समाचार

उपेन्द्र र सिकेको लडाई, मधेसदेखि विदेशसम्म, सुत्दा नेपालमा उठ्दा भारतमा, कसले चर्काउदै छ आन्दोलन ?(भिडियोसहित)


काठमाडौँ— एउटै राजनीतिक मुद्दा बोकेर मधेशमा राजनीति गर्नेहरूकै कारण अहिले मधेश अशान्त बनिरहेको छ । मधेशको एजेण्डा बोकेर राष्ट्रिय राजनीतिमा उदाएका पार्टीका नेतृत्वहरूले मधेशको मुद्दा बिर्सेर आफ्नो प्रतिष्ठालाई प्राथमिकतामा राख्दा मधेशको राजनीति संकट उन्मुख बन्दै छ ।

मधेशमा अहिले एक पछि अर्काे विरोध र आन्दोलन भइरहेको छ । सरकारमा सामेल भएका हुन् वा बाहिर रहेका । क्षेत्रीय राजनीति गर्दै आएका अधिकांश दलहरूले नै सडक तताइरहेका छन् । कहिले सीके राउत नेतृत्वको जनमतले विश्वविद्यालयको मुद्दालाई लिएर प्रदर्शन गर्छ त प्रदेश सरकारको नेतृत्व गरिरहेको उपेन्द्र यादवको जनता समाजवादीले त्यही प्रदर्शन रोक्न मन्त्रीकै टाउको फुटाएर अशान्ति मच्चाउँछ । अहिले फेरि मधेशमा नै राजनीतिक आधार देखेको आम जनता पार्टी आन्दोलनमा छ । कहिले माओवादी त कहिले एमाले बनेका प्रभु साहले नेतृत्व गरेको आजपा बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता गर्नु पर्ने भन्दै आन्दोलनमा छ । जसमा २३ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ नै गरिसकेको छ ।

झण्डै दुई दशकदेखि मधेशको मुद्दालाई लिएर केन्द्रमा एक छत्र राज गरिरहेका उपेन्द्र यादव र नयाँ आएको जनमतका सीके राउतबीच निषेधको राजनीतिले अस्थिरता तिर जाने संकेत गरिसकेको छ । जनमतका दुई मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता गरिसकेका छन् । मधेशलाई उन्नत र मधेशीलाई अधिकार दिलाउँछु भन्दै सत्ताको यात्रा गरिरहेकाहरूलाई अहिले एक अर्कालाई उछितो काट्दैमा फुर्सद छैन । मधेशको मुद्दामा भन्दा पनि आफ्नो स्वार्थ र प्रतिष्ठालाई महत्व दिएका उनीहरू एकअर्काको कट्टर दुश्मन बनेका छन् ।

मधेशको राजनीतिलाई सत्ताको भ¥याङ बनाउन सहज हुने बुझेका मधेश केन्द्रित दलहरू पटक पटक एक हुँदै फुट्दै गरेका छन् । एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने उनीहरूको चरित्र नै निषेधको राजनीतिमा पर्ने गरेको छ । मधेशमा एकले अर्कालाई निषेध गर्ने राजनीति चलिरहँदा मधेश केन्द्रित क्षेत्रीय दलकै कारण अहिले त्यहाँको राजनीति संकटग्रस्त त छ नै संक्रमणतिर पनि बढेको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टीले पाइरहेको मत अहिले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तिसहितका चार पार्टीमा बाडिँएको छ । एजेन्डा एउटै भए पनि आफ्नै स्वार्थका नाममा दलको सटर खोलेर बसेकाहरूले जति गरे पनि त्यही १०÷११ प्रतिशतका लागि नै प्रतिष्पर्धा गर्ने हो । सबै मधेश केन्द्रित दलहरूको भोट बैंक बनेको मधेशको मुद्दा एउटै हो तर, पनि एकअर्काविरुद्ध उनीहरु आफैँ भिडिरहेका छन् ।

२०६३ सालमा २० दिन चलेको आन्दोलटबाट ५४ जनाले सहादत प्राप्त गरेपछि मधेश आन्दोलनबाट धेरै नेताको जन्म भयो । साथै उनीहरू निरन्तर सत्ताको यात्रा पनि गरि नै रहेका छन् । तर, मधेशको मुद्दा अहिले पनि सम्बोधन हुन सकेको छैन । मधेश केन्द्रित क्षेत्रीय दलहरू संकटमा हुँदा त्यसको फाइदा मुलधारका प्रमुख दलहरूले उठाउनसमेत सकेका छैनन् । मधेशको विरासत खोस्नसमेत कोसिस नगरेका ठूला भनिएका दल पनि खस्किएका छन् । क्षेत्रीय दलबीच प्रतिष्ठा जोगाउने प्रतिस्पर्धा र अन्य दलले बेवास्ता गर्दा मधेश नेता र मन्त्री जन्माउने थलो मात्रै बनेको छ ।