समाचार

बालेन आक्रामक, वडाध्यक्षको टाउको दुखाइ, कर्मचारी जोगाउन कांग्रेस–एमाले गठबन्धन (भिडियोसहित)


काठमाडौँ— पार्किङ निषेधको निर्णयपछि वडाध्यक्षहरुकै आलोचनाको केन्द्र बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कर्मचारीमाथि कारबाही चलाउन थालेपछि झनै विवादित बन्न थालेका छन् । कर्मचारीहरुमाथि अनावश्यक कारबाही चलाएर मनोबल गिराउन मेयर नै लागेको भन्दै मंगलबारको कार्यपालिका बैठकमै चर्काचर्की प¥यो ।

मंगलबार काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह र कार्यपालिका सदस्यबीच चर्काचर्की नै प¥यो । विगतमा धरान उपमहानगरपालिकामा देखिने नियति काठमाडौंमा पनि देखियो । विषय थियो–कर्मचारीमाथि बालेनको डन्डा । शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई मेयर शाहले स्पष्टीकरण सोध्दै बिदामा बस्न भनेका छन् । कोइरालाले पुरानो बानेश्वरस्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय सञ्चालन गर्न अनुमति दिएका थिए । महानगरको शिक्षा समितिसँग समन्वय नगरी अनुमति दिएको उनीमाथि आरोप छ । यसबारे महानगरले माघ १२ गते नै उनीसँग स्पष्टीकरण सोधेको थियो । कोइरालालाई कारबाही गर्नेबारे कार्यपालिकाको बैठकमा छलफलको एजेण्डा बनाइएको थियो । मेयर बालेनले कोइरालाले आफूले गल्ती गरेको स्वीकार गरेकाले कसरी कारबाही गर्ने भन्ने निर्णय अनमोदनका लागि कार्यपालिकामा प्रस्ताव गरेका थिए । तर वडाध्यक्षहरुले भने कर्मचारीमाथि कारबाहीको डन्डा चलाएर मनोबल कमजोर बनाउने काम भएको भन्दै कर्मचारीकै पक्षपोषणमा उभिए ।

यसअघि पनि बालेनने करार कर्मचारीको विषयलाई लिएर आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका थिए । त्यही समयदेखि दबाबमा रहेका पार्टी निकट जनप्रतिनिधिहरुले सम्बन्धनको विषयमा समेत ती कर्मचारीले सो कार्य नियतबश गरेका हुन् वा होइनन् भन्नेबारे छानविन गर्नुपर्नेमा जोड दिइरहेका थिए । काम गर्ने क्रममा त्रुटी हुन सक्ने भन्दै कर्मचारीको भाग्य र भविष्यमा फैसला गर्ने अधिकार कार्यपालिकाले लिँदा कर्मचारीमा मनोवैज्ञानिक असर पर्ने बताइरहे । केहीबेर स्पष्टीकरण र कारवाहीबारे नै चर्काचर्की प¥यो ।

लामो विवादपछि मेयर शाहले राखेको कारवाहीसम्बन्धी प्रस्ताव अनुमोदन भएन । लगत्तै मेयर शाहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरुमाथि आक्रोश पोखे । उनले वडाध्यक्षहरू आफ्नो पार्टीका कर्मचारीलाई बचाउन लागिपरेको आरोप लगाएका छन् । ‘कर्मचारीबाट के गलत भएको हो ? भन्ने पनि थाहा छ । कर्मचारी स्वयमले मैले गलत गरेको हो भनेर लिखित रूपमा स्वीकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ के हो ? वडाअध्यक्षज्यूहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल’, शाहले भनेका छन् । स्वच्छ कर्मचारीहरूको मनोबल सधैँ उचो हुने बालेनको भनाइ छ । बैठकमा महानगरले गर्ने निर्णयमै पनि प्रश्न उठेको थियो । न्यूरोड क्षेत्रको पार्किङबारे अहिले व्यवसायी र वडाध्यक्षहरु नै विवादमा रहेका बेला यसअघि भएका निर्णयहरु अदालतले उल्ट्याएकोमा समेत प्रश्न गरे । यसक्रममा कार्यपालिका सदस्यले तत्कालीन समयका क्रुर तथा निरंकुश शासक लुइस १४ को ‘म नै राज्य हुँ’ भन्ने भनाइलाई बालेनसँग जोडेर टिप्पणी गरे ।

हालसम्म नर्भिक अस्पतालको संरचना भत्काउने, विद्यालय व्यवस्थापन समिति भंग गर्ने, हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने, सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध, निजी पार्किङको शुल्क लिन नपाउने, टुकुचा खोला उत्खनन् तथा सुकुम्बासी बस्ती हटाउने लगायतका निर्णयमा सर्वोच्च र उच्च अदालत पाटनले रोक लगाएका छन् । संयोग नै मान्नुपर्छ धरानकै कार्यपालिकाको नियति काठमाडौंले भोगेकै दिन मेयर हर्क साम्पाङ र बालेनको भेट भएको थियो । निर्वाचित भएको करिब दुई वर्ष पुग्नै लाग्दा काठमाडौं महानगरले खासै विरोधको सामना गर्नु परेको थिएन । तर एकपछि अर्को निर्णयमा अदालतको अंकुश र पछिल्लो समय पार्किङ निषेधको निर्णयले बालेनमाथि वडाध्यक्षहरुको घेराबन्दी बढ्दो छ । केही दिनअघि मात्रै कांग्रेसका जनप्रतिनिधिले प्रकाशमान सिंहसँग भेट गरेका थिए । यस्तै एमाले निकटकाहरुले पनि शीर्ष नेतृत्वलाई भेट्ने तयारी गरिहरहेका छन् । यसले पनि बालेनलाई झुकाउन शीर्ष राजनीतिक नेतृत्व नै लागिपरेको देखिन्छ । काठमाडौं महानगरमात्र नभइ धरान र धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्रबाट जितेका नगर प्रमुखहरुको समय दलीय आधारमा जितेका जनप्रतिनिधिसँग शक्ति सन्तुलन मिलाउनमै ठिक्क छ ।