समाचार

योगेश वैद्यको बिदाईमा आर्यघाट सुनसान, राज्यदेखि कलाकारकै भएन उपस्थिति, कम छैन संगीतमा योगदान (भिडियोसहित)


काठमाडौँ— नेपालले आज नेपाली संगीतका एक जीवित इतिहास योगेश वैद्यलाई गुमाएको छ । ७७ वर्षीय संगीतकार तथा गितकारको निधनले नेपाली संगीतका साथै भाषा, कलामाथि पनि अपुरणीय क्षती पुगेको छ भने एक अभिभावकलाई गुमाएको छ ।

यो कर्णप्रिय स्वरका धनी अब नेपालीजनको सम्झनामा मात्रै रहने भएको छ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यले ७७ वर्षको उमेरमा आफ्नो देहत्याग गर्नु भएको छ । कालजयी गीत स्रष्टा वैद्यले शुक्रबार मध्यराति साढे १२ बजे उपचारको क्रममा सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा यो संसारबाट आफ्नो इहलीला त्याग गर्नुभयो । । उहाँको देहत्यागपछि पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । नेपाल सङ्गीतकार संघले श्रद्धाञ्जलि सभाको आयोजना गर्दै नेपाली संगीतमा वैद्यले पु¥याउनु भएको योगदानको स्मरण गरेको थियो । आम सर्वसाधारणदेखि विभिन्न कलाकर्मीहरूले उहाँको पार्थिव शरीरमा फूलमालासहित पुष्पगुच्छा समर्पण गरेर उहाँकै स्वरमा सुसज्जित सर्वकालिक गीत गाउँदै श्रद्धाञ्जलि व्यक्त गरे ।

संगीत क्षेत्रका महारथी मानिने नातिकाजीले संगीत गरेका यो गीत अहिले पनि नेपालीको मनमष्तिष्कमा उत्तिकै लोकप्रिय छ । वैद्यको निधनले कुनै एक व्यक्ति, परिवार वा समुदायलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै अपुरणीयण क्षती पुगेको छ । आफ्नो जिवनकालमा नेपाली गीत संगीतमा मात्रै नभई नेपाल भाषाको संरक्षण र संवद्र्धनमा पनि उत्तिकै अघि बढाउनु भएका उहाँले नेपाली सांगितिक क्षेत्रमा कालजयी सिर्जनाहरु दिनु भएको छ । नेपाली गायन र संगीतका जीवित इतिहासका रुपमा रहनु भएका वैद्यको निधनले नयाँ पुस्तालाई बितेका दशकौंसँग साक्षात्कार गर्ने पुल पनि टुटेको छ । उहाँको समीप रहेर काम गरेकाहरू उहाँको अन्तिम श्रद्धाञ्जलिमा भावुक देखिए भने उहाँलाई यसरी अन्तिम बिदाई गरे ।

उहाँको अभिरुची गायन हुँदा संगीतलाई कहिल्यै पेशा बनाउनु भएन । संगीत र गायनलाई पेशा नबनाएकै कारण उहाँले सधैं सुगमसंगीत गीतलाई नै प्राथमिकतामा राख्नु भयो । त्यसैले गीत गाउँदा उहाँले जहिले पनि गीतको शब्दमा ध्यान दिनु भयो । करिब साढे तीन सयभन्दा बढी गीत गाउनु भएका उहाँको सबै गीतमा अथाह भावनाले भरिपूर्ण जीवन्त छन् । फलतः त्यो नै अहिले उहाँको पहिचान बनेको छ । ब्रह्मलिन हुनुभएका वैद्यका लागि आज एक दिन शोक मनाउँदै गर्दा आफ्नो संगीत र गायनले राष्ट्रका लागि गर्नु भएको ठूलो योगदानको सम्मान भने राज्यबाट हुन सकेन । उहाँको श्रद्धाञ्जलिमा कलाक्षेत्रका व्यक्तित्वबाहेक राज्यको कुनै पनि निकायको उपस्थिति देखिएन ।

पछिल्लो लामो समय वैद्य मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । गायक वैद्यको केही समयअघि मिर्गाैलासमेत प्रत्यारोपण गरिएको थियो भने उहाँ पछिल्लो समय रुघाखोकीबाट पनि ग्रसित हुनुहुन्थ्यो । ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, आखैँमा रात गली, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ लगायतका नेपाली गीत तथा नेपाल भाषाका ‘जय नमो सिरि बुद्ध भगवान्’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ उहाँका लोकप्रिय गीत हुन्् । गायनका साथै वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम हुनु भएका वैद्यले करिब ३३ वर्ष सरकारी जागिरमा जीवन बिताउनु भएको थियो । बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाटसमेत फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गर्नुभएका उहाँले २०६१ सालमा नेपाल सरकारको सहसचिव पदबाट अवकाश लिनु भएको थियो । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार र विख्यात त्रिशक्तिपट्ट पनि प्राप्त गर्नु भएका उहाँ नेपाली सांगितिक क्षेत्रको आकाशमा सधैँ जाज्वल्यमान तारा जस्तै चम्किरहनु हुने छ ।

गायक वैद्यसँगै नेपाली संगीत क्षेत्रले यो साता तीन स्रष्टालाई गुमाएको छ । यही माघ १ गते अग्रज संगीत संयोजक तथा वाद्यवादक नुर्वु छिरिङ ‘आप्पा’ को निधन भएको थियो । ७५ वर्षको उमेरमा छिरिङको ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको थियो । यस्तै, नेपालभाषाको साथै नेपाली संगीत र कला क्षेत्रका वरिष्ठ गायक तथा कलाकार भृगुराम श्रेष्ठको निधन भएको थियो । क्यान्सर पीडित उहाँले गत पुस २९ गते साँझ वीर अस्पतालमा देहत्याग गर्नु भएको थियो । नेपाली कला तथा सांगीतिक आकाशमा यी तीनै जना स्रष्टा चम्किरहने छन् । उहाँहरु तीनै जनालाई हाम्रोतर्फबाट पनि हार्दिक श्रद्धाञ्जलि ।।