Breaking

खल्तीका मान्छे राष्ट्रिय सभामा, सिटौलाको अर्कै दाउ, सच्चा कम्युनिस्टकी श्रीमती चोर बाटोबाट माननीय


काठमाडौँ – यस पटकको राष्ट्रिय सभा निर्वाचनमा नयाँ, अवसर नपाएका र संसदको गरिमा राख्न सक्ने खालका उम्मेदवार पठाउने निर्णय सबैजसो दलले गरेका थिए ।

तर त्यो निर्णयको ठिक विपरित पटक–पटक अवसर पाएका, नेतृत्वको निकटका र गुटको भागमा परेका अधिकांश उम्मेदवार देखिएका छन् । अवसरवादी चरित्रका व्यक्ति सांसद बन्दा सभाको गरिमा कसरी बच्ला ? प्रश्न उठेको छ । यी कदमले राजनीति लाजनीतिमा परिणत भएको छ ।

राष्ट्रिय सभाको छवि धुमिल्याएर राजनीतिलाई लाजनीति बनाउने अर्को अध्यायमा राष्ट्रिय सभा निर्वाचन थपिएको छ । वास्तवमै भन्दा जान्नेलाई छान्ने सभा हो राष्ट्रिय सभा । तर नयाँ, अवसर नपाएका वा विज्ञ, क्षमतावान उम्मेदवार जानुपर्ने सभामा अवसरवादी र शीर्ष नेताको गोजीका मान्छे छिर्न पाएका छन् ।

१९ सिटका लागि उम्मेदवारी दिएकामध्ये अधिकांश उम्मेदवार त्यस्तै छन् । त्यसमध्ये केहीको चर्चा यहाँ गर्दैछौँ ।

अहिले सबैको चर्चामा रहेका कृष्णप्रसाद सिटौला । जो राष्ट्रिय सभाको अध्यक्ष बनेर संवैधानिक भागबन्डामै दबदबा कायम राख्नेसम्मको राणनीतिमा छन् । कोशी प्रदेशको अन्य क्लस्टरबाट देउवाको आर्र्शिवादमा उनी राष्ट्रिय सभा छिर्न लागेका हुन् ।

किनभने १४ औँ महाधिवेशनमा सभापतिमा सिटौलाले देउवालाई सर्मथन गरेका थिए । त्यही गुन देउवाले अहिले तिर्दैछन् । २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धनमा मिसिएको राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गरे । लिङ्देनसँगको पराजय २०७९ को निर्वाचनमा पनि कायम रह्यो । निर्वाचन क्षेत्रमा सधैँ राजावादीको पेलानमा परेका तथा जनताबाट दुई पटक अस्वीकृत भएका सिटौलाको राष्ट्रिय सभामार्फत सहज व्यवस्थापन भएको छ ।



कांग्रेसभित्र अर्का विवादित उम्मेदवार हुुन् आनन्दप्रसाद ढुंगाना । मधेशमा जसपालाई भाग लगाएको कांग्रेसले मधेशका ढुंगानालाई अन्य क्लस्टरबाटै उनलाई राष्ट्रिय सभा छिराउँदैछ । उनी ०४८ यता चार पटक सांसद बनिसकेका छन् । ढुंगाना ०६४ र ०७४ को निर्वाचनमा पराजित पात्र हुन् । कांग्रेसको अनुशासन समितिका ढुंगानाले अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा भोट किन्न भन्दै लिएको २० लाख रुपैयाँ नतिरेको आरोप लागेको छ । निर्वाचन आयोगमा उजुरी नै परेको छ ।

कांग्रेसमा अवसर नै नपाएका उम्मेदवार पाउन कठिन छ । गण्डकीबाट उम्मेदवारको सूचीमा परेका किरणबाबु श्रेष्ठ पनि पार्टीको प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी प्रदेशको समानुपातिक सूचीमासमेत परेका थिए । यस्तै लुम्बिनीकी महिला उम्मेदवार लक्ष्मीदेवी सापकोटा पनि गुल्मी मुसिकोट नगरपालिकाको उपमेयरमा पराजित नेतृ हुन् । बागमतीकी बिष्णुदेबी पुडासैनी राष्ट्रपतिको कोटाबाट संसद छिर्दैछिन् । उनी तरुण दलकी पूर्व अध्यक्ष हुन् भने महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । टिकट पाउने अन्य सदस्यहरु पनि शेखर कोइराला वा शेरबहादुुर देउवा र आरजु देउवाका गोजीका मान्छे हुन् । व्यवस्थाको चिन्ता गरेर नथाक्ने कांग्रसले हरुवा र बारम्बार अवसर पाएकाहरुलाई नै पुल्पुल्याउनु व्यवस्थामाथिकै खिल्ली उडाउनु हो ।

माओवादीमा पनि नयाँ अनुहार जस्ता देखिएता पनि अवसर पाएका र अवसर पाएर पनि सदुपयोग गर्न नसकेकाहरु नै राष्ट्रिय सभाको सूचीमा परेका छन् । कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की २०६४, २०७० र २०७९ मा समानुपातिक सूचीमा परे पनि सांसद बन्न नेपाएकी नेतृ हुन् । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्षमा २०७४ मा पराजित भएकी उनलाई राष्ट्रिय सभाको जस्केलाबाट सांसद बनाइँदैछ ।
यस्तै २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित पर्वतकी मनरुपा शर्मा गण्डकी प्रदेशबाट माओवादीको उम्मेदावारको सूचीमा छिन् । उनी पनि पार्टीबाट पटक–पटक अवसर पाइरहने तर उपयोग गर्न नसक्ने नेतृ हुन् । ०७० यताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परिरहेकी उनी निर्वाचित हुुन सकेकी छैनन् ।
२०६४ सालमा बैतडीबाट संविधान सभा सदस्यमा निर्वाचित रेणु चन्द पनि यसपटकको सूचीमा परेकी छन् । उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् । पटक–पटक अवसर पाएर लाभको पदमा बसेकी उनी यसपटक राष्ट्रिय सभा छिर्दैछिन् । माओवादी पनि राष्ट्रिय सभाकै नेतृत्व गर्ने लाइनमा देखिन्छ ।

२०७४ सालको निर्वाचनमा प्युठानबाट निर्वाचित जनमोर्चाकी दुर्गा पौडेल २०७९ को निर्वाचनमा पराजित भइन् । तर उनै जनताबाट अस्वीकृत दुर्गा राष्ट्रपतिबाट हुने मनोनीत कोटामार्फत राष्ट्रिय सभा छिर्दैछिन् । पौडेल सच्चा कम्युनिस्ट, पुराना र सादगी नेताको परिचय बनाएका मोहनविक्रम सिंहकी पत्नीसमेत हुन् । जसपाको महिला कोटामा संसद छिर्ने तयारीमा रहेकी पूजा चौधरी २०७९ को प्रदेश सभामा पराजित र कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी पुत्री हुन् ।

दलहरुका यी हर्कतले समावेशी, समानुपातिकताको धज्जी त उडाएको छ नै शक्ति आफ्नो हातमा भए जे पनि गर्न सकिन्छ भन्ने गलत मानक निर्माण गरेको छ । अनुभवी, समाजमा प्रतिष्ठित र विभिन्न समुदायका व्यक्ति राष्ट्रिय सभामा जानुपर्नेमा नेता व्यवस्थापनको कवाडीखाना बन्नु दुखद् र संविधान विपरित छ । उता कोशी प्रदेशमा संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दैगर्दा राप्रपाका प्रदेश सभा सांसद अम्बरबहादुर विष्टले किस्तीमा राखिएको सभामुख पद नै हत्याए । त्यो पनि सर्वसहमतिमा । राजा आउ देश बचाउको नारा दिएर यही संविधानमा असली संसदवादी बनेको राप्रपाले राष्ट्रिय सभामा जान सत्ता गठबन्धनसँग सौदाबाजीको रणनीति लियो ।

भाग पनि खोज्यो । तर त्यो सफल हुन सकेन । राष्ट्रिय सभा छिर्न नपाए पनि राप्रपाले प्रदेश सभाको सभामुखमा हात हालेर मुख जुठो बनाएको छ । यसलाई पनि बिडम्वना नै मान्नु पर्छ ।