Breaking

इरान र पाकिस्तानको मिसाइल हानाहान, विश्व नै तरंगित, आक्रामक आतंकवादी हमलामा अमेरिकाको आपत्ति


काठमाडौँ – केही दिनयता मध्यपूर्वी एसियाली क्षेत्र तनावको अवस्थामा गुज्रिरहेको छ । पाकिस्तानमा इरानको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइतेपछि पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा जवाफी हमला गरेको छ ।

मंगलबार इरानले गरेको मिसाइल आक्रमणका कारण पाकिस्तान र इरानबीचको सम्बन्ध पुनः गम्भीर मोडमा पुगेको छ । आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्दै इरानले गरेको आक्रमणका कारण २ बालक मारिएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ । इरानले भने अतिवादी संगठन जैश अल–अद्लसँग जोडिएको क्षेत्रमा आक्रमण गरिएको दाबी गरेको छ । इरानले यो हमला त्यतिबेला ग¥यो जब पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल–हक कक्कडले डाभोसमा इरानी विदेशमन्त्रीसँग भेटवार्ता गरिरहेका थिए । पाकिस्तानले पनि त्यसको जवाफमा इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा जवाफी हमला गरेको छ । त्यहाँको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार चरमपन्थीहरुलाई निशाना बनाउँदै सो हमला गरिएको हो ।
जसमाथि हमला गरिएको हो उनीहरू पाकिस्तानमा आक्रमण गर्ने आतंकवादी थिए ।
यिनीहरू इरानको त्यस्तो ठाउँमा शरण लिएर बसेका छन् जहाँ कसैको पनि नियन्त्रण छैन–विज्ञप्तिमा भनिएको छ । यो हमलामा कयौँ आतंकवादीहरु मारिएको पाकिस्तानको दाबी छ । आक्रमणमा तीन महिला र चार बच्चाको मृत्यु भएको र उनीहरू इरानी नागरिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार पाकिस्तानमा इजरायलसँग सम्बन्धित चरमपन्थीहरुमाथि हमला गरेको इरानले बताएको थियो । पाकिस्तानले यसको परिणाम गम्भीर हुने र यसको जिम्मेवार इरान हुने चेतावनी दिएको थियो । सीमा क्षेत्रमा सशस्त्र समूहहरूलाई प्रश्रय दिएको भन्दै लामो समयदेखि इरान र पाकिस्तानले एक अर्कामाथि आरोप लगाउँदै आइरहेका छन् ।

इराक र सिरियापछि पाकिस्तान तेस्रो देश बनेको छ जहाँ इरानले पछिल्ला दिनमा आक्रमण गरेको छ । उता अमेरिकाले इरानले आफ्ना छिमेकी देशसँगका सीमा उल्लंघन गरिरहेको भन्दै आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताएका छन् । यता चीनले शान्तिपूर्ण रूपमा समस्या समाधानका लागि अपिल गरेको छ । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले आपसी सम्बन्धलाई संयक्त राष्ट्र संघको चार्टर तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सुल्झाउनु पर्नेमा जोड दिइन् ।
यता इरान र पाकिस्तान दुई नजिकका मित्र राष्ट्र हुन् भने ठूला इस्लामिक देश पनि हुन् । मध्यपूर्वी एसियाली मुलुक प्यालेस्टाइन र इजरायलबाट सल्किन सुरु भएको युद्धको आगो पाकिस्तान र इरानमा पुगेको छ । त्यसो त प्यालेस्टाइन र इजरायलको युद्ध केही शान्त जस्तै देखिएको छ । तर इजरायल र प्यालेस्टाइनको बाछिटा यतिबेला विश्वभरी फैलिँदै छ । यसले विश्व युद्ध नै ननिम्त्याए पनि एक आपसको देशमा भने ठूलो क्षति पु¥याउने संकेत गरेको छ । साथै विश्वलाई अशान्त बनाउने र अस्थीरता पैदा गर्ने बिउको रुपमा हेरिएको छ ।