Breaking

प्रचण्ड, देउवा, ओलीकै कारण सकिँदैछ गणतन्त्र, दलभित्रै भाँडभैलो, पूर्वराजा कसको बलमा बोले ?


काठमाडौँ – देशका शीर्ष नेताहरुबाटै लोकतन्त्र खतरामा रहेको अभिव्यक्ति पटक–पटक सुनिन्छ । तर अहिले एमालेलाईसमेत राष्ट्रिय सभामा गठबन्धनबाट सिट दिएर संसदलाई प्रतिपक्षविहीन बनाउन खोजिँदै छ । यसले फेरि गणतन्त्रको चीरहरण गर्न खोजिएको स्पष्ट छ । जसको फाइदा पूर्वराजालगायत गणतन्त्र विरोधीहरुलाई लिने अवसर मिलेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजगद्दीमा फर्किने अभिलाषासहित देश दौडाहमा रहेका बेला शासकहरु फेरि गणतन्त्रको चीरहरण गर्ने गतिविधिमा सक्रिय बनेका छन् ।

राष्ट्रिय सभा निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्ष एमालेलाई पनि सत्तारुढ गठबन्धनकै भागबन्डामा मिसाएर संसदलाई फेरि प्रतिपक्षबिहीन बनाउने खेल भइरहेको छ । यद्यपि यो प्रयास पहिलोपटक भएको भने होइन । गत पुषमा एमालेको सर्मथनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा पनि सर्मथन जनाएर कांग्रेसले असली लोकतान्त्रिक चरित्र देखाएको थियो । त्यो परिणाम संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रोे दल एमाले निकम्मा बनेर सरकार बनाउन नसक्नुको थियो । अहिले त्यही उच्च कोटीको लोकतन्त्रिक चरित्र आफूलाई नेपालको गणतन्त्रका वादशाह मान्ने प्रचण्डले देखाउन थालेका छन् । एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिन सकारात्मक हुनु दुबै कदम लोकतन्त्रका लागि घातक छन् । जनताका समस्यामाबाहेक सबै गलत काम र भागबन्डामा एक हुने दलहरु भने यसलाई उच्च कोटीको लोकतन्त्र मान्छन् ।



संसदीय व्यवस्थामा पार्टीको निर्देशन नमानेर कोशीमा एमालेसँग मिल्नु शेखर कोइरालाको कदम पनि अलोकतान्त्रिक नै थियो । तर कोशीमा मध्यावधि रोक्न खोज्दा केन्द्रको गठबन्धन धराशायी भएको देख्ने देउवा नै अहिले गठबन्धनमा ओलीको इन्ट्रीलाई स्वीकारिरहेका छन् । एमालेसँग मिल्नेसम्मका चर्चा चल्दा कुनैपनि शीर्ष नेताले आफ्नो पार्टीमासमेत छलफल गर्न सकेका छैनन् । यसले उनीहरु देशको लोकतन्त्र नभई पार्टीकै लोकतन्त्र जोगाउन पनि असक्षम भएको तथ्य उदांगो पारेको छ । हुन त प्रतिपक्षमा भएपनि सत्ता गठबन्धनले पहिल्यैदेखि एमालेलाई पुल्पुल्याइरहेको थियो । फलतः केही संसदीय समितिको सभापति नै एमालेलाई दिइएको थियो । अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने बाहिरी बाहाना बनाएर एमालेलाई गठबन्धनमा ल्याएर समीकरण फेर्नेसम्मको खेल हुँदैछ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाएर दर्ता गरिएको छ । माओवादी हुबहु पारित गर्न चाहन्छ भने पीडितमैत्री बनाउनुपर्नेमा एमालेको अडान छ । यस्तो अवस्थामा ६ सिटको पछि घुमेर एमाले पनि आफ्नो दायित्व बिर्सिरहेको छ । अर्थात एमालेले ६ सिट पाए आफैँले विमती जनाएको टीआरसी विधेयक संसदबाट हुबहु पास हुनेछ । एमालेमाथि पनि प्रतिपक्षमा बसेर सिटको बार्गेनिङ गरेको भन्दै नैतिक प्रश्न उठेको छ । यसबीचमा अहिलेका प्रधानमन्त्री र शीर्ष नेताहरुलाई नै यो गणतन्त्रको माया धेरै छ । जो मनोमानीतन्त्र चलाएर गणतन्त्र विरुद्ध हात धोएरै लागिपरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अहिले असान्दर्भिक घटनाहरुलाई समेत अस्वभाविक रुपमा गणतनत्र विरोधी क्रियाकलापका रुपमा देख्न थालेका छन् । तर आफ्नै कारण गणतन्त्र खतरामा परेको चेत उनलाई छैन । गणतन्त्रप्रति प्रचण्डको इमान्दारिता एनसेलमा छोरी गंगाको संलग्नताले देखाइसकेको छ ।

प्रकणमा छोरीमाथि छानविन गर्न आवाज बलियो बनेपछि प्रचण्डले छोरीविरुद्ध आवाज उठाउनुलाई लोकतन्त्रमाथिको हमला देखे । गत शुक्रबार ललितपुरको बालकुमारीमा रोजगारीका लागि कोरिया जान पाउनुपर्ने भन्दै भएको आन्दोलनमा दुई युवाले ज्यान गुमाए । जसलाई पनि उनले व्यवस्था विरोधीहरुका कारण उक्त घटना भएको हुनसक्ने तर्क गरे । कांग्रेस सभापति शेरबहादुर देउवा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँछन् । तर उनका लागि श्रीमती जोगाउनु नै लोकतन्त्र बनेको छ । त्यसमाथि सरकारमा छँदा पटक–पटक गरिएका असंवैधानिक गतिविधिहरुले समेत ओलीको लोकतन्त्रसमेत उदांगो पारिएको छ । यथार्थमा भन्दा साँच्चै नै लोकतन्त्र धरापमा परेको छ । त्यसको फाइदा पूर्वराजा ज्ञानेन्द्र शाहले लिइरहेका छन् ।

शीर्ष दलका तीन नेताहरु बिभिन्न मुद्दाका नाम दिएर छलफलमा बस्दा देश डुबाउन छलफल भयो भन्ने मनोवृत्ति जनतामा पर्न थालेको छ । त्यसमाथि पटक–पटक गणतन्त्रका हिमायतीहरुले गणतन्त्रमाथि नै हाकाहाकी प्रहार गरिरहेका छन् । त्यसको दोष भने अरुलाई दिएर व्यवस्था विरोधी छायाँ आफैँमा देख्न छाडेका छन् । यीनका यस्तै छद्मभेषी क्रियाकलापले गणतन्त्र खतरामा छ, साँच्चै संकटमा छ । आफूले गणतन्त्र ल्याएको भन्नेहरुले बुझ्नुपर्छ– ‘आफैँले बनाएको घर भत्काउने हो भने आफैँ घर न घाटको भइएला ।’ हिजो राजा लखट्ने जनताले भोलि नेता नलखेट्लान् पनि भन्न सकिँदैन ।