समाचार

ज्ञानेन्द्रको अन्तिम तयारी : चैतमै गणतन्त्र ढाल्ने, पारस पन्छाएर हृदयेन्द्र राजा !, ओली–प्रचण्डमा डर


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले नाति हृदयेन्द्रलाईसँगै राखेपछि राजावादी वृत्त तरंगित छ । त्यसमाथि पश्चिम नेपालको भ्रमणमा रहेका उनले बुुधबार भैरहवामा राप्रपा नेताहरुसँग गरेको भेटले थप चर्चा चुलिएको छ । पूर्वराजाको यो सक्रियताले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भनेजस्तो ‘बेबी किङ’बारेसमेत चर्चा हुन थालेको छ ।

यही वर्षभित्र यो संविधान समाप्त हुने र ०८१ सालभित्र राजतन्त्र फर्किने गणतन्त्रवादीकै दाबीले राजावादी मात्रै होइन पूर्वराजा आफैँ हौसिएका छन् । यही बीचमा दुई दिनअघि मात्रै कपिलवस्तुमा देखिएको एक दृश्यले भने सबैलाई चकित पारिदिएको छ । पूर्वराजा ज्ञानेन्द्रले आफू बसेको ‘सिंहासन’मा नाति हृदयेन्द्रलाई सँगै राखेपछि राजावादीहरुको वृत्त तरंगित बनेको छ भने अबको राजा हृदयेन्द्रनै हुन् भन्दै प्रचारसमेत हुन थालेको छ । राजसंस्थाप्रति आस्था राख्नेहरुले नै पारसलाई राजा मान्न नसकिने बताइरहेका बेला हृदयेन्द्रप्रति ज्ञानेन्द्रको झुकावलाई कम आँक्न सकिँदैन । पारस जस्ता ‘गँजडी’ लाई राजा बनाउन राजतन्त्र ल्याउने हो ? भन्ने प्रश्नमा राजावादीहरु चुप हुने गरेका छन् । ज्ञानेन्द्रको उत्तराधिकारीका रुपमा पारस नभई हृदयेन्द्रलाई अघि सारेको भन्दै राजावादीहरु अहिले उत्साहित हुन थालेका छन् ।

पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीका एक्ला छोरा हृदयेन्द्र उमेरले २२ वर्षमा प्रवेश गरेका छन् । राजपरिवारमै अलग छवि, हालसम्म कुनैपनि विवादमा नपर्नु, शालीन र भद्र स्वभावका हृदयेन्द्रले राजनीतिमा आफ्नो अभिरुचि सार्वजनिक गरिसकेका त छैनन् । तर पनि राजसंस्थासँग उनको नाम जोड्दा शोभा दिने राजावादीहरुको ठम्याइ छ । ज्योतिषशास्त्रका जानकारहरु भने हृदयेन्द्र राजयोग लिएर जन्मिएकाले गद्दिमा बस्न सक्ने बताउँछन् । कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग रहेको अर्थात राज्यको उपल्लो निकायमा बस्ने योग बनेको दाबी गर्छन् । हजुरबासँग यसरी एउटै आसनमा हृदयेन्द्र बसेको पहिलो पटक हो । अध्ययनका लागि अमेरिकामा रहेका हृदयेन्द्रलाई नेपाल झिकाएर सार्वजनिक मञ्चमा सँगै राख्नुलाई सामान्य रुपमा लिन नहुने र यसले ठूलो राजनीतिक अर्थ लाग्ने राप्रपा नेताहरु बताउँछन् ।

बुधबार भैरहवामा राप्रपाका प्रमुख पाँच नेताहरु पूर्वराजालाई भेट्न भैरहवा पुगे । स्रोतका अनुसार उनीहरुलाई पूर्वराजाले नै भेटका लागि बुटवल बोलाएका थिए । पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवामा छन् । उनले राप्रपाका नेताहरुलाई उतै बोलाउनु अर्थपूर्ण मानिएको छ । बिहीबार भैरहवामा नागरिक अभिनन्दनपछि ज्ञानेन्द्रले सम्बोधन गर्नेसम्मकै तयारी भएको बुझिएको छ ।

राप्रपाले केन्द्रीय कमिटीबाटै निर्णय गरेर राजसंस्था र हिन्दु राज्यको पक्षमा आन्दोलन चलाउने निर्णय गरिसकेको छ । जुन निर्णयलाई लिएर पार्टीमै पनि दुईमत देखिएका थिए । अर्थात अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणा गुटगतरुपमै पार्टीमा विभाजित भएको चर्चा चल्ने गरेको छ । राणा पक्षधरले आन्दोलनमा होमिनुपर्ने बताउँदै आए पनि लिङ्देन भने पर्ख र हेरको स्थितिमा रहँदा विवाद बढेको गाँइगुइँ हल्ला छ । यो विवाद समाधानका लागि पनि पूर्वराजाले नेताहरुलाई भैरहवा डाँकेको बुझिएको छ । पूर्वराजा शाह पछिल्लो समय आफैँ देश दौडाहमा देखिन्छन् । गत चैतमा मेची पुलमा दुर्गा प्रसाईंले स्वागत गरेका थिए । त्यसपछि गत मंसिर ९ गते झापामा देखाएको शक्ति प्रर्दशनदेखि कपिलवस्तुमा नातिलाई नै मञ्चमा देखाउनुलाई उनमा फेरि राजा हुने भूत सवार भएको बुझ्न सकिन्छ । स–परिवार पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजाले मंगलबार नवलपरासीमा कार्यक्रम गरेका थिए । गणतन्त्रवादी नेताहरु भने सेरिमोनियल राष्ट्रपति कायम रहेकाले सेरिमोनियल राजाको आवश्यकता देशलाई नरहेको बताउँछन् ।

नेपाली कांग्रेसका बहालवाला सांसद तथा पूर्वमन्त्री शंकर भण्डारीले केही दिनअघि मात्रै चैतसम्म हालको संविधान खारेज हुने सूचना आफूले पाएको दाबी गरेका थिए । बेला बखतमा २०८१ सालभित्रै राजसंस्था फर्किने दाबीसहितका चर्चाहरु समेत हुने गरेका छन् । केही दशक अघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रका नाममा ‘बेबी किङ’ हुन सक्ने बताएका थिए । भर्खरैमात्र जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्र प्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तीव्र आलोचना भएको थियो । कोइरालाले संकेत गरेका ‘बेबी किङ’ हुन् पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र भन्ने बहसकै बिच अब आगामी राजा ज्ञानेन्द्र कि हृदयेन्द्र भन्नेसम्मकै तीव्र आकांक्षा पनि राजावादीमा देखिन थालेको छ ।