Breaking

०८४ मा माओवादीको एक्लै बहुमत, हट्ला टिके प्रथा ? विधान अधिवेशनबाट के चाहन्छन् नेता ?


काठमाडौँ – नेकपा माओवादी केन्द्रको ऐतिहासिक प्रथम विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ । पार्टी संगठनको संरचना तयार पार्न केन्द्रित विधान अधिवेशन तीन दिनसम्म चल्ने छ । कहिले एमालेको त कहिले कांग्रेसको बुई चढेर सत्ता यात्रा गरिरहेको माओवादीले अबको निर्वाचनमा भने आफ्नै बलबुतामा निर्वाचन जित्ने दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आईसकेपछि बल्ल आफ्नै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्न खोज्दै छ । नेपालको संविधानअनुसार नै पार्टीलाई लोकतान्त्रिकीकरण गर्न खोजेको माओवादीले संगठनात्मक संरचना पनि त्यही किसिमको बनाउन मंगलबारदेखि राजधानीमा जुटेको छ । केन्द्र, प्रदेश, जिल्ला र पालिका समितिहरूलाई सक्रिय गर्नु पर्ने भन्दै माओवादी तीन दिनसम्म बृहत् छलफलमा जुटेको हो । विधान अधिवेशनमा मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने प्रस्ताव गरेका छन् । साथसाथै समावेशी प्रतिनिधित्व न्यायोचित हुने गरी गर्नुपर्ने बताएका प्रचण्डले १० प्रतिशत निश्चित कोटा राख्ने प्रस्तावसमेत गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा २० वटा समूह विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल भइरहेको छ ।

कम्युनिस्ट पार्टीको रक्त सञ्चार नै राजनीतिक सिद्धान्त र नीतिबाट हुन्छ । नीतिमा नै पटक पटक विचलित भएको आरोप लागेको माओवादीले जन्मेदेखि नै विधान फेर्न सकेको छैन । पहिले पटक विधान अधिवेशन गर्ने आँट गरेको माओवादी अहिले आफ्नो सैद्धान्तिक धारमा छलफल चलाइरहेको छ । पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले माओवादी छोड्नुका कारण नै नीति भएको हुँदा प्रचण्ड पुनः जोड्नलाई नीति विधानमा हेरफेर गर्न चाहन्छन् । माओवादमा नै बाबुराम फर्कन असम्भव हुँदा पार्टीको नाम नै फेरेर नेकपा समाजवाद तिर प्रचण्ड लम्किरहेका छन् । तर, प्रचण्डले नाम नै परिवर्तन गरेर बाबुराम लगायतका समाजवादी मोर्चालाई पुनः एकता गर्न चाहे पनि तत्कालका लागि यो सम्भव नभएको पार्टीकै नेताहरु बताउँछन् ।

माओवादी सत्तामा हुँदा नै नेतृत्वबाट नेता कार्यकर्ता असन्तुष्ट छन् । जनवर्गीयको मुद्दा बोकेर राजनीतिमा स्थापित भए पनि अहिले सत्ता प्राथकितामा पर्दा माओवादी निरन्तर ओरोलो लाग्नेक्रम जारी छ । कहिले एमाले त कहिले कांग्रेसको बुई चढेर सरकारको नेतृत्वमा पार्टी पुगे पनि आकार भने झन् साँघुरिँदै गएको छ । प्रचण्डलाई डाइनामिक नेताका रुपमा प्रस्तुत गर्दैगर्दा उनी ओली र देउवाको खेल्ने गोटी मात्रै भएका छन् । गठबन्धन गरेर सत्तामा पुगे पनि उनलाई बारम्बार स्थानीयदेखि केन्द्रसम्म नै गठबन्धनबाट धोका भइरहेको छ । यसैमा माओवादीबाट जिल्लामा राजनीति गर्दै आएका नेताहरूको गुनासो छ । नीतिदेखि विधान फेर्नलाई देशभरिबाट आएको माओवादी नेताहरू अब सधैँ धोका दिने गठबन्धनलाई बोकेर हिँड्न नसकिने भन्दै आगामी चुनावमा एक्लै आफ्नै बलबुतामा चुनाव जित्ने हैसियतमा जानु पर्नेमा जोड दिइरहेका छन् ।

पार्टीलाई कसरी सञ्चालन गर्ने भनेर नीति तयार पार्न माओवादी पहिलो पटक विधान अधिवेशनमा जुटेको छ । पार्टीभित्र रहेका जनवर्गीय संगठनहरू भुत्ते भएको महसुस गरेको माओवादीले पुनः लोकतन्त्रकै अभ्यासबाट प्रत्यक्ष निर्वाचन गरेर स्थानीयदेखि केन्द्रसम्म नै पदाधिकारी र समिति गठन गर्ने प्रस्ताव गरेको छ । देशभरिका माओवादी नेता कार्यकर्तालाई काठमाडौं उतारेर नीति र विधान मस्यौदामा गरेको छलफलले के निष्कर्ष निकाल्ला ? भन्ने देश हाक्ने पार्टी भएका कारण सबैले चासोका साथ हेरिरहेका छन् ।