Breaking

गम्भीर संकटमा प्रहरी, चौतर्फी घेराबन्दी, हेडक्वाटरमै खैलाबैला (भिडियोसहित)

मन्त्री पोल्दै आईजीपी जंगिए


काठमाडौँ – राजनीतिक चेपुवाका कारण किचलोमा पर्ने प्रहरीमाथिको प्रहार बालकुमारी घटनाले थप प्रोत्साहन गरेको छ । चौतर्फि घेराबन्दी र आलोचनाकाबीच प्रहरी संगठनको आन्मबलमा ह्रास आउने देखिन्छ ।

राजनीतिक नेतृत्व नै शान्ति सुरक्षाको मुख्य दायित्व बोकेको प्रहरी संगठनलाई हायलकायल बनाउन उदत्त छ । यस्तो अवस्थामा आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूत गराउन प्रहरी संगठन कतिन्जल सक्षम रहन सक्ला आम प्रश्न बनेको छ ।

विगतमा सेवा प्रवाह र सर्वसाधरणसँगको व्यवहारका कारण बद्नाम प्रहरी संगठन, बालकुमारी घटनापछि चौतर्फी आलोचित बनेको छ । संघीय राजधानी काठमाडौंको मूल सडक बालकुमारी–ग्वार्कोमा शुक्रबार दुई युवाको ज्यान जाने गरी प्रहरीले गोली छोडेपछि राष्ट्रिय राजनीति तरंगित छ । सरकार विवादमा तानिएको छ ।

शान्तिपूर्ण प्रर्दशन संविधान प्रदत्त अधिकार भए पनि प्रर्दशन अराजक हुने भयले भिड नियन्त्रण गर्न सामान्य बल प्रयोग गर्नु पर्नेमा बन्दुक नै तेर्साएपछि सिंगो प्रहरी संगठन प्रश्नको चौघेरामा छ । यो घटनाले प्रहरी कति बदनाम बनेको छ, आइतबार काठमाडौको सडकमा लागेको यो नारा नियाले पुग्छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आइतबार प्रहरीलाई कटाक्ष गर्दै ‘ओ पुलिस दाइ, गोली चाहिँ नठोकिहाल है’ भन्दै नाराबाजीसहित विरोध प्रर्दशन ग¥यो । राजनीतिक खटनपटनले प्रश्रय पाउँदा आलोचित प्रहरी प्रशासन बालकुमारी घटनापछि सडक, सांसद र सरकारकै आँखाको तारो बनेको छ । यसका साथै प्रहरी प्रशासन कति निरीह छ भन्ने कुराको उदाहरण सोमबार राज्य व्यवस्था समितिमा सांसदहरुको प्रश्नबाटै प्रष्ट हुन्छ ।

सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सांसदहरुबीच चर्काचर्की नै भयो । सांसदहरुको प्रश्न प्रहारले सीमा नाघेपछि संयमित प्रहरी संगठन प्रमुख सांसदहरुमाझ नै जंगिए । आफ्नो प्रहरी संगठनमाथि प्रश्न उठेपछि चुपी तोड्दै प्रहरी अधिकारीको बचाउ गर्न आईजीपी बाध्य भए । बालकुमारी घटनामा त्यति ठूलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरी मात्रै दोषी नभएको उनले दाबी गरे । आक्रोशित भिडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भिडसँग विवाद गर्नुले परिस्थिति असहज भएको तर्क गरे ।

बालकुमारी घटना हुनुमा संयमत अपनाउन प्रहरी चुकेपछि परिस्थिति निर्माणको जिम्मा मन्त्री रहेको स्पष्ट छ । प्रर्दशन भइरहेको स्थलमा बिना सूचना मन्त्रीको सवार, अझ गाडीबाट ओर्लिएर प्रदर्शनकारीसँग भनाभन नै भएपछि आक्रोशित भिड जाई लाग्न तयार भएको देखिन्छ । यो परिस्थितिमा बालकुमारी घटना मन्त्रीकै उक्साहटमा भएको आरोप लाग्दै आएको छ । कारक मन्त्री बने पनिज्ञ दोषी पूर्णत प्रहरी संगठनलाई देखाइएको छ । मन्त्रीहरु ओठे जवाफ दिँदै उम्किरहेका छन् भने फिल्डमा उत्रिएका प्रहरी अधिकारी भने कारबाहीको दायरामा तानिनु परेको छ । मन्त्रीकै कारण बालकुमारी घटना भएको विश्लेषण संसदीय समितिमा समेत प्रष्ट भइसकेको छ । बालकुमारी घटना सेलाउन नपाउँदै सरकारले निषेध गरेको क्षेत्रमा निषेधाज्ञा तोड्दै सरकारकै मन्त्री र सांसदहरु सोमबार प्रदर्शनमा उत्रिँदा माइतीघरबाट पक्राउ परेका छन् । कानुनको पालना गराउन बसेका प्रहरीले कानुन उल्लंघन गर्ने सरकारका मन्त्री र सांसदलाई पक्राउ त गर्छन् तर छिन भरमै सरकारका गृहमन्त्री आफैँ पुगेर उनीहरुलाई छुटाउँछन् । धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई गृहमन्त्री नै पुगेपछि प्रहरीले छाडेको छ । प्रहरी प्रशासनलाई लपेट्न सिंगो राजनीतिक संयन्त्र उदत्त छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक नेतालगायत पहुँच पुग्ने सबै नै प्रहरीमाथि हैकम चलाउन तछाडमछाडमा देखिन्छ ।

चौतर्फी दबाबमा प्रहरी प्रशासन हायलकायल छ । प्रहरी प्रधानकार्यालयमा हल्लीखल्ली मच्चिएकै छ । नेताहरुकै सुरक्षामा प्रहरी चुक्दै आएको छ । तर यो कमजोरीको पाटो नकेलाइकन सिधै प्रहरी प्रशासनलाई मात्रै दोषी करार गर्नु निश्चय नै न्यायोचित र समाधान भने हुने छैन । प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने र तालिमलगायत विभिन्न सीप विकासका लागि अध्यावधिक गर्ने कार्यमा पनि राज्यले पुनरावलोकन गर्ने बेला आइसकेको सुरक्षाअधिकारीहरुकै भनाइ छ ।