अन्तर्राष्ट्रिय

१५ वर्षदेखि लगातार प्रधानमन्त्री हसिनाको राज, विपक्षी नेतालाई नजबन्दमा राखेर चुनाव, तात्यो सडक


काठमाडौँ – विवादास्पद बनेको बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ ।

प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ । उनको दल अवामी लिग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्मा कम्तीमा २२३ सीटको जित निकालेको हो ।

यो जित पछि हसिना लगातार चौथो तथा प्रधानमन्त्रीका रुपमा पाँचौ पटक पुनः देशको कार्यकारी बन्न पाउने पक्का भएको छ । ७६ वर्षीया हसिनाले भने यो निर्वाचनलाई ‘लोकतान्त्रिक प्रक्रिया’ भनेकी छन् । तर आइतबार सम्पन्न भएको निर्वाचन बिबादरहित हुन सकेन ।


बाङ्ग्लादेशको मुख्य विपक्षी दल बाङ्ग्लादेश नेसनालिस्ट पार्टी (बीएनपी)ले निर्वाचन बहिष्कार गरेको थियो । बीएनपीले निर्वाचनलाई “स्वाङ“ को सङ्ज्ञा पनि दिएको थियो ।

बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको हो । आधिकारिक तथ्याङ्कमा झन्डै ४० प्रतिशत मत खसेको देखाइएको छ ।

यद्यपि यो संख्या बढाइ चढाइ प्रस्तुत भएको भन्दै निरन्तर आलोचना भइरहेको छ । यसअघि सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो । निर्वाचन आयोगले मतदानको प्रतिशत बढाएको विश्लेषण भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
यसैबीच आइतबार सम्पन्न निर्वाचको निरन्तर बिरोध भइरहेको छ । बहिस्कार गरेको (बीएनपी)ले निर्वाचन रद्द गर्नसमेत माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने माग गरेका छन् । बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको थियो । जसलाई बीएनपीले बहिस्कार गरेको थियो । निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हड्तालसमेत आह्वान गरेको थियो ।

निर्वाचनमा करिव ४० प्रतिशत मत खसेको थियो र सत्तारुढ अवामी लिगले बहुमत पाएको निर्वाचन आयोगले जनाएको छ । तर बीएनपीले भने जनताले निर्वाचनलाई अस्वीकार गरेको बताएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बीएनवी नेता अब्दुल मोयुन खानले देशका जनताले निर्वाचन स्वस्फूर्त रुपमा बहिस्कार गरेका बताएका छन् । अनेक धम्की र त्रास देखाएर पनि जनतालाई मतदान केन्द्रसम्म ल्याउन सरकार असफल भएको विपक्षी दलको दाबी छ ।

सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री बनेदेखि शेख हसिना निरन्तर सत्तामा छिन् । हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन । त्यसपछि सन् २००९ मा उनी फेरि निर्वाचित भएकी थिइन् । त्यसयता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन् । बिभिन्न चुनौतीका वावजुद निरन्तर सत्ता सम्मोलेकी हसिनालाई अब भने चौतर्फी दवाव रहेको छ । असहज परिस्थीतिमा उनको अबको कार्यकाल कति सफल हुनेछ त्यो भने भावी दिनले स्पष्ट पार्ने नै छ ।