अन्तर्राष्ट्रिय

परिवारवादमा फस्यो पाकिस्तान, शरिफका भाइ प्रधानमन्त्री, छोरी मुख्यमन्त्री, सेनाकै हातमा भविष्य (भिडियोसहित)


काठमाडौँ— कुनै पनि दलले एकल बहुमत ल्याउन नसकेपछि पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बन्ने भएको छ । नवाज शरिफको पार्टी पीएमएल नेतृत्वमा गठबन्धन सरकार गठनको तयारी भएको हो । पूर्वप्रधानमन्त्री नवाज शरिफले आफ्ना कान्छा भाइ सहबाजलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।

पकिस्तानमा गत बिहीबार सम्पन्न चुनावमा कुनै पनि दलले एकल बहुमत ल्याउन नसकेपछि पाकिस्तानमा मात्रै नभई यसले विश्वभर नै हलचल मच्चाएको थियो । विशेष गरी पाकिस्तानमा अब कसको सरकार बन्छ ? भन्ने विषय सबैको चासोमा प¥यो । तर, अहिले पाकिस्तानमा ६ दलीय गठबन्धन सरकार बन्ने निश्चित भएसँगै विभिन्न कोणबाट टिप्पणीसमेत हुन थालेको छ । सेनाको इसारामा चल्ने पाकिस्तानको नेतृत्व अन्ततः शरिफ परिवारमै सीमित हुने देखिएको छ । नवाज शरिफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरिफलाई अगाडि सारेका छन् । साथै उनले छोरी मरियमलाई पन्जाब प्रान्तको मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । शहबाज शरिफ पनि पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।


तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउन लागेको हो । शरिफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने भएको हो । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ ।

पीएमएल–एन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग (क्यू –पीएमएल–क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम–ए–पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन् । ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने बताएका थिए । पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन् ।

२४ करोड १० लाख जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु छ । चुनाव अगाडिसम्म नवाज शरिफलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शहबाज शरिफको चाहना दाजु नवाज शरिफ चौथो पटक प्रधानमन्त्री होउन् भन्ने थियो । तर नवाज शरिफले आफू प्रधानमन्त्री नबन्ने भन्दै भाइलाई अघि सारे । शहबाज शरिफ नाताको हिसाबले नवाज शरिफका कान्छो भाइ हुन् । उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए ।


पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो । शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरिफ तथा उनका दुई छोराहरुविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए)ले मुद्दा दायर गरेको थियो । शहबाज र उनका छोराहरुविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ कमाएको आरोप थियो ।


जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो । विशेष अदालतले उनीहरुलाई सफाइ दिएको थियो । त्यसो त पाकिस्तानमा सेना राजनीतिक मामिलाको एक प्रमुख खेलाडी हो । सेनाले चाहे केहीबेरमै सरकार ढाल्ने क्षमता राख्छ । सन् १९४७ देखि तीन दशकभन्दा बढी समयसम्म प्रत्यक्षरूपमा शासन गरेको अनुभव सेनासँग छ । पाकिस्तानमा सेनाको सहयोगमा सरकार बने पनि यसले भने स्थिरता अहिलेसम्म पाउन सकेको छैन । त्यति मात्रै हैन पाकिस्तानको राजनीतिमा अहिलेसम्म निर्वाचित भएकै प्रधानमन्त्रीले पूरा कार्यकाल कसैले पनि बिताउन पाएका छैनन् । अब बन्न लागेको गठबन्धन सरकार के कति दिगो रहन्छ भन्ने पनि प्रश्न उठिरहेको छ । यसले देशलाई स्थायित्व तर्फ लैजान्छ वा पुनः सेनाले सत्ता हातमा लिन्छ ? त्यो भने निकट भविष्यको राजनीतिले तय गर्ने विश्लेषकहरुको भनाइ छ ।