Breaking

पृथ्वी जयन्तीपछि हौसिए राजावादी, पूरा होला त राजा ल्याउने सपना ?


काठमाडौँ – पृथ्वी जयन्ती र एकता दिवसमा देखिएको एकताको माहोलले राजावादी हौसिएका छन् । पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्न सबै दल एक ठाँउमा उभिएपछि राजतन्त्र र हिन्दुधर्मप्रतिको माहोल बनेको निष्कर्षमा उनीहरु पुगेका हुन् । जसलाई गणतन्त्रको बिदा खारेजी र पृथ्वीजयन्तीको क्रेजसँगसमेत दाजेका उनीहरुको सपनाको धरातल कति बलियो छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यस वर्ष पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेको राप्रपाले सबै राजनीतिक दललाई एकै छानोमुनि उभ्याएको सन्देश दिन सफल भएको हो । हुन पनि सरकारले यो दिवसका अवसरमा सार्वजनिक बिदा नै दिएको छ भने चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी भए ।

भृकुटीमण्डपमा आयोजित चियापानमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । यता आफ्नो लामो माग र प्रयत्नपछि बिदा प्राप्त भएको भन्दै राप्रपाले सार्वजनिक बिदालाईसमेत आफ्नो सफलता मान्दै आएको छ । त्यस्तै यसमा फरक मत राख्नेलाई समेत समेटेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञापन गरिरहेका छन् ।

राजावादीहरु पृथ्वी नारायण शाहका नाममा सबै राजनीतिक दलहरु एकजुट भएको भन्ने बुझाइमा पुगेका छन् । एकातर्फ सडकमा बढ्दै गएको व्यवस्था विरोधी आवाज अर्कातर्फ पृथ्वीनारायण शाहको बढ्दो स्वीकार्यताले राप्रपाजन उत्साहित भएका हुन् । अध्यक्ष राजेन्द्र लिङदेनले त राप्रपाले उठाइरहेका मुद्दा पार्टी विशेषको मात्र नभई राष्ट्रिय एकतासँग जोडिएको विषय भएको विस्तारै पुष्टि भइरहेको र दलहरूले स्वीकार गरिरहेको दाबी नै गरेका छन् । निकै उत्साहित देखिएका उनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउनेसम्मको योजना सुनाउन भ्याए । देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने उनले बताए ।
गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने लिङ्देनको भनाईले नै वर्तमान राजनीतकि परिस्थितिमा राप्रपाको बुझाई प्रष्ट छ ।

जहाँ कांग्रेसको मेलमिलाप र प्रचण्डको सर्वदलीयमा नअटाएको राप्रपाले त्यसलाई बिर्सिएर उनीहरुलाई नै बोलाएर सकारात्मक सन्देश दिने रणनीति भएको बुझ्न गाह्रो छैन । जुन संविधान खतरामा पर्ने दिन आउन लागेको सत्तारुढ दलकै नेताहरुको भनाइ र आफ्नो निर्णायक भनिएको आन्दोलको नजिकिँदो मितिका लागि सकारात्मक भएकोसमेत उनीहरुको बुझाइ देखिन्छ ।
यसले के राप्रपाको व्यवस्था विरुद्धको सपना पूरा हुन थालेको हो ? भन्ने प्रश्नलाई बलियो बनाएको छ । तर पृथ्वीनारायण र महेन्द्रलाई नै विज्ञापनका आधार बनाएका उनीहरुको यो च्याखे दाउ भएको प्रष्ट छ । त्यो भन्दा गज्जब त राजवादी कै अलग अलग चियापानले उनीहरुको शक्ति र एजेण्डाको प्रष्टतासमेत बाहिर आएको छ । आफँै मिल्न नसक्नेले इतिहास बनिसकेको व्यवस्था फर्काउने दाबीमाथि नै प्रश्न गर्दा पृथ्वी जयन्तीमा नेताहरुको एकरुपता लोकतान्त्रिक संस्कारभन्दा माथि नभएको बुझ्न सकिने अवस्था छ ।

संगै के राजावादीको मुख्य उद्देश्य व्यवस्था परिवर्तनसम्मकै हो त भन्ने अर्को प्रश्नसमेत जन्माएको छ । हुन त उनीहरुको शक्तिको हैसियतभन्दा बढी चर्चा भइरहेको गणतन्त्रवादीहरुले गुनासो गर्दै आएका छन् । जसलाई प्रतिगामीहरुको षडयन्त्रका रुपमा हेरिँदा राप्रपा नै सत्ताको लुछाचुडिमा व्यस्त छ । फलत ः ठूला दलहरुको चियापानमा भएको सहभागीता विगत र अहिले सत्तामा जान लगाएको गुनको कृतज्ञता हो भन्ने कुनै समस्या छैन । तर व्यवस्थामाथिको खतरा राप्रपा भन्दा पनि गणतन्त्रवादी नेताहरुबाटै रहेको बहस र नसुध्रिने उनीहरुको चरित्रले भने यसलाई त्यति सहज लिन सकिँदैन । त्यस्तै नयाँ र विकल्प भनिएकाहरुले यही व्यवस्थामा देखिएका समस्या फिल्टरको पनि बाटो रहेको तथ्य कति प्रमाणित गर्न सक्छन् त्यो भने अर्को पाटो हो ।