कुरो होइन ।

यसैलाई प्रयोग गर्ने रणनीतिमा रहेका ओलीले प्रधानमन्त्री प्रचण्डसँग सवा घण्टा छलफल गरेका हुन् । मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पौने छ देखि साढे ७ सम्म छलफल गरेर ओली निस्किएका थिए। निकै हर्सित देखिएका उनले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा कुराकानी गरेको बताइए पनि त्यतिमै सीमित हुनेमा कांग्रेस नेता नै सशंकित छन् । जहाँ ओलीसँगको भेटपछि प्रचण्डले देउवालाई फोनसमेत गरेका थिए । उक्त फोनवार्ताका क्रममा प्रचण्डले गठबन्धनको विषयमा कांग्रेसमा भइरहेको छलफलबारे चासो राखेका थिए । यही कारण देउवाले अघोषित रुपमा गगन थापाको प्रस्तावविरुद्ध मत राख्न जिल्लासभापतिहरुलाई सर्कुलर नै गरेको खबर बाहिरिएको छ । यसैबीच गठबन्धनमै रहेर एमालेप्रति नरम देखिँदै आएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललेसमेत देशले गठबन्धनबाट मुक्ति चाहेको बताएका छन् ।

वाम ध्रुवीकरण हुन नसकेको अवस्थामा विकल्पका रुपमा प्रचण्डले अघि सारेको समाजवादी मोर्चाको नेतृत्वमासमेत नेत्रविक्रम चन्द विप्लव छन् । मोर्चामा एमालेलाई समेत समेट्ने बताउँने उनले संसदीय राजनीतिमा पनि चासो राख्ने संकेत गरिसकेका छन् । यता ओलीलाई गिरीबन्धु टी स्टेटमा अदालतको फैसला अर्को टाउको दुखाई बन्दा कम्युनिस्ट फुट्नुमा उनकै ईगो मात्र कारण थियो । फलतः राजनीतिक विश्लेषकहरुसमेत कम्युनिस्ट मिल्न कुनै समस्या नरहेको टिप्पणी गर्छन् ।

कांग्रेसबाट थुतेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले त्यही उदारता नेकपा हुँदै गरेको भए पार्टी नै नफुट्ने प्रा.डा राजकुमार पोखरेलको विश्लेषण छ । अर्कातर्फ कम्युनिस्ट फुटको फाइदा कांग्रेस जस्तो शक्तिले लिएको तथा वामलोकतान्त्रिक गठबन्धन स्थिरताको आधार हुन नसक्ने उनी बताउँछन् । यसको अर्थ कम्युनिस्ट मिल्ने आधार तय हुँदै गएको बताउँदै उनले एमाले फुटाउने शकुनी माधवकुमार नेपाल रहेकोसमेत टिप्पणी गरे । अहिले उनीसमेत बाहिर रहेको, प्रचण्ड पेलिएको तथा एमालेको खराब हालतको अवस्था प्रचण्ड–ओली मिलनको आधार हुनसक्ने उनको विश्लेषण छ ।

अहिले पनि एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले वाम एकताका कुरा उठाउँदै आएका छन् । कांग्रेसलाई वर्ग सत्रु मान्ने ठूलो हिस्सा माओवादीमा रहँदा एमालेभित्रसमेत ओलीकै कारण पार्टीले किन सबैथोक गुमाउनुपर्ने भन्ने प्रश्न बलियो बन्दै छ । जसको विकल्प परस्पर प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धन हुन नसक्ने मतकै कारण सत्ताका लागि माओवादी बोक्नुको विकल्प एमालेसँग पनि छैन । यद्यपि प्रचण्डले यसलाई देउवा धम्काउने अस्त्रका रुपमा मात्रै प्रयोग गर्ने त होइनन् भन्ने डरमा एमाले नेताहरु पनि देखिन्छन् । यता प्रचण्डको विश्वास जित्न पार्टीको भन्दा गठबन्धनकै सभापति जसरी प्रस्तुत हुनुपर्ने देउवाको बाध्यतासमेत यसैमा जोडिदा यो लभ ट्रयांगल प्रष्ट हुने अवस्था कांग्रेसको महासमितिले गर्ने निर्णयले तय नगर्ला भन्न सकिदैन ।