Breaking

प्रचण्डको छिनोफानो गर्दै कांग्रेस, प्रतिवेदनमै फुट, हिन्दु धर्म माग्दै हस्ताक्षर, देउवालाई कति दबाब ?


काठमाडौ – महासमिति बैठक नजिकिँदै जाँदा कांग्रेस पदाधिकारीहरु त्यसको तयारीमा लागेका छन् । कांग्रेसले बैठकमा पेस गरिने नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि केन्द्रीय समिति बैठकमा छलफल गरेको हो । जसमा गठबन्धनको विषयदेखि कांग्रेसको आगामी नीतिसम्मका विषय समेटिदा कसले के मुद्दा उठाएका छन् त ?

आगामी महासमिति बैठकमा उठाइने एजेण्डाका विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छ । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गर्नेछन् । के–के विषय उठाउने भन्ने फिल्टर गरेर जाने रणनीतिअनुसार सभापतिले चाहेका विषयमात्रै छलफलमा जाने भनेर कतिपय नेताले टिप्पणी नै गरेका छन् । जसले नीति अधिवेशनकै रुपमा रहेको यो महासमितिले खासै नयाँ दिशा नदिने पक्का भएको विश्लेषणसमेत सुरु भएको छ । सांगठनिक प्रतिवेदन पेस गरेका महामन्त्री थापाले शिक्षक र सरकारी कर्मचारीलाई कांग्रेसको सदस्यता नदिने प्रस्ताव गरेका छन् । जसलाई निकै महत्वका साथ हेरिँदा प्रचलित कानुनले पार्टी सदस्यता लिन निषेध गरेका पेशासँग सम्बद्ध शुभेच्छुक संस्थासँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत÷पेशागत÷विशेषज्ञ सम्बन्ध राख्ने भनिएको छ । उनी एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्नेमा अडिग रहँदा उपसभापति खड्काको नीति प्रतिवेदनमा गठबन्धन तत्कालको आवश्यकता भएको दाबी गरिएको छ । त्यस्तै समसामयिक राजनीतिमा प्रतिवेदन पेस गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समानुपातिक मत घट्नुलाई गठबन्धनकै कारण मानेका छन् । यसको अर्थ गठबन्धनका कारण पार्टीलाई क्षति पुगेको तथा निराशा थपिएकोमा दुई महामन्त्री एकमत देखिन्छन् । जसमा थापा अलि कठोर र शर्मा अलि नरम देखिन्छन् । यता नैनसिह महरले त प्रतिवेदन लेखनका लागि छलफल नै नभएको भन्दै फरक प्रस्ताव आउने बताएका छन् ।

कांग्रेसको राजनीतिभन्दा माथि रहेर गगनले प्रतिवेदनमा पार्टीको संगठन नै नबुझेको जस्तो सुनिदा विश्वप्रकाशको प्रतिवेदनमा कांग्रेसभित्रको कुन धारमा जाने भन्ने देखिएको अलमल प्रष्ट छ । त्यस्तै पूर्णबहादुरले कांग्रेसलाई भन्दा गठबन्धनलाई वैतरणी तार्ने बाटो रोजेको देखिँदा चर्चा रहँदै आएको विषय धर्म निरपेक्षतामा के गर्ने भन्ने चासोकाबीच केन्द्रीय समिति बैठकमा केही नेताले विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने दावीसहित विशेष पूरक प्रस्ताव पेस गरेका हुन् । यता गुट नै चलाउने नेता डा.शेखर कोइरालाले महासमिति बैठकमा पेस गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको टिप्पणी गरेका छन् । यद्यपि प्रतिवेदन सबैको छलफलमा ल्याएर साझा धारणा तय हुने र त्यो सबैका लागि मान्य हुने कांग्रेस नेता तथा अर्थमन्त्री डा.प्रकाश शरण महतको भनाइ छ ।

हुन त अहिलेको सबैभन्दा चासोको विषय धर्म निरपेक्षतामा कांग्रेस के गर्छ भन्ने नै हो । जुन विगतबाटै एजेण्डा बन्दा अहिले विशेष पूरक प्रस्ताव पेस गर्नेहरुमा देउवा निटक नै धेरै नेताहरु छन् । जसले यो विषय देउवाकै इसारामा अघि सारिएको त हैन ? भन्ने आशंकाका बीच यी मुद्दा स्थापित गर्ने भन्दै दवाव दिने महाअभियान नै सुरु गरिएको छ ।

यता माओवादीले भर्खरै सकाएकोे विधान अधिवेशनमा समेत व्यापक परिवर्तनका मुद्दा आँउदा अब कांग्रेसले तय गर्ने बाटोले नयाँ परिस्थिति सिर्जना गर्ने देखिएको छ । जसको धरातलमा गठबन्धनको भविष्यदेखि आगामी राजनीतिक कोर्स तय हुनेछ । फलतः राष्ट्रिय र पार्टी राजनीति दुवैमा सफल हुने बाटो तय गर्ने बाध्यतामा कांग्रेस छ । तर त्यो बाटो देउवाले चाहेको भन्दामाथि नहुने तितो यर्थाथता पनि कतैबाट लुेकेको छैन ।