समाचार

चितवनमा सकियो चरा गणना, भरतपुर र माडीमा भेटिए ६१ प्रजाति चरा


काठमाडौँ— चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ।

मिड–विन्टर वाटर वर्ड सेन्सस–२०२४ अन्तर्गत यस वर्ष जिल्लाको पूर्वी, पश्चिम र नारायणी नदीमा छुट्टाछुट्टै समयमा चरा गणना गरिएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज तथा भरतपुर महानगरपालिका र माडी नगरपालिका भित्रका सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ६१ प्रजातिका चराहरू भेटिएका छन्।

यो क्षेत्रमा राप्ती नदीको घडगाईदेखि गोलाघाटसम्म, दिव्यनगरको कृषि क्षेत्र तथा सिमसार, माडीको बगही पोष्टदेखि राप्ती दोभान सम्मको रिउ खोलामा चरा गणना गरिएको थियो।

नेपाल पंक्षी विज्ञ संघका अध्यक्ष रहेका चरा विज्ञ हठन चौधरीले दुई दिन भएको गणनामा ७ हजार ५१७ चराहरू समावेश भएको जानकारी दिए। तीमध्ये ४ हजार ३०४ चखेवाचखेवी रहेको उनले बताए।

राप्ती नदीको घडगाईदेखि गोलाघाटसम्म ४८ प्रजाति चरा भेटिएका छन्। गत वर्ष यहाँ ४४ प्रजातिमात्रै भेटिएका थिए। यसपालि ५ हजार ८७८ चरा गणना गर्दा ४ हजार ३९ वटा चखेवा भेटिएको चौधरीले जानकारी दिए।

बार हेडेड गुज(खोया हाँस) ३५ वटा, गडवाल (खडकडे हाँस) ९९ वटा, मलार्ड (हरियो टाउके) ३३ वटा, गुजेण्डर (मणितुण्डक) ४४ वटा, लिटिल कर्मोरेन (सानो जलकौवा) ७७, ग्रेट कर्मोरेन्ट (ठूलो जलकौवा) ३८२ वटा भेटिए। क्याटल इग्रेट १४२ वटा भेटिए।

दिव्यनगरको कृषि क्षेत्र तथा सिमसारमा ३१ प्रजातिका चरा भेटिएका छन्। यहाँ ५२३ वटा चरा गणना भएको मिड–विन्टर वाटर वर्ड कन्सस–२०२४ का पश्चिम चितवन संयोजक मनेष लिम्बुले जानकारी दिए। यस वर्ष यहाँ १९८ वटा खोया हाँस भेटिएका छन्।

बगही पोष्टदेखि राप्ती दोभान सम्मको रिउ खोलामा ४५ प्रजातिका चरा भेटिएका छन्। यहाँ १ हजार ११६ वटा चरा गणना गरिएको थियो। यहाँ २१२ वटा चखेवाचखेवी भेटिएका थिए।

चरा विज्ञ चौधरीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन् र बढ्दो मानवीय चहलपहलका कारण जलपंक्षीको संख्या घट्दै गएको बताए। प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनले बताए। चरा गणनाका संयोजक लिम्बुले गणनामा स्थानीय तहहरूले पनि सहयोग गरेको बताए।

‘भरतपुर महानगरपालिका, महानगरका वडा नम्बर २२, २३, २५, २७ र २८ तथा माडी नगरपालिकाले आगामि दिन चराको संरक्षणमा सघाउने गरी योजनाहरू निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्,’ लिम्बुले भने, ‘स्थानीय तहले सहयोग गर्‍यो भने चराको बासस्थान सुरक्षित बनाउन सहज हुन्छ।’

यसपालि चितवनको पूर्वी क्षेत्रमा ५३ प्रजातिका चरा भेटिए। गत वर्ष नदेखिएका ४ वटा नयाँ प्रजातिका चरा यसपालि देखिएको वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष टीकाराम गिरीले बताए।

उनका अनुसार यसपालि दस समूहमा विभाजन भएर गरिएको गणनामा कुल ६ हजार ५४० वटा चरा भेटिएका थिए। तीमध्ये सबैभन्दा बढी चखेवा छन्। ३ हजार ६८७ वटा चखेवा, १०८ वटा सानो जलकौवा, ५५६ वटा ठूलो जलकौवा गणना भएको उनले बताए।

पूर्वी चितवनमा लोथरदेखि जिन्दागानी घाट, जिन्दगानी घाटदेखि सौराहा घाट, सौराहा घाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिसहजारी र आसपासका ताल, भण्डारा माछा पोखरी, बुढी राप्ती, ढुंग्रे खोला र पटना तालमा छुट्टाछुट्टै समूह गणनामा सहभागी भएको थियो।

अघिल्लो वर्ष नदेखिएको तिलहरी, मार्स स्याण्डपिपर (मसिनो ठुँडे टिमटिमा), इन्डियन स्पट–विल्ड डक (नादुन हाँस) र ग्रेटर पेन्टेड–स्नाइप (चित्रांगद) यसपाली देखिएको अध्यक्ष गिरीले बताए।