Breaking

नेपालमा ईभीको बजार आक्रामक विस्तार, यस्तो छ ५ वर्षको तथ्यांक


काठमाडौँ – नेपालमा विद्युतीय सवारी (ईभी)को बजार आक्रामकरूपमा विस्तार भइरहेको छ । भन्सार विभागको तथ्यांक हेर्दा पछिल्ला पाँच वर्षमा ईभीको आयात क्रमिकरूपमा उच्च हुँदै गएको देखिन्छ ।

आर्थिक वर्ष (आव) २०७६र०७७ मा ५७५ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । एक अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरका ईभीबाट सरकारले ४५ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आव २०७७/०७८ मा २६१ वटा ईभी आयात भएका थिए । सरकारले ६६ करोड ८ लाख रुपैयाँ बराबरका यी गाडीबाट ३४ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आव २०७८/०७९ देखि नेपालमा ईभीको आयात एक्कासि उच्चदरमा बढेको देखिन्छ । यस वर्ष पाँच अर्ब ३२ करोड ५ लाख रुपैयाँ बराबरका एक हजार ८०७ ईभी आयात भएका थिए । जसबाट सरकारले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आव २०७९/०८० मा चारहजार ५० वटा ईभी आयात भएका थिए । एघार अर्ब ८४ करोड रुपैयाँ बराबरका ती गाडीबाट सरकारले तीन अर्ब ३० करोड ४४ लाख राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ मा भने ईभीको आयात अघिल्ला वर्षको तुलनामा निकै धेरै हुने देखिएको छ । यस आवको ६ महिनामै हालसम्म वर्षदिनमा भित्रिएभन्दा धेरै ईभी आयात भइसकेको छ । भन्सार विभागका अनुसार ६ महिनामा पाँच हजार १०७ वटा ईभी आयात भएका छन् । बाह्र अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरका यी गाडीबाट सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

पछिल्ला दुई वर्षको तथ्यांक ईभीले पेट्रोलियम सवारीलाई चाँडै नै ठूलो मात्रामा विस्थापित गर्ने संकेत देखिन्छ । कार, जीप र भ्यानमात्रै नभएर नेपालमा बस, मिनी बस, तीन पांग्रे र दुईपांग्रे विद्युतीय सवारीसाधनको आयातसमेत बढ्दै गएको छ । जलवायु परिर्वतनको संकटविरुद्ध जुध्न विश्व जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फ अग्रसर भइरहेको छ । त्यसैले विद्युतीय सवारीको उत्पादन र उपभोग विश्वभर नै तीव्र बनेको छ ।

नेपालले सवारी साधनकै लागि ठूलो मात्रामा जीवाश्म इन्धन आयात गर्दै आएको छ । पछिल्ला वर्षमा ईभीको बजार विस्तारले केही हदसम्म जीवाश्म इन्धनको प्रयोग घटाएर देशभित्रकै विद्युत् खपत बढाउने स्थिति बनाएको छ । सरकारले समेत जतिसक्दो चाँडो पेट्रोलियम इन्धनमाथिको निर्भरता घटाउने उद्देश्यले विद्युतीय सवारी साधनको प्रयोग बढाउने लक्ष्य राखेको छ ।