Breaking

दिल्लीको नयाँ चाल !, फेरि चिढियो चीन, प्रचण्ड–देउवासँगै घुसे ओली, पूर्वराजा विदेशीको इसारा कुर्दै


काठमाडौँ – नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौमा छन ।

विहीवार विहान काठमाडौ ओर्लिएका भारतीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको वैठकसँगै राष्ट्रपति–प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग उच्चस्तरीय भेटघाट समेत गरेका छन् ।

नेपालको आन्तरिक राजनीति र सत्ता समीकरणको मुद्दामा नयाँदिल्लीको प्रभावलाई नकार्न सकिन्न । राष्ट्रिय सभा निर्वाचनको पूर्व सन्ध्यामा शीर्षस्थ नेताहरुको हिमचिम बढ्नु र विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण संयोग मात्र हो या राष्ट्रिय राजनीतिमा उलटपुलटको संकेत बहस सुरु भएको छ ।

नेपालको आन्तरिक राजनीति र सत्ता समीकरण फेरबदलसम्मको मुद्दामा नयाँदिल्लीको प्रभावलाई नकार्न सकिन्न । अझ नेपालको राजनीतिक दल र शीर्ष नेतृत्वले आफ्नो राजनीतिक सुविधाका लागि दिल्लीसँग गर्ने संवाद वा सहजीकरणमा सहायता नै खोज्ने राजनीतिक प्रवृत्ति अपवाद होइन ।

सत्ता र शक्तिको स्वार्थमा लिप्त नेताहरुले बाह्य शक्तिकै सहयोगमा सत्ता निर्माण हुने गरेका आशंका मात्र होइनन् प्रमाणहरु नै छरपष्ट छन् । संसदीय निर्वाचनपछि बनेको चीन निकट बामपन्थी शक्तिको सरकार होस् या अहिलेको गठबन्धन निर्माणमा भारत र पश्चिमा शक्तिकोे प्रभाव घामझैं छर्लङ छ ।

मुलुक राष्ट्रिय सभा निर्वाचनको संघारमा छ । राष्ट्रपति निर्वाचनमा दोस्रो पटक जुटेको प्रचण्ड–देउवाको गठबन्धन राष्ट्रिय सभा निर्वाचनमा फुट्सम्मको चर्चा छ । राजनीतिक दलका नेतृत्वबीच भेटघाट बाक्लिएको छ । भारतको इच्छा विपरीत जारी भएको संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा बहस चुलिएको छ । मुलुक राजनीतिक अस्थिरताले थप गिजोलिएको बेला अंग्रेजी नयाँ वर्षको सुरुवातमै भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन ।

नेपाल भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि नेपाल आएका जयशंकरको काठमाडौं यात्रा यही बेला जुरेको हो या जुराइएको हो ? दृश्यमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक, उर्जा निर्यातमा सम्झौतासहित दुई पक्षीय सवालहरुमा छलफल भए पनि राजनीतिक र कुटनीतिक हिसाबले रहस्यमय मानिएको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीसहित सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग गरिएको महत्वपूर्ण उच्चस्तरीय राजनीतिक भेटवार्ता आफैँमा अर्थपूर्ण छ ।
भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण र शीर्ष नेताहरुको हिमचिमले चासो बढ्नु स्वभाविक छ । तर नेताहरु भने शीर्ष नेताहरुको भेटघाट र जयशंकरको नेपाल भ्रमणमा कुनै कनेक्सन नभएको दाबी गर्छन् ।

पूर्वराजदूत हुँदै विदेशमन्त्री बनेका जयशंकर नेपाल मामिलामा जानकार मात्र छैन्न नेपालका अधिकांश नेताको नाडी छामिसकेका छन् । सफल कुटनीतिज्ञको रुपमा स्थापित जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय भएकै कारण राजनीतिज्ञ भएर अर्थात विदेशमन्त्रीको हैसियतमा नेपाल आएका हुन् । विदेशमन्त्रीको हैसियतमा उनको यो पहिलो नेपाल भ्रमण हो ।

प्रधानमन्त्री मोदी भारतलाई विश्व शक्तिको रुपमा स्थापित गर्न अनेक रणनीति अपनाई रहेका छन । छिमेकी पहिला विदेश नीति लिए पनि नेपाल छिमेकी भएको नाताले भन्दा पनि आफ्नो प्रतिस्पर्धी चीनका कारण भारतको नजर नेपालमा छ । भू–राजनीतिक हिसाबले नेपाल जति संवेदनशील छ नेपालको कुटनीतिक व्यवहार उत्तिकै कच्चा छ । अझ विश्व राजनीतिमा बढ्दै गएको सुरक्षा चुनौतीले सशंकित छ ।

छिमेकी मुलुक भारतका एक शक्तिशाली पात्रको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभ लिने अवसर बनाइनु पर्छ । यसलाई सत्ता र शक्ति प्राप्तिको खुट्किलो रुपमा प्रयोग नहोस् । त्यसका साथै उच्चस्तरीय भ्रमणहरु पार्टीगत कुटनीति भन्दामाथि उठेर राष्ट्रहितलाई केन्द्रमा राखेर विदेश नीतिप्रति नेतृत्व गम्भीर हुन जरुरी छ ।