राजनीति

काँग्रेस धम्काएका प्रचण्ड अब के गर्छन्? हटाउँलान् त अर्थमन्त्री ? देउवाको अब रणनीति के ? (भिडियोसहित)


काठमाडौँ— सत्तारुढ मुख्यघटकमध्ये माओवादीले विधान अधिवेशन सक्दा र कांग्रेसले महासमितिको तयारी थाल्दा गठबन्धनको केन्द्रमा छ । दुवै पक्षबाट यसको कडा स्वरमा विरोध गरिँदा प्रधानमन्त्रीलाई तत्काल सरकार छाड्न उनकै नेताले सुझाव दिएका थिए । यता कांग्रेसमा उठेको धर्मनिरपेक्षता विरुद्धर गठबन्धन विरोधी आवाजले समेत यसलाई बल पुर्याएको छ । जहाँ मन्त्रीहरुसंगै प्रधानमन्त्री असन्तुष्ट भएको परिस्थितिले अब प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?

भर्खरै विधान अधिवेशन सकाएको माओवादी भित्र तत्काल सरकार छाड्नुपर्ने आवाज उठ्दा वृहत्तर वाम एकताको प्रश्न बलियो बनेको छ । गठबन्धनले पार्टीलाई घाटा भइरहेको प्रस्ताव राख्ने नेताहरुको तर्क रहँदा स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कांग्रेसमाथि प्रश्न उठाएका थिए । अर्थात आफूमाथि धोका भइरहेको उनीको दावीका बिच आफ्ना नेता कार्यकर्ता फकाउन कांग्रेसलाई थर्काएको आक्षेपसमेत लाग्यो । माओवादी कै नेताहरुले पार्टीले सिद्धान्त छोडेको र बढी प्राविधिक बन्न थालेको आरोप लगाए । पार्टीलाई संसदीय राजनीतिको हिलोमा चुलुम्र्म डुबेको संज्ञा दिएका उनीहरुले माओवादीलाई त्यो छुट नभएको बताएका थिए ।

हुन पनि मन्त्री परिवर्तनदेखि खोलिएका फाइल टुङगोमा पुर्याउनसम्म गठबन्धन दलकै साथ नपाएको अवस्थामा प्रचण्ड छन् । जसमाथि राष्ट्रियसभाको निर्वाचनमा देखिएको दृश्यले माओवादीका नेता कार्यकर्ता बढी रुष्ट बन्दा राष्ट्रियसभाको अध्यक्षमा दावी गर्नेबाटै माओवादीले नयाँ बाटो तय गर्नेसम्मका संकेत देखाएको छ ।कांग्रेसका सबै मन्त्रीहरुसंग उनी असन्तुष्ट रहेको विषयले नयाँ कोर्स ल्याउन सक्ने चर्चा सुरु हुँदा अर्थमन्त्री प्रकाशशरण महत सबैभन्दा तारो रहेको खवर बाहिरिएको थियो । गठबन्धनको पक्षधर नेताकै रुपमा रहेका उनीमाथि प्रचण्डसँग यस्तो सम्बन्धले गठबन्धनमा हलचल हुनसक्ने अर्को आशंका गरिँदा त्यसबारे अर्थमन्त्री महले प्रष्टीकरण दिएर माहोल नियन्त्रणमा लिएका छन् ।

हुन त गठबन्धनको विकल्प अहिले नै नदेखिँदा नयाँ समीकरण त्यति सहज भने छैन । फलतः प्रचण्डको आक्रमकता आफ्नै नेता कार्यकर्ता फकाउने रणनीतिका रुपमा हेरिँँदा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सरकारको निरन्तरता आफ्नै लागि बढी आवश्यक रहेकोमा प्रष्ट छन् । यही कारण गगन थापाको आक्रमकताकै बीच पनि गठबन्धन कायम रहने पक्का हुँदा क्रान्तिकारी बाटो अगाल्ने पक्षमा प्रचण्ड देखिएका छैनन् । बरु पार्र्टीभित्रको विरोध देखाएर केही भाग बढाउने उनको रणनीति देखिँदा पार्र्टीभित्रको प्रश्नसमेत उनले मत्थर पारिसकेका छन् । यसैको उपज पार्टीमात्रै नभई गठबन्धनभित्रै उनको विकल्प नभएको भन्दै नेताहरुले गुणगान गाउँदा प्रस्तावहरुसमेत आफू अनुकूल मात्र आउने अवस्था सिर्जना गर्न प्रचण्ड सफल भएका छन् ।

हुन त कहिले रिटायर्ड नहुने बताउँने, कहिले विश्वासिलो तरिकाले कोही आए नेतृत्व छोड्न तयार रहेको उनको भनाइमा धेरै शंका देखिएको थियो । जुन डायनिज्मका लागि लचक हुने र आफ्नो पक्षमा माहोल बनाउने प्रचण्डको पुरानै रणनीतिको निरन्तरता भएको धेरैको बुझाइ छ । जसले पार्टीभित्र बलियो बनेका उनी अब यही बाटो समाएर कांग्रेस महासमितिमा देउवाले खुट्टो घुमाउने आशामा देखिन्छन् । यसबाट गठबन्धन बलियो बन्ने र सत्तामा रहने समय बढ्ने बाटो तय हुँदा पार्टीभित्रैको रुपान्तरण र क्रान्तिकारी नारा फगत नारामै सीमित हुनेमा दुईमत छैन ।