Breaking

जिल्ला दौडमा सिटौला, कांगे्रसका शिर्ष नेतानै कोशीमा, ओली–लिङ्देनको षडयन्त्रकै डर (भिडियोसहित)


काठमाडौँ— माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर ५२ जनामध्ये चर्चामा कोही छ भने उनी हुन् कांग्रेस नेता कृष्ण प्रसाद सिटौला । दुई–दुई पटक चुनाव हारेका सिटौलाको संसद सपनासहितको दौडधुपले धेरैको ध्यान तानेको छ ।

लगातार दुई–दुई पटकको आम निर्वाचनमा जनताले नपत्याएका कृष्णप्रसाद सिटौलालाई पार्टी सभापति शेरबहादुर देउवाले पत्याएपछि पुनः संसद छिर्ने दौडमा छन् । प्रतिनिधिसभाको अवधि चार वर्ष बाँकी हुँदै सिटौला संसदको उपल्लो थलो राष्ट्रिय सभा चुनावको उम्मेदवार बनेकाछन् । सबैभन्दा धेरै चर्चासँगै चासोपूर्ण रुपमा हेरिएका सिटौलाको संसद यात्रा गठबन्धनको मतभारले सुरक्षित गर्ने स्पष्ट छ । जनताले नपत्याएका सिटौलालाई गठबन्धनका नेताहरुले मिलिजुली संसद छिराउँदैछन् ।

राजनीतिक समीकरणअनुसार सत्तारूढ गठबन्धनकै पल्लाभारी देखिन्छ । राष्ट्रिय सभा चुनावमार्फत राष्ट्रिय राजनीतिमा कमव्याक गर्ने रणनीतिमा रहेका सिटौला मतदाता फकाउन जिल्ला दौडमा छन् । जित सुनिश्चित भए पनि सिटौला आफ्ना गुटका नेताहरु बोकेर मतदाता फकाउन व्यस्त छन् । राष्ट्रिय सभाका मतदाता स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेश सांसदहरु फकाउनेदेखि गठबन्धन रिझाउन अनेक तिकडम उनले अपनाइरहेका छन् । गठबन्धनभित्र नै अनबन बढिरहेका बेला सिटौला गठबन्धनको मन जित्ने विश्वासमा गठबन्धनको भविष्य दशकको भएको दाबी गर्दै हिँडेका छन् ।

गठबन्धनको मतभारका आधारमा सिटौलाको संसद यात्रा सुरक्षित छ । तर सिटौलाले गठबन्धनभित्रै मत पाउने विषयमा आशंका छ । अझ आफ्नो गुटका नेता च्यापेर जिल्ला जिल्ला पुगेका सिटौलाले गठबन्धनकै मत पाउनेमा संशय देखिएको छ भन्दा अनौठो नमाने हुन्छ । कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएकाहरु यो मुद्दामा सांसदहरु नढल्किएलान् भन्न सकिन्न । राष्ट्रिय सभामा सिटौलाको प्रवेश प्रधानमन्त्री एवंम माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि सुखद रहे पनि समग्र पार्टीपंक्तिका लागि भने त्यति सुखद हुने छैन ।

राष्ट्रिय सभा छिर्दै कि त अध्यक्ष नभए हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाएर सरकार हाँक्ने सिटौलाको इच्छामा दुईतिर नै पार्टी सभापति देउवाको समेत समर्थन देखिन्छ । सत्ता राजनीतिको दृष्टिले यो विषय माओवादीका लागि असहज हो । माओवादी र कांग्रेस नेताहरुबीचको मतभेदको असर कतै सिटौलालाई पर्ने र सिटौला कोशीमा पनि असफल हुने त होइनन् भन्ने विश्लेषण हुनु पनि नयाँ होइन । प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपा मिले सिटौला नहारे पनि कडा चुनौतीको सामना गर्नु पर्ने पक्का छ । गठबन्धनसँग मिलेर सभामुख पद खाइरहेको राप्रपाले सिटौला राष्ट्रिय सभामा जाँदा अध्यक्ष राजेन्द्र लिङदेनलाई आगामी चुनावका लागि बाटो क्लियर हुनेभन्दै चित्त बुझाएर बस्छ वा एमालेसँग मिलेर सिटौलालाई टक्कर दिन्छ तत्काल अनुमानभन्दा बाहिर छ । कांग्रेस नेताहरु सिटौला राष्ट्रिय सभाका लागि चाहिने व्यक्ति भएको र उनी राष्ट्रिय सभामा आउनेमा ढुक्क छन् ।

लामो समयको प्रतिक्षापछि संसद छिर्ने दाउमा रहेका सिटौला संसद छिर्ने मात्र होइन राष्ट्रिय सभाको अध्यक्ष बनेर संसद हाक्ने होडमा छन् । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्ने सिटौला देउवा निकट रहेका कारण पनि सभापति देउवा उनको दाहिने हुनेमा दुईमत छैन । त्यस्तै विस्तृत शान्ति सम्झौता पूर्व नै प्रचण्डसँग नजिक रहेका सिटौलाले संसद छिरे चिताएको पद पाउनेमा प्रष्ट छ । तर कुनै व्यक्तिको जित–हार र राष्ट्रिय सभाको नेतृत्व गर्ने विषय नियमित भएको विश्लेषण कतिपयको छ ।

गठबन्धनमा कुनै बेइमानी नभए, सिटौलाको राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल लगभग पक्का छ । प्रतिनिधिसभामा गठबन्धन नफापेको सिटौलालाई राष्ट्रिय सभा फाप्छ या फाप्दैन गठबन्धनका नेता तथा मतदाताको हातमा उनको भविष्य छ ।