Breaking

रोटी–बेटीको सम्बन्धमा लुकेको स्वार्थ, चीनको काउन्टरमा भारत, क्रीडास्थल बन्यो नेपाल


काठमाडौँ – भूराजनीतिक दृष्टिकोणले नेपाल अत्यन्त संवेदनशील स्थानमा छ । यही कारण दुई छिमेकी देश भारत र चीन मात्रै होइन, पश्चिमा देशहरूले पनि नेपाललाई विषेश चासोका साथ हेर्छन । पछिल्लो समय नेपालमा विदेशी सक्रियता ह्वात्तै बढेको छ । भारत र चीनबीच त प्रतिष्पर्धा जस्तै देखिएको छ । कुटनीतिक सहयोगलाई नेपालले आफ्नो हितमा कसरी प्रयोग गर्छ भन्ने चासो र चिन्ता व्याप्त छ ।

नेपाल दुई ठूला छिमेकी देशको चेपुवामा परेको तरुल जस्तो चेपिरहेको अवस्था नौलो होइन । चीन र भारत जस्ता शक्तिशाली देशहरूले नेपालजस्तो विकासउन्मुख देशलाई आफ्नो शक्ति प्रदर्शन गर्ने थलोको रुपमा लिएको देखिन्छ । हुन त दुवै छिमेकीसँग कूटनीतिक असल सम्बन्ध राख्नु नेपालको विशेषता हो । तर, अहिलेको अवस्थामा दुवै छिमेकीले हरेक सम्झौता मात्रै नभएर भ्रमणसमेत स्वार्थको आधारमा हुने गरेको पाइन्छ ।

भारतबाट उच्चस्तरीय भ्रमण हुने बित्तिकै चीनको पनि सोही किसिमको भ्रमण नेपालमा हुनुले पनि नेपाललाई भारत र चीनले आफ्नो शक्ति प्रदर्शन गर्ने थलो बनाएको बुझ्न कुनै कठिन छैन । भारतले नेपालसँग गर्ने हरेक सम्झौतामा घुमाउरो तरिकामा आफ्नो स्वार्थलाई अघि सारेको देखिन्छ । भारत र चीन नेपाल जस्तो विकासउन्मुख देशलाई आफ्नो छत्रछायामा राखेर शक्ति आर्जन गर्ने उद्देश्यका साथ नेपाललाई महत्व दिने गरेको विज्ञहरू बताउँछन् ।

नेपालको चीनसँग तातोपानी र केरूङ गरी दुई मुख्य नाका छन् भने भारतसँग २३ भन्दा बढी नाकाहरू छन् । भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध रहेको चर्चासमेत हुँदै आएको छ । तर, भारतले नेपाललाई दिने हरेक सहयोगमा स्वार्थ लुकेको आरोप लाग्दै आएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणको क्रममा दूतावासबाट दिने भनेको २० करोड सहयोगले नेपालको राजनीतिमै उथलपुथल ल्याएको छ । यसअघि यो आयोजनामा पाँच करोड रकम छुट्याउने गरिएको थियो । तर, अब यो रकम एकैपटक चार गुणाले बढेर २० करोड पुगेको छ । भारतले अनुदान दिनु नै राष्ट्रघाती कदम होइन । तर, भारतसँग गरेको यो सम्झौताले देशको सार्वभौम अधिकारमाथि आघात पुग्ने भएकोले यो राष्ट्रघाती सम्झौता भएको गठबन्धन दलकै नेताहरू बताउँछन् ।

बार्षिक बजेटमा नेपाललाई दिने अनुदान वर्षेनि घटाउँदै लगेको भारतले अन्य बाटोबाट लगानी बढाउन खोज्नुु भारतको स्वार्थ मिसिएको प्रष्ट देखिन्छ । सत्ता र शक्तिको स्वार्थमा लिप्त नेताहरुले बाह्य शक्तिकै सहयोगमा सत्ता निर्माण र बचाउमा लाग्ने गरेको आरोप लाग्दै आएको छ । संसदीय निर्वाचनपछि बनेको चीननिकट बामपन्थी शक्तिको सरकार होस् या अहिलेको गठबन्धन निर्माणमा भारत र पश्चिमा शक्तिकोे प्रभाव घामझैं छर्लङ छ । चीनले आफूलाई शक्तिशाली राष्ट्रमा अझ स्थापित गर्न नेपालजस्तो देशलाई आफ्नो इशारामा घुमाउन चाहन्छन् भने भारत पनि नेपालमा आफ्नो हस्तक्षेप जमाउन भगिरथ प्रयास गरिरहेका छन् । । आफूलाई राष्ट्रवादी नेता भन्नेहरू पनि भारतीय नेताहरूको अगाडि नेपालले जारी गरेको चुच्चे नक्सा र नेपालको नीतिबारे प्रष्ट बोल्न सक्दैनन् । विदेश नीतिबारे दलहरू एकमत छैनन् ।

उत्तरी छिमेकी चीनको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारतको सहयोगको काउन्टर दिँदै आफ्नो स्वार्थ अनुकूल भेटघाट अगाडि बढाएका छन् । विदेशी सहयोगको रूपमा हस्तक्षेप विगतदेखि नै शासकहरूले स्वीकार्दै आएका छन् । जनस्तरबाट भने हस्तक्षेपको विरोध हुँदै आएको छ ।