Breaking

गठबन्धनमा अध्यक्षको गाँठो, प्रचण्डले दाबी तेर्साए, देउवाले सिटौलालाई दिएको वचन होला पूरा ?


काठमाडौँ – आगामी फागुन २० गते राष्ट्रिय सभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिँदै छ । निर्वाचन आयोगले फागुन २९ गते भावी राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन गर्न प्रस्ताव गरेको छ । राष्ट्रिय सभाको अध्यक्ष पद कसले पाउने, सत्तारुढ गठबन्धनभित्र हानथाप सुरु भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफूले अध्यक्ष पाउनु पर्ने दाबी गरिरहेका छन् । राष्ट्रिय सभाको अध्यक्ष पद हत्याउने हानथापमा बाजी कसले मार्ला चासो बढ्न थालेको छ ।
२४ दिनपछि संसदको उपल्लो थलो राष्ट्रिय सभा अध्यक्षको पद रिक्त हुँदैछ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० गते आफ्नो ६ वर्षे कार्यकाल पूरा गर्दै फागुन २१ गतेदेखि विदा हुँदैछन् । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिकाअनुसार फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने देखिन्छ । राष्ट्रिय सभामा गठबन्धनको स्पष्ट बहुमत भएकाले गठबन्धनकै उम्मेदवार अध्यक्ष निर्वाचित हुनेछन् । जित सुनिश्चित भएको अध्यक्ष पदका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ–आफ्नो दावी गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमै राष्ट्रिय सभामा ठूलो दलको हैसियतले अध्यक्षमा माओवादीको दाबी रहेको स्पष्ट पारिसकेका छन् । राष्ट्रिय सभामा पहिलो दल भएकाले अध्यक्षमा पार्टीको दाबी स्वभाविक हुने माओवादीका नेताहरुको तर्क छ भने अर्कोतर्फ आलोपालो प्रधानमन्त्रीको सहमतिअनुसार अर्को वर्ष कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेपछि संवैधानिक परिषद्ममा माओवादीको प्रतिनिधित्व शून्य हुने भएकाले पनि जुनसुकै हालतमा राष्ट्रिय सभाको अध्यक्ष छोड्न नसकिने उनीको भनाइ छ ।

राष्ट्रिय सभामा १७ सिटसहित माओवादी सबैभन्दा ठूलो दल बनेको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी, सभामुख र उपसभामुख हुने व्यवस्था छ । तर प्रधानमन्त्री ‘प्रचण्ड’ले सत्ता छाड्दा संवैधानिक परिषद्मा आफ्नो उपस्थिति शून्य हुने पिरले अध्यक्षमा माओवादीले हठ कसेका छन् । राष्ट्रिय सभाको चुनावमा कोशी प्रदेशमा कांग्रेसबाट पाएको धोकाका कारण राष्ट्रिय सभाको अध्यक्ष नछोड्न माओवादीलाई थप बल मिलेको छ । तर माओवादीका लागि त्यति सहज भने छैन । अझ भनौँ प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय सभा अध्यक्षको चुनावले धर्मसंकटमा छन् । पहिलो राष्ट्रिय सभा चुनाव ताका नै राष्ट्रिय सभाको अध्यक्षमा प्रचण्डले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बचन नै दिइसकेका छन् । प्रधानमन्त्री पदका लागि सबै कांग्रेसलाई लुटाएका प्रचण्डले पुनः धोकेबाज कांग्रेसलाई बोक्लान् ? प्रधानमन्त्री पद जोगाउन प्रचण्डले पार्टी कत्ति रित्याउँछन् ? भन्ने विषय गहन बनेको छ । फरक दल र लिंगका आधारमा अध्यक्ष÷उपाध्यक्ष चयन हुने भएकाले माओवादीबाट उम्मेदवारको दावेदार उर्मिला अर्याल उपाध्यक्ष छिन् । अध्यक्षमा लड्न उनले उपाध्यक्षबाट राजीनामा दिनुपर्ने हुन्छ । उपाध्यक्ष अर्याल राजीनामा दिएर उम्मेदवार बन्न सक्ने बुझिएको छ ।
यता नेपाली कांग्रेस पनि राष्ट्रिय सभा अध्यक्ष कुनै पनि हालतमा नछाड्ने पक्षमा छ । आन्तरिक राजनीतिलाई आफू अनुकूल व्यवस्थापन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउँदै छन् । राष्ट्रिय सभा चुनावको भागबण्डाताका नै प्रचण्डले समेत सिटौलालाई अध्यक्ष बनाउन सहमत भएकाले कांग्रेस त्यसैमा टेकेर खेल्ने देखिन्छ । कांग्रेस सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउँदै राजनीतिमा कमव्याक गराउने ध्याउन्नमा छ ।

राष्ट्रिय सभा अध्यक्षलाई लिएर गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रको खिचातानीले कतै गठबन्धन नै संकटमा पर्ने त होइन ? भन्ने संशय बढेको छ । तथापि सत्तारुढ दलका नेताहरु सहमतिमै राष्ट्रिय सभाको नेतृत्व चयन हुने दाबी गरिरहेका छन् ।

दलीय भागबण्डाको रस्साकस्सी सधँै पेचिलो हुने सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको अध्यक्षमा कसरी सहमति जुट्छ ? अहिले चासो बढ्नु स्वभाविक हो । यसबीचमा गठबन्धनभित्र सिटौलालाई गृहमन्त्री थमाएर अध्यक्षमा सहमति जुटाउने प्रयास हुने पनि अड्कल गरिएको छ ।