Breaking

क्रिप्टोको जालोले प्रहरी नै चकित, डेढ अर्ब ठग्न एकै युवकको अनेक जुक्ति, फेरिए ठगीको स्वरुप


काठमाडौँ – अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । यस्तै ठगीकै आरोपमा अर्का एक व्यक्ति पनि आजै पाँचथरबाट पक्राउ परे । ३४ वटा उजुरी परेपछि उनले पछिल्लो दुई वर्षमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको तथ्य खुलेको छ । पछिल्लो समय अवैध कारोवारको जालो मौलाउँदो छ ।

देशमा आर्थिक संकट गहिँरिदै गएका बेला अबैध हुण्डी कारोबारमा संलग्नहरुका लागि भने यो समय मालामाल भएको छ । मंगलबार मात्रै प्रहरीले नेपालमा अवैध क्रिप्टोमार्फत विभिन्न अनलाइन गेम खेलाउने ७ जनालाई सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरु सबै सिराहाका हुन् । उनीहरुले बिटक्वीन, क्यास एपमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्सलगायतका खेल खेलाउँदै आएका थिए । पक्राउ पर्नेमा मिथलेश कुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, रोसन चौधरी जैसवाल, शिवम् कुमार यादव र हरिशंकर चौधरी रहेका छन् । उनीहरुले विदेशी नागरिकको नाममा फेसबुक एकाउन्ट बनाएर गेमहरु खेलाएर क्रिप्टोमार्फत अवैध कारोबार गर्दै आएका थिए । उनीहरुले कति कारोबार गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विभिन्न पुरस्कारका नाममा सजिलै सर्वसाधारण ठग्ने गिरोहहरु निकै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालबाट ठगिएको भन्दै आउने उजुरीका केस्रा केलाउँदा प्रहरी नै चकित पर्ने तथ्य फेला परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकै बैंक खाता ठगी कार्यमा पटक–पटक प्रयोग भएको प्रमाण जुटाएर ठग डम्बर साहलाई पनि पक्राउ गरेको छ । सप्तरीको राजविराजका साहलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको हो । ३४ जनाले आफू ठगिएको उजुरी दिएपछि उनी समातिएका हुन् । दुनिया ठगेर साहले दुई वर्षमै १ अर्ब ४९ करोड रुपैयाँ थुपारेको भेटिएको छ । अनलाइनमार्फत ‘पार्शल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग साहको ‘कनेक्सन’ भेटिएको छ । पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
त्यस्तै उनले विभिन्न तरिकाले अनलाइन ठगी गर्ने गर्थे । आफूलाई इन्जिनियर हुँ भन्दै साहले विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्ने गर्दथे । उनले अमेरिकामा मात्रै चलाउन सकिने क्यास एपसमेत चलाउने गरेका थिए । नेपालमा ईसेवा, खल्तीलगायतका एपजस्तै डिजिटल पेका लागि अमेरिकामा क्यास एप चलनमा छ । उनले ठगी गर्ने तरिका पनि अचम्मकै छ । कारोबारका क्रममा क्रिप्टो अकाउन्टमा पनि पैसा लोड गर्ने गरेका थिए । अनलाइन पैसा चाहिनेलाई स्क्यानरबाट र क्यास माग्नेलाई नगद नै पु¥याउने सुविधा दिएका थिए ।

गत माघ ९ गते मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो सीआईबीले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको थियो । ‘जोन रोबर्ट’ नाम गरेको ढड्डामा मात्रै १ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको देखिएको छ । उक्त ढड्डामा ९ सय ८९ वटा हुण्डी कारोबारको विवरण भेटिएको सीआईबीको भनाइ छ । ‘रेन बेकर’ को नाममा भएको ढड्डामा २७ करोड ५५ लाख ६० हजार रुपैयाँ कारोबारको विवरण भेटिएको छ । यसरी रुपेश श्रेष्ठले कम्तीमा दुई अर्ब २६ करोड रुपैयाँ बढीको अवैध हुण्डी कारोबार गरेको देखिएको थियो । यतिमात्रै होइन यसअघि प्रतिष्ठित कलाकारहरु नै वान एक्स बेट मार्फत अनलाइन बेटिङको प्रचार गराएको आरोपमा केही दिन हिरासतको हावा खान पुगेका थिए ।

प्रहरीको तथ्यांकअनुसार ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै हरेक वर्ष १२ देखि १३ सय उजुरी आउने गरेका छन् । अनलाइनमार्फत हुने यस्ता डिजिटल ठगी र अवैध कारोबार बर्सेनि बढ्दो रुपमा छ । प्रहरीले अनलाइन ठगीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गर्दै आएको छ । यद्यपि, सर्वसाधारण नागरिक भने पैसाको प्रलोभनमा परी गिरोहको सञ्जालमा जोडिन पुग्ने र फस्ने गरेका छन् । यस्ता ठगीबाट बच्न व्यक्ति स्वयम् पनि सजक हुनु पर्ने प्रहरीको सुझाव छ ।