Breaking

सिटौलाको फर्कियो विरासत, माओवादी ठूलो दल, ओलीको ढोक्सामा एक सिट


काठमाडौँ – १९ सिटका लागि आज भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले १८ सिटमा जित हात पारेको छ । कोशीमा गठबन्धनकै मतदाताले फ्लोर क्रस गर्दा प्रतिपक्षी दल एमालेले एक सिट जित्न सफल भएको छ ।
१९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा सबै सिट जित्ने निश्चित देखिएको सत्ता गठबन्धनले एक सिट गुमाएको छ । त्यसमा हार्ने निर्वाचनमा पनि १९ वटै सिटमा उम्मेदवार उठाएको नेकपा एमालेले भने एक सिट पाएको छ ।

यसो हुँदा माओवादी केन्द्रलाई भने एक सिट घाटा लागेको छ । किनभने कोशी प्रदेशमा सत्ता गठबन्धनका सांसदले फ्लोर क्रस गर्दा एमालेकी रुक्मणी कोइरालाले मौका पाइन् । कोइराला ५ हजार ८६ मतसहित विजयी हुँदा माओवादीकी चम्पा कार्कीले भने ४ हजार ९२२ मत पाइन् । गठबन्धनलाई ९४ मतभार कम प¥यो । एमालेकी कोइरालालाई जिताउन स्थानीय तहमा सत्ता गठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले फ्लोर क्रस गरेका छन् । नेताले नेता नै छान्ने निर्वाचनमा पनि कांग्रेसका नेताले विद्रोह गर्दै दुई कम्युनिस्ट छान्दा हसियाँ हथौडा छाडेर सूर्य छापमा मतदान गरे ।

यस्तै कोशीबाट अन्य क्लस्टरमा भने कांग्रेसका कृष्णप्रसाद सिटौलाले बाजी मारेका छन् । दुईपटक संसद छिर्नबाट जनताले अस्वीकृत गरेका सिटौलाको राष्ट्रिय सभा अध्यक्ष बन्ने सपना पूरा हुने भएको छ । सुरुमा एमालेले जितेको घटनाले झस्किएका सिटौलालाई राष्ट्रिय सभाको मत गणनामा राप्रपाका उद्धव पौडेलले अग्रता लिएका थिए । जसको तनावले सिटौलाले मतगणना स्थल नै छाडेका थिए । तर स्थानीय तहतर्फको मत गणनाले सिटौलालाई राहत दियो । यसो हुँदा सत्ता गठबन्धनका २ सांसदले फ्लोर क्रस गरेका छन् । अन्ततः सिटौलाले गठबन्धनको साख जोगाए । यद्यपि फ्लोर क्रसको अवस्था हेर्दा शेखर कोइरालाका सांसदले एमालेप्रति सदासयता देखाएको बुझ्न सकिन्छ ।

अन्य प्रदेशहरुमा भने सत्ता गठबन्धनकै पल्ला भारी भएको छ । मधेशमा कांग्रेसका आनन्द ढुंगाना ७ हजार ३७०, जसपाका पूजा चौधरी ७ हजार ९२३ मतसहित विजयी भएका छन् । बागमतीमा दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल – ६ हजार ५१२ मत, महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी–६ हजार ६२२ मत सहित विजयी भए । यस्तै अन्यतर्फ कांग्रेसका उम्मेदवार जितजंग बस्नेत ६ हजार ५३१ र अल्पसंख्यकतर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी ६ हजार ४३६ मतले विजयी भए । गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनले शतप्रतिशत जित निकालेको छ ।

त्यहाँ अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ ३ हजार ८०८ मत, अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार ३ हजार ७ सय ७४ र महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा ३ हजार ६६० मतसहित विजयी भएका छन् । उता लुम्बिनी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् । उनीहरु दुबैले समान ५ हजार ४३५ मतभार पाएका छन् । गठबन्धनको सहमति अनुशासनपूर्वक लुम्बिनीमा पालना भएको देखिएको छ ।
कर्णालीमा पनि सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत र अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मत सहित विजयी भएका छन् ।


योसँगै राष्ट्रिय सभामा फागुन २१ गतेपछि माओवादी नै पहिलो दल बन्ने देखिएको छ । १ सिटमा धोका खाए पनि उसँग राष्ट्रिय सभामा १७ सदस्य हुने छन् । अहिले राष्ट्रिय सभामा १० सिटमात्रै रहेको नेपाली कांग्रेस अब १६ सिटसहित दोस्रो दल हुने भएको छ । १७ सिटसहित पहिलो दलका रुपमा रहेको एमालेका ८ सांसद बिदा हुँदा एक सिट कोशीमा जितेको छ । योसँगै एमाले अब संसदमा १० सिटसहित तेस्रो दल बन्ने छ । एकीकृत समाजवादी भने ८ सिटसहित चौथो दल बनेको छ ।